डायरीमा डोरबहादुर
नेपाली ‘मानवशास्त्रका पिता’ भनेर ख्याति
कमाएका प्राध्यापक डोरबहादुर विष्ट ९३ वर्षअगाडि आजकैदिन अर्थात् माघ ४ गते
ललितपुरको काँठ झरुवारासीमा जन्मेका थिए ।‘पिपुल अफ नेपाल’, ‘सबै जातका फूलबारी’, ‘रिपोर्ट फ्रम ल्हासा’, ‘सोताला’, ‘फेटलिज्म एन्ड डेभेलपमेन्ट’ आदि पुस्तकका लेखक
विष्टले जीवनको उत्तरार्द्धमा जुम्लाको चौधबीसामा कर्णाली इन्स्टिच्युट स्थापना
गरेर त्यहाँको विकास कार्यमा योगदान गर्नुका साथै आफ्नो विषयमा स्थलगत तथा
प्रायोगिक अनुसन्धान गर्दै आएका थिए ।
जुम्लाबाट हवाइजहाजमा
नेपालगन्ज आएर कोहलपुरमा बस चढी चिसापानीतर्फ गएका प्रा. विष्ट त्यसपछि कहाँ गए
अहिलेसम्म कसैलाई पत्तो छैन । उनी त्यसरी बेपत्ता भएको अहिले लगभग २५ वर्ष भएको छ । उनले लेखेका पुस्तकहरूमा ‘फेटलिज्म एन्ड डेभेलपमेन्ट’ सर्वाधिक चर्चित र विवादित रह्यो । अंग्रेजीमा लेखिएको त्यस पुस्तकको वसन्त थापाद्वारा नेपाली भाषामा अनुवाद भएको छ र त्यसको विमोचन पनि आजै हुँदै छ ।
लेखक वसन्त थापाको निजी डायरीबाट उद्धृत गरिएको यस लेखोटलाई सान्दर्भिक ठानेर प्रा. विष्टको ९३ औं जन्मदिनको अवसरमा प्रस्तुत गरेका छौं ।
लेखक वसन्त थापाको निजी डायरीबाट उद्धृत गरिएको यस लेखोटलाई सान्दर्भिक ठानेर प्रा. विष्टको ९३ औं जन्मदिनको अवसरमा प्रस्तुत गरेका छौं ।
मैले टुरिस्ट गाइडको
तालिम लिँदा उनी ‘एन्थ्रोपलोजी’ पढाउँथे, नेपालका विभिन्न जातजातिबारे चिनारी गराउँथे । मृदुभाषी, सहज र आफ्नो विषयबारे पूर्ण अधिकार राख्ने उनको
पढाउने शैली र भावभंगिमा विशेष किसिमको थियो । झन् अंग्रेजी उच्चारण त आफ्नै पाराको– नेपालीभाषीले बोलेको जस्तो पनि होइन, अमेरिकीहरूको सोझो नक्कल पनि होइन– दुवैको
अलिअलि मिश्रण थियो क्यार ! त्यसैले उनी ‘आन्थ्रपालोजी’ भन्ने गर्थे । उनको ‘क्लास’ रोचक हुने गर्थ्यो र ज्ञानवर्द्धक । त्यो सन् १९७६ सालको कुरा हो ।
त्यसपछि फेरि उनलाई देखिनँ । एकैचोटि सन् १९९१ मा हो क्यार उनलाई फेरि देखें । अंग्रेजी ‘हिमाल’ पत्रिकाले गोर्खा भर्तीसम्बन्धी एउटा विचार गोष्ठी आयोजना गरेको थियो पाटनको होटल हिमालयमा । म पुग्दा उनी बोल्दै थिए र एकै छिनमा बिसाइ पनि हाले ।
यसबीच मैले उनका पुस्तक, लेख, रचना, अन्तर्वार्ता आदि पढें । उनको पछिल्लो किताब ‘फेटलिज्म एन्ड डेभलपमेन्ट’ ले त निकै चर्चा कमायो । उनलाई भेटेर कुरा गर्ने इच्छा सधैं मेरो मनमा थियो, तर संयोग जुरेको थिएन । त्यो संयोग हिजो जुर्यो ।
