छन् ३९ पोखरी, छैन स्याहार
कुनै बेला पिउन योग्य पानी हुन्थ्यो, अहिले
दुर्गन्धले छेउमा पनि पुग्न सकिँदैन
ललितपुर
— पुल्चोकको सिटुंगा पोखरीमा फोहोर पानी
जमेको छ । पाटनमा
भएका ३९ पोखरीको हालत उस्तै छ । जीवन्त
छैन । पुल्चोकको पोखरी कुनै बेला पुल्चोकवासीका लागि खानेपानीको स्रोत थियो । खानेपानीबाहेक प्रत्येक वर्ष रातो मत्स्येन्द्रनाथ रथ बनाउँदा बेत भिजाउने पोखरी पनि यही हो ।
पुल्चोकका ६१ वर्षीय रूपकुमार शाक्य
सानै छँदा लेले–टीकाभैरव–चापागाउँ
हुँदै कुपन्डोलसम्म बग्ने राजकुलोको
पानी यही पोखरीसम्म आउँथ्यो । खानेपानी
बाहेक नुहाउने, लुगा
धुने लगायत कामका लागि यो पोखरीको पानी लाने गरिन्थ्यो । अहिले
भने यसको पानी प्रयोग गर्नु त टाढाको कुरा, पोखरी
नजिकै जान पनि दुर्गन्धले गाह्रो छ ।
शाक्य भन्छन्, ‘पहिला
पोखरी इनार जस्तो गहिरो थियो । अहिले
पुरिएर सानो भएको छ । पोखरी सुकेपछि नजिकैको ढुंगेधारामा पनि पानी आउन छोड्यो ।’
उनले जनसंख्या चापसँगै पानी सम्बन्धी दीर्घकालीन योजना निर्माण नहुँदा
राजधानीवासी पानीको दुर्दशामा चेपिएको बताए । ‘पानीकै लागि मत्स्येन्द्रनाथको जात्रा गरिने पाटनमा अहिले हाहाकार छ,’
उनले भने,
‘स्थानीय तहमा जनप्रतिनिधि आएपछि राजकुलो नगर ल्याउनेमा आशा थियो ।’
कुमारीपाटीको त: पोखरी कुनै बेला
१७ रोपनी क्षेत्रफलमा फैलिएको थियो । ललितपुर
नगर पञ्चायतले केही भाग
बेच्यो । केही
मिचियो । अहिले एक रोपनी पनि बाँकी छैन । लगनखेलमा ७ वटा पोखरी थिए । अहिले न्हुँ मात्र बाँकी छ । राजदल
गण परिसरको कमल र अशोक स्तूप अगाडिको सप्तपाताल पोखरी पनि अस्तित्व हराउने
क्रममा छन् ।
ललितपुर महानगरपालिकाद्वारा केही दिनअघि जावलाखेलमा ढुंगेधारा तथा आकाशेपानी संकलन र पुनर्भरण
विषयक अन्तक्र्रियामा यूएन हाविट्याडका नेपाल प्रमुख पद्मसुन्दर
जोशीले पोखरी, ढुंगेधारा, राजुकलो संरक्षण गर्न ललितपुर महानगरपालिकाले पानी प्रणाली सम्बन्धी छुट्टै नीति बनाएमा संरक्षणमा टेवा पुग्ने विश्वास
व्यक्त गरे । ‘नीति तर्जुमा गर्दा प्राचीन स्मारक संरक्षण, जलस्रोतलगायत
ऐनलाई पनि आधार मान्न सकिन्छ,’ उनले भने, ‘यी सम्पदालाई राष्ट्रिय सम्पदा भनी महानगरपालिका बोर्डले पास गरेर संरक्षण गर्न सकिन्छ ।’
बर्खामा महानगरमा ढल फुट्ने
समस्या दशकौंदेखि उस्तै छ । पाटनभरिका
ढल पाटन दरबार क्षेत्रमा आउने गर्छन् । प्रत्येक वर्ष दरबार नजिकैको महापाल र गा:बहाल चोकमा जलमग्न हुने गर्छ । जोशी भन्छन्, ‘सहरी
क्षेत्रका राणाकालीन ढल
समायानुकूल फेर्न नसक्दा मात्र ढल सडकमा
बग्ने समस्या भएको होइन । जमिनमा
पानी रिचार्ज नहुँदा जलमग्न भएको हो ।’
