रण–हारको प्रत्यक्ष बयान
पृथ्वीनारायण शाह (वि.सं. १७७९–१८३१, राज्यकाल वि.सं. १७९९–१८३१)ले भक्तपुर जितेको ३
महीना पनि नपुग्दै त्यही साल फाल्गुनकृष्ण एकादशीको दिन उनका दरबारिया कवि
ललितावल्लभले त्यस विजयलाई मूल विषयवस्तु बनाई ‘भक्तविजयकाव्य’ लेखेकाले गोरखालीले
भक्तपुरविजयलाई ठूलो ठानेको देखिन्छ ।
हुन पनि हो, भक्तपुरविजय भएपछि पृथ्वीनारायण शाहको
राज्यविस्तारको तेस्रो लक्ष्य पूरा भएको थियो । त्यो युद्ध प्रत्यक्ष देखेका, भक्तपुरका अन्तिम राजा रणजित् मल्ल (वि.सं.
१७५९–१८२८, राज्यकाल
वि.सं. १७७९–१८२६) का आप्त सेवक गरुडनारायण गोंगलले ‘भक्तविजयकाव्य’ रचिएको २०
वर्षपछि भक्तपुरविजयको विवरण लेख्नु संयोग मात्र होइन जस्तो मलाई लाग्छ ।
गरुडनारायणले लेखेको यो
विवरण सबभन्दा पहिले छत्रबहादुर कायस्थ (वि.सं. १९९९ मा जन्म) बाट वि.सं. २०५५ मा
प्रकाशमा आयो (‘स्व. गरुडनारायण ग्वंगल, जुजु रणजीत मल्लया काशीवास’, ‘ज्वलान्हायकं’, ७ अङ्क, ने.सं. १०९८, ३७–४६ पृ.) । त्यहाँ ‘अनुवादक’ भनी छत्रबहादुरको नाउँ दिइएकोले उनले भाषान्तरबाट नेवारीमा उल्था गरेको देखिन्छ । यसको ५ वर्षपछि देविचन्द्र श्रेष्ठ (वि.सं. १९९५ मा जन्म) बाट गरुडनारायणको त्यही विवरणको विषयमा एउटा लेख प्रकाशमा आयो (‘पृथ्वीनारायण शाहको भक्तपुरमाथि हमला : आँखाले
देखेको बयान’, ‘पृथ्वीजयन्ती–२०६०
स्मारिका’, नेपाल
राजकीय प्रज्ञा–प्रतिष्ठान, काठमाडौँ, १६–२२ पृ.) । त्यस लेखबाट यो विवरण नेपालीमा लेखिएको रहेछ भन्ने स्पष्ट भयो र छत्रबहादुरले नेपालीबाट नेवारीमा उल्था
गरेको ठहरियो ।
नेपाली मसीजीवीहरूमा
आफ्नो विशिष्ट पहिचान बनाएका देविचन्द्रको नवीनतम कृति ‘भक्तपुरमा गोर्खाली हमला—
गरुडनारायण गोंगलको सम्झना’ (जगदम्बा प्रकाशन, ललितपुर, २०७६) १० सेन्टिमीटर चौडा र २५३ सेन्टिमीटर
लम्बा नेपाली कागजमा लेखी बेरेर राखिएको, गरुडनारायण गोंगलको यही विवरणको सम्पादन हो । वि.सं. १८२६ मा भक्तपुरमा हमला भएदेखि वि.सं. १८२८ मा रणजित् मल्ल परलोक भएसम्मको कुरा परेको, गरुडनारायणको
यस कृतिमा प्रसंगवश ने.सं. ९०९ तदनुसार वि.सं. १८४६ को पनि चर्चा आएकोले यो पुस्तक
पछि लेखिएको हो भन्ने देखियो । नेवार राजाका सेवक, नेवार गरुडनारायणले यो विवरण नेवारीमा नलेखी
किन नेपालीमा लेखे भन्ने प्रश्न यहाँनिर उठ्छ । पछि गरुडनारायणको प्रवेश गोरखाली राजाको दरबारमा भएको त मलाई थाहा छैन, उनका छोरा हृदयरत्न भने जङ्गबहादुर (वि.सं.
