Thursday, February 14, 2019

शंखमूलको शंख



फोटो गोविन्द थापा

शंखमूलको शंख
शुक्रबार, १६ चैत २०७४, ०८ : ४६शिवहरि घिमिरे
शंखमूलस्थित वाग्मती पुल पार गरेर बायाँ लागेपछि नदी किनारमा शंखको सेतो मूर्ति देखिन्छ । मूर्तिवरिपरि हरियो बगैँचा छ । झन्डै १५ फिट उचाइमा रहेको शंखको आसपासमा अचेल फोटो खिच्ने र रमाइलो गर्नेको भीड लाग्छ।
पछिल्लो समय तयार भएको यो शंख उपत्यकावासीको आकर्षकको केन्द्र बनेको छ । शंख हेर्नकै लागि यहाँ पुग्नेको भीड बढ्दो छ । शंखको नजिकै शव जलाउन बनाइएका घाट छन् । पहिले यहाँ शव जलाइन्थ्यो, अहिले जलाउन पाइँदैन।
सरकारले वाग्मतीको सभ्यता कायम राख्न नदी किनार वरपर बगैँचा बनाउन थालेको छ । वाग्मती नदीको बायाँ भागमा पर्ने यो शंखको १५ सय वर्ष लामो इतिहास छ । शंखलाई यसरी सजाएको भने दुई वर्ष मात्रै भएको छ । योभन्दा पहिले शंखको आकार सानो थियो । वाग्मती नदीको बायाँ छेउ आश्रम बनाएर बस्दै आएका जगत्गुरु श्री बालसन्त मोहनशरण देवाचार्यले २५ लाख लागतमा यसलाई बनाउन लगाएका हुन्।
शंख तयार भएपछि नेपाली मात्रै नभएर विदेशी पनि हेर्न पुग्ने गरेको शंखको हेरचाह गर्दै आएका जितकुमार भट्टराईले जानकारी दिए । उनका अनुसार यसको किंवदन्ती र इतिहास फरक पनि छ । परापूर्व कालमा यही ठाउँमा शंखासुर भन्ने एक राक्षस बस्थे । उनी एक दिन धर्तीमाताको श्रापमा परे । भगवान्ले यहीँबाटै उनलाई उद्धार गरेको किंवदन्ती छ।जितकुमारका अनुसार यो ललितपुरको सबैभन्दा ठूलो घाट पनि हो । यसलाई गंगा, जमुना र सरस्वती तीनवटा खोला मिसिएर बनेको किनार पनि भन्ने गरिन्छ । यहाँ वाग्मती, मनोहरा, विष्णुमती नदी मिसिएको छ।
शंखको नजिकै  विश्वकै सबैभन्दा ठूलो गरुड भएको ढुंगा पनि छ,’ उनले भने, ‘यहीँभित्र रहेको शिव मन्दिर पनि भूकम्पले भत्कायो, यसको संरक्षणमा कसैले चासो दिएको छैन ।’ उनका अनुसार शंख भएको ठाउँमा पहिले ११ वटा रुद्र धारा थिए । उक्त ठाउँमा पानी उम्रिन्थ्यो । अहिले पानी उम्रन बन्द भएको छ । ‘पहिले यही ठाउँमा रुद्रधारा भएकाले पनि शंख यहीँ स्थापना गरियो,’ उनले भने, ‘यो खोलाको आकार पनि शंखको जस्तै छ, अहिले पनि आकार बिगारिएको छैन।’



फोटो गोविन्द थापा

यसको आडैमा रहेको जगतनारायण मन्दिर पनि भूकम्पमा भत्कियो । हालसम्म मन्दिरको मर्मत भएको छैन । यो मन्दिर जगतशमशेर राणाले बनाएको पुजारी डिल्लीराज पण्डितले जानकारी दिए । ‘यसका विषेशता धेरै छन्,’ उनले भने, लुकेका केही धार्मिक महत्व हामी खोज्ने क्रममा छौँ ।’ मन्दिरभित्र शिव र ब्रह्माण्डको शिर पनि राखिएको छ । उनका अनुसार पहिले–पहिले यो ठाउँमा शंखेकीरा पनि धेरै हुन्थे । त्यसैले पनि शंखमूल भनेर नामाकरण गरिएको थियो।
स्थानीय तेजेन्द्र थापाका अनुसार मन्दिरपछाडि रुद्र महादेवको मूर्ति छ । पहिले यो ठाउँमा आश्रम थियो । यसलाई एकादशी रुद्र पनि भनिन्छ । उनका अनुसार रुद्रलाई सृष्टिकर्ता भनिन्छ । योभित्र दक्षिणकाली, बंगलामुखी माई पनि पर्छन् । ‘यो मन्दिरभित्र ११ वटा शक्ति छन्, यस्ताखाले विशेषता भएको ठाउँ विश्वमै छैन,’ उनले भने, ‘यसको महत्व पशुपतिभन्दा पनि बेग्लै छ । यहाँ आएर कुनै वरदान माग्यो भने पूरा हुने किंवदन्ती रहिआएको छ ।’

Societies of Nepal

 Societies of Nepal  Nepali society is incredibly diverse, shaped by over 142 distinct ethnic groups and multiple religious beliefs that oft...