Friday, March 13, 2020

तेमालमा ल्होछार उत्सव


तेमालमा ल्होछार उत्सव

·         नमोबुद्ध संवाददाता

तेमाल–“संस्कृति हराए तेमाल जानु ।” यो उक्ति प्रचलित छ तामाङ समुदायमा । काभ्रेको मध्य पूर्वी यो थलो तामाङ आदिवासी संस्कृतिका विविध पाटोको अध्ययन अनुसन्धानस्थल त बनेको छ नै,वर्षेनी हजारौं वाह्य पर्यटकहरु समेत पाईला टेक्न आउँछन् बौद्ध गुरु ह्रेम्पोछे(पद्यसम्भव)को तपोभूमिमा ।
मंगलबार र बुधबार यिनै पाटोको चरितार्थ हुनेगरी तेमाल ०१ आधाबाट(डहुन्हान) मा ल्होछार(नयाँ वर्ष) को माहौलमा उत्सवनै चल्यो ।
चन्द्रपात्रो अनुसार २८५६(मुसा वर्ग) संवत सुरु भएको उपलक्ष्यमा स्थानिय वडा कार्यालयको सहकार्यमा तेमाल फाउण्डेशनले गरेको ‘प्रवचन,छेःवाङ तथा ल्होछार उत्सवमा सयौं स्थानिय झुमेका हुन् ।
लामा गुरु खेन्पो सोनाम ग्युर्मे जव पद्यसम्भवको तपोभूमिप्रति अहोभाग्य प्रकट गर्दै ल्होछार पर्व र आदिवासी जीवनशैलीको सम्बन्धबारे प्रकाश पार्दै गए सबै मन्त्रमुग्ध दखिए ।
खेन्पो तथा कलाकारहरुको टोलीसँगै पुगेकी थिइन् हेटौंडाकी मिना तामाङ । उनले पनि सयौं स्थानियसँगै लाइन लागेर खेन्पोको छेःवाङ लिइन् । खेन्पोबाट दुच्छे(गाईको दुध,बाह्र मसला,नरिवल,चिनीको समिश्रण) सँगै खाप्से(मौलिक परिकार) ग्रहण गरे लगत्तै उनले भनिन् –‘तामाङ सभ्यता केन्द्र तेमालमा आउन पाउँदा निकै खुसी लागिरहेको छ ।’
हातमा सेतो खादा(सुद्धताको प्रतिक) लिएर छेःवाङ ग्रहण गरेका पालिका अध्यक्ष सलाम सिं तामाङ निकै प्रफुल्लित थिए । उनले स्थानिय सरकारले सांस्कृतिक पर्यटनको अवधारणा अघि सारेकोले यसमुताबिकका काम गर्दै जाने वचन दिए । तेमालको दोर्जेडाँडामा संसारकै ठूलो दोर्जे निर्माणका साथै तामाङ संग्रहालयलाई मुर्त रुप दिने उनको प्रतिवद्धता थियो ।
आज विकसित मेसिनहरुले हाम्रो दैनिकी निकै सहज बनाएको छ तर हामीले हिजोको जीवनशैली र परम्परागत ज्ञानलाई भुल्नु भएन,यो हाम्रो पहिचान हो ।’
पालिका अध्यक्ष तामाङले भने–‘हिजोको कृषि प्रणालीमा हलो,परम्परागत प्रविधिमा ढिकी जाँतो,सांस्कृतिक चिनारी डम्फू,हाम्रा पुराना भेषभुषा सबै झल्कीने गरी ति चिजहरुको संकलन र संरक्षणका लागि तामाङ संग्रहालय बनाउँदैछौं,त्यसका लागि ४० लाख बजेट विनियोजन गरी डिपीआर सुरु गरिसकेका छौं ।’
