बदलिन बाँकी समाज
पुरुष नेताले संवैधानिक प्रक्रिया पूरा गर्न
महिलाको नाम प्रस्ताव गर्छन् । तर महिला नेतृत्वमा स्थापित भएको हेर्न चाहँदैनन् ।
मधेसमा एउटा भनाइ छ, ‘बेटी माटीय तर कि
स्वामीय तर’ अर्थात् छोरीको मुक्तिको माध्यम माटोमुनि वा श्रीमानको अधीनमा मात्र
हुन्छ । यो भनाइलाई चुनौती दिने र परिवर्तन गर्ने हिम्मत महिला अधिकारको आन्दोलनले अहिलेसम्म गर्न सकेको छैन । मधेशमा मात्र होइन, यो भनाइ हिमाल र पहाडका महिलाका हकमा पनि सान्दर्भिक हुन्छ ।
महिलाले जिन्स पाइन्ट
लगाउन हुँदैन, मोटरसाइकल
चढ्दा दुईपट्टि खुट्टा राख्नु हुँदैन जस्ता सोच पुरुषमा हुँदोरहेछ । दाइजो, यौनहिंसा र बालविवाहका मुद्दा सर्वत्र
भेटिन्छन् । त्यस्तै मुस्लिम समुदायमा महिलाको मुहार र शरीर हेर्दा अरूलाई यौन भावना जागृत हुन्छ भनेर
बुर्का लगाउने चलन अझै छ । नाटक वा फिल्ममा महिलाले अभिनय गर्नु हुँदैन भन्ने मान्यता पनि समाजमा कायम छ ।
महिलामाथि हुने
अन्यायलाई हटाई महिलामैत्री समाजको परिकल्पना हामीले कहिले गर्ने ? हामी चाहन्छौं, पुरुष र महिला सामान हुन् । हामीले राणाशासन हटायौं, तर त्यसबेलाका परम्परागत सोच, व्यवहार, प्रचलन र प्रवृत्ति हटाउन सकेनौं । हामीले राजा पनि हटायौं, तर प्रधानमन्त्री, मुख्यमन्त्री र स्थानीय तह प्रमुखलाई नयाँ राजा
बनायौं । समय अनुकूल रक्सीको बोतल फरक पर्यो, तर स्वाद उस्तै रह्यो ।
नेपालमा लगभग ५१ प्रतिशत
जनसंख्या महिलाको छ, तर ती
अझै भेदभाव र उत्पीडनमा छन् । संविधानमा महिला र पुरुष दुवैलाई बराबरी अधिकार दिइयो, तैपनि व्यवहारमा महिला, दार्शनिक फ्रेडरिक नित्सेले भनेझैं ‘महिला
पुरुषको लागि र पुरुष युद्ध (राजनीति) का लागि’ भएको छ । हालसालै उपसभामुख शिवमाया तुम्बाहाङ्फेलाई सभामुखमा नियुक्त गरिएन । पीएचडीसम्मको उच्चशिक्षा प्राप्त गरेकी जनजाति पृष्ठभूमिकी महिला सभामुख बन्न योग्य थिइन् । स्थानीय तहको उपप्रमुखमा महिला छुट्याइएको छ । निर्णय पुरुष प्रमुखकै हुने हो । यहाँ पनि नेत्सेको भनाइ सान्दर्भिक छ । आखिर राजनीति पुरुषले नै त गर्ने हो ।
पुरुष नेताले संवैधानिक
प्रक्रिया पूरा गर्न महिलाको नाम प्रस्ताव गर्छन् । तर महिला नेतृत्वमा स्थापित भएको हेर्न चाहँदैनन् । आफूले उपभोग गरेको भाग खोसिने डरले पुरुष नेतृत्व त्रसित छ । महिलालाई कार्यकर्ता वा अनुयायीबाट माथि नेतृत्वमा आएको हेर्न सक्दैनन् । मानव सूचकांक र विकासका दृष्टिकोणमा हिमाल र पहाडभन्दा मधेश तल छ । मधेशमा महिलाको स्थिति मजबुत बनाउन राजनीतिमा महिला नेतृत्वको विकास आवश्यक छ । नेतृत्व त्यहाँ चाहिन्छ, जहाँ उत्पीडन हुन्छ । मधेशको हकमा भित्रभित्रै महिला उत्पीडन भयंकर छ । संविधानले जति नै अधिकार दिए पनि व्यवहारमा लागू भएको छैन ।
संघीय लोकतान्त्रिक
गणतन्त्र प्राप्तिका लागि धेरै आन्दोलन गरियो । समाजमा महिलाप्रतिको रुढिवादी मान्यता र दृष्टिकोण हटाउन योभन्दा पनि ठूलो आन्दोलन आवश्यक छ । प्रजातान्त्रिक
आन्दोलन शासन व्यवस्थाको विरुद्धमा थियो । रुढिवादी मान्यता जनजनमा छ । प्रायः पुरुष र महिला दुवैमा गडेर बसेको छ । यस्ता रुढिवादी मान्यता हटाउन नेतालाई फलामको च्युरा चपाउनु सरह हुनेछ । त्यसैले प्रत्येक घरमा नेतृत्व जन्माउनुपर्छ ।
यसका लागि महिलामैत्री
पढाइ र सिकाइ आवश्यक छ । सक्षम र सबल नेतृत्व विकास यसैमा निर्भर हुन्छ । महिलालाई आर्थिक रूपमा आत्मनिर्भर हुने वातावरण सिर्जना समाजमा गरिनुपर्छ । यसका लागि सामाजिक र राजनीतिक क्षेत्रका महिला अगुवाहरूले राजधानी केन्द्रित गतिविधिलाई गाउँ–गाउँमा पुर्याउनुपर्छ । महिला सम्बन्धी काम गर्ने सरोकारवाला सबै निकायले यसमा ध्यान दिनुपर्छ । समान र स्वतन्त्र स्थितिको स्थापना गर्नु नै अहिलेको समयको माग हो । यसका लागि जनस्तरबाट दबाब सिर्जना गर्नुपर्छ । अन्धविश्वास र रुढिवाढी प्रचलनको अन्त्य आवश्यक छ ।प्रकाशित : चैत्र १, २०७६ ०८:५२