१८७४–१९३३, शासनकाल
वि.सं. १९०३–१९३३) को पालामा सुब्बा पदमा विराजमान देखिएकाले गरुडनारायण नै
गोरखाली दरबारमा भित्रिइसकेका थिए कि भनी अनुमान गर्न मन लाग्छ ।
भक्तपुरमा युद्ध हुँदा
पृथ्वीनारायणसँगै भाइसमेतका प्रतापसिंह पनि थिए भनी ‘भक्तविजयकाव्य’ मा लेखिएकोले
(५४–५५ श्लोक) बहादुर शाह पनि त्यहाँ पुगेको देखिन्छ । त्यस बेला प्रतापसिंह (वि.सं. १८०६–१८३४) को उमेर २० वर्ष र बहादुर शाह (वि.सं. १८१४–१८५४) को भने १२ वर्ष मात्र थियो । गरुडनारायणले यो विवरण तयार पार्दा गद्दीमा रणबहादुर शाह (वि.सं. १८३२–१८६३, राज्यकाल वि.सं. १८३४–१८५५) भए पनि हालीमुहाली
भने उनका काका बहादुर शाहको भएकोले बालककालमा त्यो युद्ध देखेका बहादुर शाहको लागि
त्यस युद्धको विवरण नेवारीभाषी गरुडनारायणले नेपालीमा तयार गरेको हुनुपर्छ जस्तो
मलाई लाग्छ ।
यस पुस्तिकाका
मुखपृष्ठमा देविचन्द्र श्रेष्ठको नाउँअगाडि ‘सम्पादक’ नभनी ‘ग्रन्थ’ लेखिएकोले
‘सम्पादक’लाई ‘ग्रन्थकार’ भनिने इच्छा भएको, भनिहाल्न भने अप्ठ्यारो परेको जस्तो लाग्छ । ‘प्रकाशकीय’मा भने देविचन्द्रलाई स्पष्टै ‘ग्रन्थकार’ लेखिएको कुरा यहाँनिर भन्नुपर्छ । हाम्रो यतातिर स्वतन्त्र ग्रन्थलाई माथिल्लो ठानी त्यस्तो ग्रन्थलाई ‘मौलिक’ भनेर त्यस्तो पुस्तकको बढी मानमनितो गर्ने र प्राचीन
ग्रन्थको विवेचना गरी त्यो प्रस्तुत गर्ने सम्पादकलाई भने त्यति सम्मान नदिने
परिपाटी बसेको देखिएकोले तथा सम्पादित ग्रन्थलाई पारितोषिकले अलंकृत गर्न पनि
संकोच मानिने हुनाले ‘ग्रन्थ’ शब्दले काम चलाइएको हुनुपर्छ ।
क्राउन अक्टाभो साइजमा
८९ पृष्ठ भएको यस पुस्तिकामा ४ पृष्ठ सम्पादकको ‘प्राक्कथन’ ले (५–८ पृ.) र यसपछिको
१ पृष्ठ ‘प्रकाशकीय’ ले ओगटेको छ (९ पृ.) । त्यसपछिका ४९ पृष्ठमा ‘ऐतिहासिक छलफल’ (११–५९ पृ.) फैलिएको छ । त्यसपछिका १४ पृष्ठमा मूलपाठ (६१–७४ पृ.) अनि १४ पृष्ठ (७५–८८ पृ.)मा मूल पुस्तकको फ्याक्सिमिलि दिइएको छ । सबभन्दा पछिल्लो पृष्ठमा ‘नेपालभाषा प्रभावित शब्दहरूको सूची’ (८९ पृ.) दिई यो पुस्तिका टुङ्ग्याइएको छ ।
