‘पापिनी’ हरूको लगन
रुकुम पश्चिम — तलीगाउँले केटी माग्न माथिगाउँ
उक्लिए । कुरो मिल्यो । १५ दिनको तयारीपछि मंगलबार विवाह भयो । तलबाट जन्ती माथि आए । नाचगान गरे तर बेहुला–बेहुली दुवै केटी थिए ।
मुसीकोट नगरपालिका–७
साँखका स्थानीयको यो शताब्दीयौंको परम्परा हो । हरेक वर्ष माघ १५
मा यस्तो बिहे भएकै हुन्छ । माथिगाउँ र तलीगाउँले दुवै मिलेर परम्परा धान्छन् । बेहुला–बेहुली छनोट हरेक वर्ष नदोहोरिने गरी आलोपालो गरिन्छ । माघ १ देखि १५ सम्म चल्ने परम्परामा ‘कन्या’ हरूको विशेष भूमिका रहन्छ जसलाई ‘पापिनी’ भनिन्छ ।
दुवै गाउँबाट १५–१५ गरी
३० जना पापिनी छानिन्छन् । पापिनीकै अगुवाइमा सिँगो गाउँ जन्ती र लोकन्ती बन्छ ।
तलीगाउँकी १५ वर्षीया
पिंकी मगर यस वर्ष पनि ‘पापिनी अगुवा’ बनिन् । बेहुली माग्नेदेखि सम्पूर्ण जिम्मेवारी पिंकी र उनैका साथी पापिनीहरूले लिए । बेहुली घरतर्फको जिम्मा माथिगाउँकी २० वर्षीया तुलसा घर्तीले लिइन् । उनैले बेहुली अन्माइन् ।
साँखमा बस्ती सुरु
भएदेखिकै परम्परा मानिन्छ यो । यसरी बिहे र नाचगान नगरे गाउँमा महामारी निम्तिने किंवदन्ती छ । पापिनी हुन तीन योग्यता चाहिन्छन्– जनजाति समुदायको, बिहे नगरेको र नाच्न जान्ने । ‘पापी र पापिनी त पाप गर्नेहरू हुनुपर्ने हो, यहाँ फरक छ,’ वडाध्यक्ष हिमबहादुर पाण्डेले भने, ‘गाउँको चालचलन धान्ने कन्याहरू पापिनी हुनुपरेको छ ।’ यी कन्यालाई पापिनी नै किन भनियो, कसैलाई थाहा छैन । ‘पापिनीको अर्थ के हो, हामीलाई पनि थाहा छैन,’ पिंकीले भनिन्, ‘हरेक वर्ष कन्याहरूले पापिनीको काम गर्नुपर्छ ।’
स्थानीय लालबहादुर महत
मेलामा आउनेबाट दण्ड–जरिवाना संकलन गर्नेलाई पापिनी भन्ने गरिएको सुनेको बताउँछन् । पापिनी अगुवाको निर्देशन र पहलमा माघ १ देखि साँख दहको डिलमा थला बस्न सुरु गरिन्छ । हरेक रात तलीगाउँका पापिनी तल्लो र माथिगाउँका पापिनी माथ्लो डिलमा बस्छन् ।प्रकाशित : माघ १८, २०७५ ०७:४७