हिउँजस्तै सेता फुलेका कपाल ओढेको अनुहारमा समयले वृद्धत्वको नमेटिने र लुकाउन नसकिने छाप पारेछ । डोरबहादुर विष्टको आफ्नै भनाइमा उनको उमेर ६८ वर्ष भयो रे तर आफूलाई बूढो भन्दैनन् र मान्दैनन् पनि । त्यो दुई–अढाई घण्टाको बसाइ र कुरा गराइमा उनको दाबी असत्य ठहरिएन । मैले सन् १९७६ मा देखेको उनको शान्त र सौम्य रूप त्यहाँ थिएन । उनी आक्रामक भई बोल्थे र उनी कुनै युद्धमा होमिएका कटिबद्ध योद्धाझैं देखिन्थे । उनी आफ्ना मान्यता, प्रस्थावना र सिद्धान्तप्रति पूर्ण समर्पित र विश्वस्त लाग्थे । उनी स्वप्नद्रष्टाझैं धाराप्रवाह अभिव्यक्त भइरहन्थे । खास लक्ष्यमा पुग्न हिँडेको मानिसझैं उनी आतुरीमा भएको भान हुन्थ्यो ।
आफूलाई ‘मतुवाली खस’ भन्न मन पराउने डोरबहादुर विष्ट नेपालका राजालाई मगर जातिको सन्तान भन्छन् । नेपालको विकासमा सबैभन्दा ठूलो तगारो बाहुनवाद र त्यसले जन्माएको भाग्यवादी प्रवृत्तिलाई मान्छन् । उनी वस्तुतः यहाँको प्रत्येक समस्याको जड बाहुनवाद हो भन्ने मान्यता राख्छन्— यहाँसम्म कि काठमाडौंको फोहोरमैलाको मुख्य समस्या पनि बाहुनवाद नै हो भनी ठोकुवा गर्छन् । यसो भन्दा उनी मूढाग्रही देखिँदैनन् बरु तर्कसम्मत र ‘राशनाल’ देखिन्छन् । उनका यिनै अशास्त्रीय मान्यता र मथिंगल हुँडल्ने खालका विचारहरूले गर्दा उनी चर्चित हुन पुगेका छन् र उनको आफ्नै शब्दमा ‘मित्रविहीन’ पनि ।
आफ्ना धेरै दौंतरीहरू बूढो भइयो भनेर कुना लागिसकेका छन् भने कतिचाहिँ कति दुःख गर्ने बुढेसकालमा भनेर आरामी जिन्दगी बिताइरहेछन् र एकाथरी भने तास खेलेर समय काटिरहेका छन् । त्यसैले त्यस्ताहरूसित आफू मिल्न नसक्ने कुरा बताउँछन्, ‘उमेरले बूढा र कामले तन्नेरी’ डोरबहादुर । उनलाई आफ्नो समय सीमित छ भन्ने राम्ररी थाहा छ, तर काम भने धेरै–धेरै भ्याउन चाहन्छन् । उनी काम गर्दागर्दै मर्न चाहन्छन्, बूढो भएर होइन । हामीलाई भर्खर सुरु गर्न लागेको उपन्यासका केही पानाहरू देखाउँछन् । आफैंले लेखेको पुस्तकको नेपाली संस्करणको खेस्रा अघिल्तिर सार्छन् र अनेक विषयमा एकसाथ लेखिरहेको बताउँछन् ।