‘राणाकालमा नेपाल एकीकरणको इतिहास अध्ययन समेत अगाडि बढ्नै दिइएन । नेपाल बाहिर भने यस प्रकारको अध्ययन रोक्न सकिने अवस्था थिएन । त्यसैले रामनगर (पटना) तथा वनारसमा केही काम भएका छन्’ (५ पृ.) भनी ‘प्राक्कथन’ मा लेखिएकोले कुन कृतितर्फ यो संकेत गरिएको हो भनी खोतल्नुपरेको छ ।
‘राणाकालमा नेपाल एकीकरणको इतिहास अध्ययन समेत अगाडि बढ्नै दिइएन । नेपाल बाहिर भने यस प्रकारको अध्ययन रोक्न सकिने अवस्था थिएन । त्यसैले रामनगर (पटना) तथा वनारसमा केही काम भएका छन्’ (५ पृ.) भनी ‘प्राक्कथन’ मा लेखिएकोले कुन कृतितर्फ यो संकेत गरिएको हो भनी खोतल्नुपरेको छ ।
वि.सं. १९७९ मा प्रकाशित
अम्बिकाप्रसाद उपाध्याय (वि.सं. १९५१ तिर–१९८६ पछि) को ‘नेपालको इतिहास’ को पहिलो
संस्करण त मैले देखेको छैन, वि.सं.
१९८६ मा प्रकाशित दोस्रो संस्करण अर्थात् ‘नेपालको इतिहास र (रामनगरको इतिहास)’ मा
प्रकाशकमा ‘पण्डित देवीप्रसाद उपाध्याय, रामापुरा बनारस’ र ग्रन्थकारको ठेगाना दिँदा
‘रामापुरा, काशी
‘बनारस’ तथा ग्रन्थकार बितिसकेपछि वि.सं. २००४ मा प्रकाशित तेस्रो किंवा अन्तिम
संस्करणमा प्रकाशकमा ‘राजेश्वरीप्रसाद उपाध्याय, सिंहा लाइब्रेरी रोड, पटना’ लेखिएकोले यो संकेत अम्बिकाप्रसादको
इतिहासतर्फ हो जस्तो मलाई लाग्छ । अम्बिकाप्रसादको इतिहासमा पृथ्वीनारायणको विषयमा विशेष कुरा केही छैन, त्यो त्यति लामो पनि छैन । उता, वि.सं. २००४ मा प्रकाशित तोत्रराज पाण्डेय
(वि.सं. १९६७–२०१४) र नयराज पन्त (वि.सं. १९७०–२०५९)को ‘नेपालको संक्षिप्त इतिहास’
मा पृथ्वीनारायणको विषयमा कता हो कता बढी लेखिएको छ । अर्को शब्दमा भन्नुपर्दा, अम्बिकाप्रसादको
इतिहासमा भन्दा ८ गुना बढी त्यहाँ लेखिएको छ र अन्त अन्त अप्रकाशित नयाँ नयाँ कुरा
पनि त्यहाँ निकै छन् । त्यो पुस्तक काशीमा प्रकाशित भए पनि त्यसको रचना राणाशासनमा नेपालमै भएको हो र राणाशासनमै सरकारी विद्यालयमा पाठ्यपुस्तकको रूपमा त्यो पढाइएको पनि हो । यस कारण बाहिर लेखिएको अम्बिकाप्रसादको इतिहास अघि सारी नेपालको
एकीकरणको इतिहासको खोजी राणाशासनले गर्दा नै हुन सकेन भनिहाल्नु त्यति उपयुक्त
हुँदैन कि !
