Saturday, February 09, 2019

यसरी हट्यो कागती गाउँमा बालविवाह


यसरी हट्यो कागती गाउँमा बालविवाह
सन्दर्भ: श्रीपञ्चमी पर्व (जुन दिन नुवाकोट, ओखरपौवाको कागती गाउँमा सामूहिक बालविवाह हुन्थ्यो, अहिले कस्तो छ अवस्थाबारे तत्कालिन गाविस अध्यक्षसँग गरिएको कुराकानी)
काठमाडौँ२०५४ देखि २०५९ सम्म म तत्कालिन नुवाकोट, ओखरपौवा (हाल ककनी गाउँपालिका–१)को गाविस अध्यक्ष थिएँ । मेरो घर ओखरपौवाको कागती गाउँमै हो, जुन बालबिवाहको नामले बदनाम थियो । कतै गएर परिचय दिंदा घर ओखरपौवाको कागती गाउँ भन्दा अरुले सोध्ने गर्थे–‘ए तपाईँ त्यो बालबिवाह हुने गाउँको अध्यक्ष हो ?’ एक त आफ्नै घर समाजमा यस्तो कुरिती देखेर चिन्ता लाग्थो, अर्कोतिर बाहिरका मान्छेले बालविवाह हुने गाउँको अध्यक्ष भन्दा कम्ता पीर पर्दैनन्थ्यो । पीर र चिन्ता लागेर मात्र के गर्नु समस्या हल हुँदैनथ्यो  
राजधानीसँग जोडिएको ठाउँमा बालबिवाह हुनु वास्तवमा लाजकै विषय थियो । अनी, हामीले यसलाई हटाउने अभियान चलाउन थाल्यौं । गाउँको महालक्ष्मी जनजागृति युवा क्लब, स्थानीय भवानी प्रावि (हाल मावि) र गाविसकै पदाधिकारी मिलेर बालविवाह विरुद्ध अभियान चलाउने निर्णय गर्‍यौं । तर यो सोचजस्तो सजिलो कहाँ थियो र ? मिडिया, विभिन्न संघ/संस्थाको मान्छे यहाँ बालबिवाह बारे बुझ्न आउँथे 

उनीहरुलाई देखेपछि स्थानीय कैयौं अभिभावक रिसाउँदै भन्थे– ‘यिनीहरु हाम्रो गाउँको बेइज्जत गर्न आएका हुन् यिनलाई लखेट्नुपर्छ ।’ शिक्षित भएको भए यस्तो समस्या हुँदैनथ्यो । नबुझेपछि यस्तै हो । यतिसम्म की गाउँमा श्रीपञ्चमीको दिन आएका पत्रकारलाई हुलले अभद्र व्यवहार पनि गर्‍यो । क्यामरा फालिदिए । उनीहरुलाई लखेटे । कति पटक यस्तो हुन खोज्दा जोगाएका पनि थियौं । स्थानीयलाई सम्झाएका थियौँ । कुनै बेला झुक्काएर गर्थे । हाम्लाई बदनाम गराउन आउने भनेर उनीहरु बाहिरका मान्छेहरुसँग झोक्किन्थे । तर कुरिती छोड्न सक्दैनथे 

समस्या हट्ला भन्दा झन् बढ्न थाल्यो । बालविवाह विरुद्ध अभियान जसले चाल्थे, उनीहरु विरुद्ध पनि अभिभावक खनिन थाले । चाँहिदो नचाँहिदो आरोप लगाउँथे । मलाई त कतिसम्म आरोप लगाए भने, ‘तैँले बालबिवाहका फोटा बेचेर खाएकोछस् ।’ कसरी गाउँको कलंक हटाउने भनेर लागेको छु तर आरोप हुँदै नभएका सुन्नुपर्छ । जति गर्दा पनि नहुने कहिले काँही आफैलाई पनि दिक्क लाग्थ्यो । शिक्षा र चेतनाको कमी भएपछि केही गरेपनि सुध्रिदैन भन्ने लागिरहन्थ्यो । तर हामीले हरेश खाएनौँ, जति सक्दौ गरिरह्यौं 

हाम्रो गाउँमा बालविवाह कहिले सुरु भयो भन्ने थाह त छैन । म अध्यक्ष हुँदा र छोडिसकेपछि पनि व्यापकै थियो । तर अहिले हाम्रो गाउँमा ठ्याम्मै छैन  कोसेली प्रथा र बालविवाह, जुन एक आपासमा जोडिएका छन्, ४/५ वर्ष जति भो दुवै हटिसकेका छन् । पहिला ‘तिम्रो छोरी र मेरी छोराको विवाह गरिदिने भन्दै बावुआमाले निर्णय गर्थे ।’