तेमालमा मात्रै पाईने भनिएको बुद्धचित्त मालाको प्रवद्र्धन र बजारिकणको नीति पनि रहेको उनले सुनाए । सामाजिक अभियन्ता इन्द्रबहादुर तामाङले हरेक समुदाय सांस्कृतिक पाटोमा सवल भएमात्र समृद्ध समाज बन्ने तर्क गरे ।
उत्सवको दोस्रो चरणमा स्टेज उक्ले सेलो गायक फूलकुमार बम्जन । ल्होछार तामाङको मौलिक पर्व रहेको उल्लेख गर्दै उनले युवा पुस्ताको ध्यान यसतर्फ जानुपर्ने भन्दै फापरे सेलोको झटारो हाने । स्टेज झर्नै लाग्दा उनलाई साथ दिन कस्सिए स्थानिय बुद्धिमाया तामाङ । यि दुईको फापरे सेलो जुहारीमा स्थानियले खुवै मनोरञ्जन लिए ।
साँझ ढल्किदै जाँदा पहिलो तामाङ र्यापरको परिचय बनाएका उत्तर लामा ‘संगुल’ ‘तेमाल तेमाल…..’ भन्दै स्टेज उक्ले,छिमेकी नमोबुद्ध नगरपालिका र पाँचखाल फेदीदेखी भेला भएका उनको फ्यानहरुको हुटिङ उस्तै थियो । र्याप शैलीका गीत भएपनि उनले डेढ दशक अघि यहि गीतमार्फत तेमालको सौन्दर्य सन्देश थप फिजाएका थिए ।
उत्सवमा चर्चित कलाकार निर्मला घिसिङ,विश्व दोङको प्रस्तुतीले स्टेज झनै तताए । स्थानिय कलाकारको रुपमा विहिन दोङ,कर्म लामा,विक्की दोङ,जेवि लामाले पनि दर्शक नचाए ।
तामाङ चलचित्र जगतमा महानायकको उपमा बनाएका अमिर दोङ,नायिका सुस्मा मोक्तान र मोनिका लामाको आकर्षक सेलो नृत्यले उत्सवमा थप उर्जा प्रवाह गर्यो ।
हामी जनप्रतिनिधिमा निर्वाचित भएपश्चात २ वर्ष भौतिक निर्माणमा लाग्यौं तर संस्कृतिसँग भावनात्मक पाटो बलियो हुदोरहेछ,यो उसको पहिचानसँग जोडिदोरहेछ,अब हाम्रो ध्यान यसतर्फ गएको छ ।’ कार्यक्रमको समापन गर्दै वडाध्यक्ष मानवहादुर श्रेष्ठले भने ।
स्थानिय तामाङ संस्कृति प्रवद्र्धनका लागि उत्सव आयोजना गरिएको तेमाल फाउण्डशेनका अध्यक्ष जगत तामाङले बताए । ल्होछार परम्परालाई स्थापित गर्न यसखाले कार्यक्रम आवश्यक रहेको फाउण्डशेनका उपाध्यक्ष सानुमान तामाङको भनाई छ ।
उत्सवमा पालिकाका प्रवक्ता ज्ञानबहादुर तामाङ,युवा नेता जेनिश लामा,हिरामान लामा,सामाजिक अभियन्ता तिर्थमान वल,दिनेश लो,मिलन लामा लगायतका अतिथिहरुको उपस्थिति थियो । मंगलबार साँझ भने स्थानियले ल्होफाङबा,दज्र्यु फरफराउनुका साथै दिपावली गरेका थिए ।
संवाददाता : नमोबुद्ध संवाददाता
४ फाल्गुन २०७६, आईतवार १६:३० मा प्रकाशित




किरातको इतिहास : को हुन् किरात राई ?

  किरातको इतिहास : को हुन् किरात राई ? डा. भक्त राई , लोकपाटी न्यूज ६ माघ २०७६ , सोमबार किरात शब्द अनेक जातिहरूलाई बुझाउने पुञ्ज हो। कि...