गोरखाले तनहुँ राज्य
जितेपछि तनहुँले राजा आफूले मुगल बादशाहलाई तिरो तिरी हकभोग गर्दै आएको, चम्पारन जिल्लामा पर्ने रामनगरका केही तप्पामा
अधिकार कायम राखी त्यहाँका राजा भई बसे । त्यो राज्य पुस्तानपुस्ता कायम रह्यो । तनहुँको भगौडा राजवंशकै पछि लागी रामनगर पुगेका पौडेलवंशका देवीप्रसाद उपाध्याय रामनगर राज्यका भित्रिया हुन पुगेका थिए । यी कुरा राम्ररी नबुझ्दा ती स्थाननामलाई घोलमेल गरी ‘रामनगर (पटना) तथा वनारस’ भनी ‘प्राक्कथन’ मा लेखिएको देखिन्छ ।
गोरखा राज्य चौबीसीमा
नगनिने हुनाले त्यसलाई देविचन्द्रको भाषामा ‘नेपाल मण्डल’ को अर्थात् मेरो भाषामा
‘नेवारराज्य’ को ‘चोइटो स्वरूप ‘गोर्खा’ (७–८ पृ.) भनी गरिएको उत्प्रेक्षा पचाउन
गाह्रो छ । किनभने, नेवारराज्य परापूर्वकालदेखि पश्चिमतर्फ
नुवाकोटमा सीमित थियो र नुवाकोट नेवारराज्यको पश्चिमी द्वारको रूपमा रहेको हुँदा
नेवार राजाहरू नुवाकोटसम्म राज्य कायम गर्न सकेकोमा गर्व गर्थे । त्यसमाथि, काठमाडौँखाल्डोमा राजधानी भएका ३
नेवारराज्यभन्दा गोरखा राज्य भाषा र संस्कार इत्यादिले गर्दा भिन्न प्रकृतिको थियो
भन्ने कुराको पनि हामीले हेक्का राख्नुपर्छ ।
गरुडनारायणले लखेको
विवरणभन्दा ३ गुनाभन्दा पनि बढी पृष्ठको ‘ऐतिहासिक छलफल’ भएकोले यसलाई ‘उपोद्घात’
शब्दले संज्ञित गर्न सकिन्छ । सम्पादकले मिहिनेत गरी थरीथरीका दृष्टिले यस विवरणको विवेचना गरेकाले धेरै कुरा स्पष्ट भए पनि केही कुरा
अझै अनुसन्धेय छन् । यस विवरण र यसको विषयमा सम्पादकले गरेको विवेचनाको पूरापूर परीक्षा यस पत्रिकामा स्थानाभाव र मेरो समयाभावले गर्दा सम्भव छैन । यसैले, सरसरी हेर्दा मनमा लागेको कुराको चर्चा गरेको
छु ।
‘ललितावल्लभको
काव्यले गोंगलको संस्मरण अध्ययन गर्न खास केही सहयोग पुर्याउँदैन’ (५३ पृ.) भनी
सम्पादकले भने पनि भक्तपुरविजयलाई विषयवस्तु बनाएर लेखिएका २ कृतिको तुलनात्मक
परिशीलन हुनु जरूरी छ । काव्य भएकोले ‘भक्तविजयकाव्य’ मा कल्पनाको उडान हुनु स्वाभाविक भए
पनि भुसबाट कनिका छाने जस्तै गरी त्यसबाट इतिहास निकाल्न सकिन्छ र गरुडनारायणको
विवरणसँग त्यसको तुलना हुन सक्छ । जयप्रकाश मल्ल बित्दा ‘भीत्र्यानि १ सती गयीन्’ (६७ पृ., १०२ पङ्क्ति) भनी लेखिएकोमा ‘भक्तविजयकाव्य’ मा
भने ‘स्त्रीयुगल’ अर्थात् २ स्त्री सती गएको (५८ श्लोक) भनी लेखिएको त्यसको एउटा
दृष्टान्त हो ।