प्रत्येक वर्ष रोपार्इँको पहिलो दिन केटाको घरबाट केटीको घरमा कोसेली लैजानै पथ्र्यो । बालविवाह गर्ने तय गरेपछि कोसेली प्रथा अनिवार्य हुन्थ्यो । कोसेली प्रथा भनेको बालविवाहको लागि ‘बैना’ हाले जस्तै हो । कोसेली बोकेको देख्दा ‘फलानाका छोराले फलानीका छोरीलाई कोसेली लिएर आएको छ, हेर–हेर’ भन्थे । ठूलोमा विवाह गरेर भेट गर्न जाँदा आफूखुसी सगुनको रुपमा कोसेली लैजान्छन्, जुन अहिले पनि छ तर बालविवाहलाई बैना गरेपछि कोसेली अनिवार्य हुन्थ्यो । राजीखुसीले त जुनसुकै बेला पनि कोसेली लिएर जाने भए । अब कागती गाउँमा बालविवाह र त्यसैको लागि लैजाने कोसेली प्रथा छैन 

हाम्रो गाउँमा बावुआमाले सानैमा छोरा–छोरीको विवाह गरिदिने चलन अब छैन । तर, आफूखुसी उमेर नपुगी विवाह गर्ने केटाकेटीलाई भने रोक्न सकिएको छैन । यो अहिलेको चिन्ताको विषय हो  यो पनि विस्तारै बुझ्लान् । यसलाई हटाउने पनि मुख्यत: शिक्षा र चेतना नै हुनुपर्छ । अब यो अभियान थाल्नुपर्ने भएको छ । कागति गाउँमा करिब ४ हजार जनसंख्या र साढे छ परिवार छ बलामीको 

पहिला बाल विवाह हुने बेला त बाहिर निस्कन पनि गाह्रो थियो– ‘बालाविवाह गर्ने ठाउँको मान्छे भन्थे ।’ अब कुरा काट्न पनि हट्यो । समाजमा सुधार भएको छ । अरु कुराको विकासमा सफल नभए पनि बाल विवाह हटाउन सफल भईयो । पहिलो वर्षको एक पटक गाउँकै महालक्ष्मी मन्दिरमा धुमधामले बालविवाह हुन्थ्यो । कति जोडी हुन्थे भन्न सँकिदैनथ्यो । अरु दिन बाल विवाह हुदैनथ्यो– सिर्फ एक दिन, त्यो पनि श्रीपञ्चमीमा मात्र । त्यो दिन त यहाँ मन्दिरमा ठूलो मेला हुन्थ्यो । अहिले भने श्रीपञ्चमीमा व्रतबन्ध, बेलाविवाह (इहिपा) वा अरु कार्जे हुन्छ तर बालविवाह हुँदैन । ६/७ वर्षको उमेर देखि १२/१५ उमेरमै बावुआमाले विवाह गरिदिन्थे 

बालविवाह हटेपछि अरु विवाह श्रीपञ्चमीको दिनमै हुन्छ भन्ने छैन । भागी विवाह त जहिले पनि हुने भो । रितीरिवाजका विवाह भने साईत जुराएर गर्छन् । फागुन, वैशाख, मंसिर र माघमा लगन हेरेर गर्ने चलन  । अहिले २०, २२, २५ वर्षको उमेर विवाह हुने गरेको छ । कुनै कुनैले १७, १८ मा पनि गरेका छन् । त्यो भन्दा सानोमा भएको छैन । हामीले त २० वर्ष भन्दा अघि गर्नु हुँदैन न है भन्दै आएका छौँ 

अँ, बालविवाह त्यसै हटेको होईन, यसमा धेरैको योगदान छ । जस्तो तपार्इँहरु (मिडिया)ले प्रचार–प्रसार नगरेको भए यस्त दबाब पनि पर्दैनथ्यो, चेतना फैलिन पनि समय लाग्थ्यो । संघ संस्थाले पनि लागेका हुन् । गाउँ र स्कुलमा जनचेतनामूलक कार्यक्रम भइरहे । विद्यार्थीहरु पनि सचेत भए । अभिभावकहरुले बालविवाहका समस्या बुझ्न थाले । बालबिवाह गरेका पनि सफल भएनन् । कतिपय जोड टुटे । यो सबै अशिक्षा र कुरितीले हो भनेर बुझे । गाउँ शिक्षित भएको भए बालविवाह हटाउने अभियान चाल्नै पर्दैनथ्यो, उहाँहरु आफैले हटाउनुहुन्थ्यो । बालविवाह अन्त्य भएपछि उहाँहरु खुसी हुनुहुन्छ । कसै कसैले मलाई भन्नुहुन्छ, ‘बालविवाह पहिल्यै हटाउनुपथ्र्यो, अझै धैरै ढिला गरिएछ ।’

(कान्तिपुर संवाददाता दिनेश रेग्मीले गरेको कुराकानीमा आधारित )

यो पनि पढ्नुहोस्ः
सोह्र वर्षअघि र पछि प्रकाशित : माघ २६, २०७५ १४:१२

किरातको इतिहास : को हुन् किरात राई ?

  किरातको इतिहास : को हुन् किरात राई ? डा. भक्त राई , लोकपाटी न्यूज ६ माघ २०७६ , सोमबार किरात शब्द अनेक जातिहरूलाई बुझाउने पुञ्ज हो। कि...