लेखेर उनले जति नाम अथवा दाम कमाए सम्भवतः त्यति नै र त्यसभन्दा बढी शत्रुहरू पनि कमाए होलान् । तर, ती शत्रुहरूको सराप र खोइरो खनाइले उनलाई रत्तिभर विचलित पारेको छैन, बरु उनलाई झनै दृढ र कृतसंकल्पित पारेको छ । उनी यस उमेरमा काठमाडौंका यावत् सुखसुविधालाई पन्छाउँदै नेपालको अत्यन्त पछौटे ठाउँ जुम्लामा केही गरेर त्यहाँका अशिक्षितहरूलाई जम्जमाउने तरखरमा लागेका छन् । ईर्ष्यालाग्दो उत्साह र उमंगसाथ आफूले देखेको सपनालाई वास्तविकतामा अनुवाद गर्ने कार्ययोजनाहरू अल्छी नमानी बयान गर्छन् । राजनीतिदेखि टाढा धर्मदेखि विरत कर्मवादी डोरबहादुर आफू एक्लोले जे–जति दिन सकिन्छ, त्यो नेपाली समाजलाई दिएर जाने संकल्पसाथ कर्मभूमिमा लागिपरेका छन् । यति हुँदाहुँदै पनि उनी नेपालको विकास हुन्छ भन्ने कुरामा पटक्कै विश्वास राख्दैनन् । कारण : बाहुनवाद । नेपालमा बाहुनवादको यस्तै हालीमुहाली रहिरहने हो भने अबको बीस वर्षमा काटमार मच्चिने ठोकुवा गर्न पनि हिच्किचाउँदैनन्, मानौं उनी सर्वद्रष्टा हुन् र नेपालको विकराल भविष्यलाई झल्झली देखिरहेछन् ।
हिजो उनलाई भेटेर अनि उनीसित कुरा गरेर लाग्यो, ‘मिसन’ भएका मानिस वा आदर्श बोक्ने मानिस सके यस्तै हुन्छन् । समयले उनका प्रस्तावनाहरूलाई गलत पनि साबित गरिदेला या उनी जुन ध्येयलाई अघि बढाउन खोजिरहेछन् त्यो भताभुंग पनि होला । तथापि जीवनपर्यन्त उनले बाँच्ने बडो राम्रो कारण पाइरहेछन् । जुन कारणका लागि उनी आफ्नो विद्वता र ज्ञानलाई काठमाडौंको तारे होटलका सभाकक्षहरूमा घन्काएर बसिरहन सक्थे । कूटनीतिक नियोगहरूमा हुने ‘ककटेल पार्टीहरूमा’ साँढे भएर पनि उनी आत्मसन्तुष्टि पाउन सक्थे । तर, यी सबैदेखि टाढा अनकण्टार ठाउँमा नयाँ चुनौतीहरूसित भिड्न उनले कम्मर कसेका छन्, जुन चुनौतीहरू उनका आफ्नै सिर्जना हुन् ।
हिजो डोरबहादुर विष्ट नामको त्यस ६८ वर्षे तरुनो बोलाकी र कर्मठ व्यक्ति देखेर मलाई केही खुसी लाग्यो, केही गर्व लाग्यो, केही प्रेरणाको अनुभूति भयो र केही ईर्ष्या र डाहा पनि लाग्यो । ईर्ष्या यस निम्ति कि उनले बाँच्ने आधार फेला पारेका रहेछन्, जिन्दगीको ‘मकसद’ भेट्टाएका रहेछन्, उनी एउटा मिसनमा भिडेका रहेछन् । खै मेरो के आधार, के मकसद र के मिसन ? ? ?
म उनीसित लामो वार्तालाप गर्न लालायित थिएँ र उनी पनि तत्पर । तर, मेरा मित्र मानधोज मोक्तानजीको छटपटी र समयाभावले त्यो लालसा अपूर्ण रह्यो । केही रिस पनि उठ्यो मोक्तानजीसित । फेरि सम्झें, आखिर उनकै कारणले र उनैले गर्दा त म भेट्न पुगेको थिएँ लेखक, विचारक, समाजशास्त्री, मानवशास्त्री र अरू के–के डोरबहादुरलाई, पुल्चोकस्थित उनको विशाल बगैंचायुक्त निवासस्थलमा !
१३ अगस्ट १९९४
सामाखुसी
प्रकाशित : माघ ४, २०७६ १०:३४