वंशावलीमा आश्विनवदि ११
रोज ५ मा ललितपुरविजय भएको भनी लेखिएको र त्यस मितिको सत्यापन पनि
पञ्चाङ्गगणनाद्वारा भएकोले गरुडनारायणको यस विवरणमा भने ‘उहापछि भाद्र वदि १३ दिन्
पछि पाटन् सहर पनि फुट्यो र श्रीतेज मल्ल राजा पनि भागेर भादगाउ पाउ लाग्नु भयो’
(६२ पृ., २५–२६
पङ्क्ति) भनी गरुडनारायणले लेखेकोमा ललितपुरका राजा तेजनरसिंह मल्लले भक्तपुरमा
शरण पर्न आएको दिन ‘भाद्र वदि १३’ नभई ‘आश्विन वदि १३’ हुनुपर्ने हो भनी सम्पादकले
टिप्पणी गरेका छन् (२१ पृ.) । वंशावलीमा ललितपुरविजयको मिति पूर्णान्तमानअनुसार दिइएको र गरुडनारायणले चाहिँ
नेवारहरूले अमान्तमानअनुसार, मिति दिने हुनाले यो अन्तर देखिएको हो । यस कारण सम्पादकले भने जस्तो यसमा महीना बिरिएको छैन, कालमानपद्धति मात्र फरक परेको हो ।
यस विवरणमा रणजित्का ३
छोरा डाटिह्म जुजु, धन
जुजु, र
मेल् डाटिको चर्चा आएको छ । यी ३ छोरा उनका ७ जना मठ्याहा छोराहरूमध्येका हुन् भन्ने सम्पादकको ठहर्याइ छ । सम्पादकले डाटिह्म जुजुको औपचारिक नाउँ अच्युतसिंह र धन जुजुको चाहिँ धनसिंह हो भनी लेखेका छन् (४५ पृ.) ।
गूठीका कागजातबाट ने.सं.
८६८ मा अच्युतसिंहले तलेजुमा चाँदीको केतकीपत्र चढाएको बुझिन्छ (नेपाल–जर्मन
हस्तलिखितग्रन्थसंरक्षणपरियोजनाको माइक्रोफिल्म के ३८१।१) । त्यस्ता कागजातमा धनसिंहको चर्चा नआए पनि अजितसिंह (के ३८१।१, ३८८।१३, ३८८।१७, ३८०।६८), उपेन्द्रसिंह (के ३८८।१३) र अवधूतसिंह (के ३८१।१)
को चर्चा आएको छ । ने.सं. ८६८ को महाष्टमीको दिन रणजित्, जयलक्ष्मी मैजु र अजितसिंहले तलेजुमा मुकुट
अर्पण गरेको देखिएको छ (के ३८८।१७) । यताबाट अजितसिंह जयलक्ष्मीतर्फका छोरा रहेछन् भन्ने देखिन्छ ।
भक्तपुर जितेपछि
गोरखालीले नेल ठोकी राखेका आफ्ना छोराहरूलाई बन्धनमुक्त गरिदिने आग्रह काशीवास
गर्न जान लाग्दा रणजित्ले गर्दा पृथ्वीनारायणले अस्वीकार गरेको कुरा यस विवरणमा छ । रणजित् बितेको ११ महीनापछि मात्र पृथ्वीनारायणले रणजित्का २ जना छोरा र जुवाइँसँग सलामी कर लिई उनीहरूको अचल सम्पत्ति थामिदिएका थिए
(महेशराज पन्त, ‘पृथ्वीनारायण शाहका, अहिलेसम्म प्रकाशमा नआएका तीनवटा लालमोहर’, ‘पूर्णिमा’ ७७ पूर्णाङ्क, २०४७, १७ पृ.) । वि.सं. १८२६ फागुनमै लेखिसकिएको ‘भक्तविजयकाव्य’मा भने रणजित्लाई काशीवास पठाइसकेपछि पृथ्वीनारायणले चाहिँदो कर दिएर रणजित्का छोरानातिहरूको घरखेत र सम्पत्ति फिर्ता दिएको कुरा छ (१००–१०१ श्लोक) । यताबाट लालमोहर पछि भए पनि रणजित्लाई काशीवास पठाएको लगत्तैजसो उनका सन्तानको घरबार सलामी लिई फिर्ता दिएको देखिएको छ ।