उनका अनुसार पुर्खाले बस्तीका सिरान, बीच र पुछारमा पोखरी बनाउनुको कारण नै पानी जमिनमा रिचार्ज
गर्नका लागि हो ।
‘सामान्यतया सिरानमा बनाइएको पोखरी ठूलो आकारको
हुन्छ । जसले
जलाशय भण्डारको भूमिका मात्र नभई वर्षाको
भेलबाट बस्तीलाई जोगाउँछ । राजकुलोको
पानी सञ्चित गर्ने ठाउँ पनि यही हो,’ उनले
भने, ‘यस्तो पोखरी पाटनको लगनखेलस्थित सप्तपाताल पोखरी, काठमाडौंको रानी पोखरी, इखा पोखरी र भक्तपुरमा न: पुखु,
सिद्धिपोखरी र कमल विनायक पोखरी हुन् ।’
जावलाखेल र इयुलाख्या पोखरी पाटन मूलत: वर्षातको पानी संकलन गरेर सिँचाइ गर्न
बनाइएका पोखरी हुन् । उनका
अनुसार बस्ती बीचमा बनाइएका पोखरी सामान्यतया मध्यम आकारका छन् । घरायसी
पानी,
आगलागी निभाउनका लागि उपयोग गरिन्छ । ठूलो
वर्षात्मा जल भण्डारको काम गर्छ । पाटनमा
पिम्बहाल, खपिंछे, पूर्णचण्डी
पोखरी, काठमाडौंमा खेचा,
पाको पोखरी र भक्तपुरमा क्वाथदों, सलां
गणेश र नागपोखरी जलभण्डार गर्ने उद्देश्यले बनाइएका पोखरी हुन् ।
बस्तीका पुछारमा बनाइएका
पोखरी बाढी रोक्न र पहिरोबाट जोगाउन,
हाँस र गाईबस्तु पाल्नेलाई लक्षित गरेर बनाइएका हुन् । फोहोर सफा गर्न पनि यही पोखरीको प्रयोग हुन्छ । च्यासल, गुइता, लुंखुसी, लिंगलगायत पोखरी पुछारमा बनाउनुको कारण यही हो । ललितपुर
महानगरपालिका सामाजिक विकास समिति संयोजक २४ नम्बर वडाध्यक्ष दिनेश कार्कीले पानी प्रणालीसम्बन्धी नीति निर्माण
गरी कार्यान्वयनमा ल्याइने बताए ।
‘यसका
लागि योजनाका साथ अगाडि बढ्छौं,’ उनले
भने । राजकुलो
पहिलो चरणमा भारतीय दूतावासको आर्थिक सहयोगमा चापागाउँसम्म पुनर्निर्माण भइसकेको छ । दोस्रो
चरणमा पाटनसम्म ल्याउने योजना मात्र
अलपत्रमा परेको हो । कुलो
नचलेपछि सहरका मात्र नभई काँठ
क्षेत्रका अधिकांश मल्लकालीन पोखरी,
ढुंगेधारा र इनारहरू सुकिसकेका
छन् । पानी
भएका पोखरीमा पानी फेर्न नपाउँदा दुर्गन्ध बढेको छ ।
राजकुलोमा नल्लुखोलाको पानी पनि मिसिन्छ । नल्लुको
बाँध भत्किएको छ । राजकुलोबाट
लेले खोलाको पानी मात्र चापागाउँसम्म आउने गरेको छ । सुनाकोठी, ढोलाहिटी, खुमल्टार, सातदोबाटो, लगनखेल, जावलाखेल, पुल्चोक र कुपन्डोलसम्मको कुलो भत्केर जाम छ । कतै
मिचिसकेको छ ।
करिब २५ किलोमिटर लम्बाइ भएको कुलोमा ०४७ सम्म १६ जना कुलो हेर्ने कर्मचारी थिए । ठेचो
र चापागाउँ साबिक
गाविसबाट तलब दिई राखेका दुई जना कर्मचारीले साधारण मर्मत मात्र गर्दै आएका छन् । ललितपुर
महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले पोखरी संरक्षण गर्न चालु आर्थिक वर्षमा एक करोड ५८ लाख रुपैयाँ
बजेट विनियोजित गरेको बताए ।
प्रकाशित : कान्तिपुर, फाल्गुन १, २०७५ १०:५६