(महेशराज पन्त, ‘पृथ्वीनारायण शाहका, अहिलेसम्म प्रकाशमा नआएका तीनवटा लालमोहर’, ‘पूर्णिमा’ ७७ पूर्णाङ्क, २०४७, १७ पृ.) । वि.सं. १८२६ फागुनमै लेखिसकिएको ‘भक्तविजयकाव्य’मा भने रणजित्लाई काशीवास पठाइसकेपछि पृथ्वीनारायणले चाहिँदो कर दिएर रणजित्का छोरानातिहरूको घरखेत र सम्पत्ति फिर्ता दिएको कुरा छ (१००–१०१ श्लोक) । यताबाट लालमोहर पछि भए पनि रणजित्लाई काशीवास पठाएको लगत्तैजसो उनका सन्तानको घरबार सलामी लिई फिर्ता दिएको देखिएको छ ।
यस विवरणको प्रस्तुतीकरण
सम्पादकले पाठालोचनात्मक रीतिले गर्न खोजेको प्रशंसनीय छ । त्यसमाथि, अक्षर टुट्दा मूलपाठमा काकपद दिई दुइटा
पङ्क्तिको बीचमा थपिएका त्यस्ता अक्षर मूलपाठमा यसै गरी थपिएकोले यो नयाँ प्रयोग
यहाँ गरिएको छ । पहिले लेखिएको अक्षर हटाउनुपर्दा मूलमा यस्तो धर्को हाली हटाएकोमा मूलपाठमा पनि यही हूबहू उतारिनु अर्को नयाँ प्रयोग हो । यसरी मूलको यथारूप प्रस्तुतीकरणमा
जोड दिइँदा दिइँदै पनि मूलमा ठाउँठाउँमा हटाउनुपर्ने अक्षरमा मसी दलेको कुरा भने
यहाँ खुलाइएको छैन ।
कहीँ कहीँ पाठालोचनका
सबै नियमको पालना नभएको पनि देखाउन सकिन्छ । उदाहरणको लागि, मूलमा नष्ट भइसकेका अङ्क वा अक्षर यहाँ
प्रसंगानुरोधले यस्तो कोष्ठभित्र राखिएको छ । तर, मूलमा टुटेको अक्षर पनि यस्तै कोष्ठमा
राखिएकोले फ्याक्सिमिलि नहेरेसम्म कागज नष्ट भई गएको अक्षर हो कि, लेख्नेले नै छुटाएको हो भन्ने स्पष्ट हुँदैन
(उदाहरणको लागि, ६८
पृ., ११६
पङ्क्ति) । मूलमा भएको पाठ यथावद् राखी संशोधित पाठ पनि यही कोष्ठ भित्र
राखिएकोले अझ भ्रम पर्न गएको छ (६६ पृ., ८१ पङ्क्ति) । कुनै अक्षर वा अक्षरका मात्रा हटाउनुपर्दा तेर्सो मसिनो धर्को दिई हटाउने चलन पनि प्राचीन लेखपद्धतिमा छ (महेशराज पन्त, ‘जातरूप’ज्
कमेन्टरि अन् दि अमरकोष’ १ भाग, दिल्ली, मोतीलाल बनारसीदास, सन् २०००) । मूलपाठमा अघिबाट ‘छोड्योछन्’ (९० पङ्क्ति) लेखिएकोमा त्यसमा पछिबाट
एकलख खारिज गर्न त्यसमाथि दुइटा धर्को दिएको नबुझ्दा पाठ दिँदा ‘छोड्योछन्’ (६७
पृ., ९०
पङ्क्ति) नै छापिएको छ ।
मूलको उतार सम्पादकबाट
पङ्क्ति पङ्क्ति छुट्ट्याई राम्रोसँग गरिएको छ तापनि अझै सावधान भई उतार
गर्नुपर्ने देखिन्छ । सबभन्दा पहिलो वाक्यमा ‘गुरवे’ नै ‘गुरूवे’ भई छापिएको छ । ह्रस्व भएकोमा दीर्घ— ‘गरि’को ठाउँमा ‘गरी’, ‘तिन्लाइ’ को ठाउँ ‘तिन्लाई’— हलन्त भएकोमा
अजन्त— ‘इन्लाइ’ को ठाउँमा ‘इनलाइ’, ‘मुल्चोक्’ को ठाउँमा ‘मूल चोक’, ‘पाटन्’को ठाउँमा ‘पाटन’, ‘रात्’ को ठाउँमा ‘रात’— शिरबिन्दु नभएकोमा
शिरबिन्दु— ‘इटाछे’ को ठाउँमा ‘इटाछें’— ‘र’ को ठाउँमा ‘ल’— ‘तरवार’ को ठाउँमा
‘तलवाल’— चन्द्रबिन्दु नभएकोमा चन्द्रबिन्दु— ‘ज्यूदै’को ठाउँमा ‘ज्यूँदै’—
चन्द्रबिन्दु भएकोमा चन्द्रबिन्दु छोडेको— ‘हुँडा’ को ठाउँमा ‘हुडा’— ‘स’को ठाउँमा
‘श’ ‘साहेव’को ठाउँमा ‘शाहेव’— रेफ छुटेकोमा कुनै सूचना नदिई रेफ थपेको —
‘हजूमा’को ठाउँमा ‘हजूर्मा’— हलन्तको ठाउँमा संयुक्ताक्षर— ‘भत्काई’ को ठाउँमा
‘भत्काई’— अनुस्वारमा विपर्यय— ‘भंनुभयो’ को ठाउँमा ‘भनुं भयो’ । यी सब यथारूप नउतारिएकाका केही दृष्टान्त हुन् ।
हामीकहाँ चलेको देवनागरी
लिपिमा केही काल अघिसम्म पनि ‘व’ लेखी त्यसको मुनि थोपा दिए ‘व’ उच्चारण गर्ने र
‘व’ अक्षरमा केही थपथाप नगरे ‘ब’ उच्चारण गर्ने चलन थियो । त्यसैले सावाँ अक्षर चिनाउँदा ‘तलथोप्ली व’ भनी पढाउने चलन थियो । मूलपाठ उतार्दा जहाँ जहाँ तल थोपा छैन, त्यसको उच्चारण ‘ब’ गर्ने र थोपा हुँदा ‘व’ भनी
उतार्ने चलन छ, तर
‘व’बाट उठ्ने संस्कृत शब्द आयो भने त्यस अक्षरमा थोप्ला नभए पनि ‘व’ नै पढ्ने चलन
छ । यहाँ मूलपाठ दिँदा एकनासले ‘व’ लेखिएकोले पाठालोचनको सिद्धान्तबाट यो पाठ पर गएको देखिन्छ ।
प्रूफको अशुद्धि त्यति
नभए पनि ‘ब’ र ‘व’को खयाल नराख्दा विन्दु, दरवार, वनारस, प्रतिविम्व, चौविसी, वहादुर, दोस्रो वाजि, वाधक, विहिबार, वितेपछिको, वयान, वूढा राजा, वागी, वन्दोवस्त, व्रम्हनाल, बज्रखाल, जवावी जस्ता वर्णविन्यास ठाउँठाउँमा
भेट्टिन्छन् । ‘श’ र ‘स’को छ्यानविचार नगर्दा एउटै शब्द कहीँ
‘शूरप्रताप’ र कहीँ ‘सूरप्रताप’ भई छापिएको छ । संस्कृतभाषामा त्यति अधिकार नभएर होला, प्रशय, भश्म, सक्षम, प्रसंगवस, पदच्यूत, पुनर्स्थापित, तत्व, व्यतित, मौन रहनु, सविस्तार उल्लेख, संसामयिक जस्ता वर्णविन्यास पनि यहाँ परेका छन् । भक्तपुरका अन्तिम राजाको नाउँ यहाँ सर्वत्र ‘रणजित’ छापिएकोले ‘लडाइँ जित्ने’ अर्थमा रहेको मूल शब्द ‘रणजित्’को अर्थविपर्यय भई ‘लडाइँमा जितिएको’ अर्थमा परिणत हुन गएको छ ।
प्रकाशित : माघ ४, २०७६ १०:३९