हलो जोतेर आमाले सुरु गरेको क्रान्ति
समाज
जन्मिएको कालखण्ड, परिस्थिति, पारिवारिक चेतनास्तरमा लैंगिक विभेद
भरपर्दो रहेछ । जस्तोः कि म युद्धको प्रत्यक्ष मारमा परिरहेको मगर समुदायमा जन्मिएँ । त्यतिवेला नै रोल्पाका महिला कोही बन्दुक बोकेर युद्धमा थिए त कोही काँधमा हलो बोकेर लेकबेसीमा । मलाई समयले त्यो समाजमा पुर्याइदियो, जहाँ लैंगिक भेदभाव हराइसकेको थियो । त्यहाँ महिनावारी हुँदा कसैले छाउगोठमा बस्नु परेन । छुनु नछुनुको अर्थ थाहा भएन ।
जनयुद्धको वेला
रोल्पाको जेल्वाङ गाउँमा, अशक्त केटाकेटी र महिला मात्रै घरमा
बस्ने अवस्था आयो । युद्धको त्रास र जीवनको मोहले गाउँ ०५० देखि ६० को दशकसम्म सुनसान नै रह्यो । सायद यो समस्या देशकै थियो । तर, मैले देखेको ठाउँ
मेरै गाउँ मात्रै त थियो– जसलाई मैले नजिकबाट भोगेको थिएँ । अन्य जातिको तुलनामा जनजातिमा महिलाको स्तरमाथि भए पनि महिला–पुरुषको काम र कर्तव्य छुट्याइएको हुन्थ्यो । त्यसलाई भत्काउने काम जनयुद्धले गर्यो । सायद तत्कालीन समयमा जनयुद्ध नभएको भए आज पनि त्यहाँका महिलामा लंैगिक समानताको चेत आउने थिएन । बल्ल आएर उनीहरू समानताका लागि आवाज उठाउनुपर्ने हुन्थ्यो या कहिल्यै लैंगिक समानताबारे जानकारी नै नपाउने पो थिए कि ! या थाहा पाइसकेर पनि व्यवहारमा लागू गर्न वर्षौं कुर्नु पो पथ्र्यो
कि !
त्यो समयमा बा, दाजु, काकाहरू र युवती कोही गाउँमा हुँदैनथे । त्यो परिस्थितिमा आबै (आमा)हरूले दोहोरो जिम्मेवारी निभाए, बाहरूले गर्ने काम आमाहरूले नै गरे । घरको मेलापातदेखि पूजापाठसम्म आमाहरू नै लागेको देखेँ । बन्चरो लिएर पिठ्युँमा सलले बच्चा बोकेर आबैहरू दाउरा चिर्थे । ग्वाला जाँदा दिउँसोभरि धागो (अल्लोरपुवा) काट्थे । साँझ फर्किँदा निगालो बोकेर ल्याउँथे । कसैले आफैँ डोको बुन्थे, कसैले हिँडडुल गर्न
नसक्ने बूढापाकालाई अधियाँ दिन्थे । आबै काँधमा सानो भाइ र हामीलाई डोहो¥याउँदै बारी
जोत्थिन् ।
आबै मात्रै होइन, त्यो समय गाउँका सबै महिला त्यसरी नै बारी जोत्थे र अन्न उब्जाउँथे । सिजनअनुसार लेकमा आलु र गाउँका गैरा बारीमा मकै, गहुँ र जौको उब्जनी हुन्थ्यो । हिउँदमा छानामा परेको प्वालबाट जुन चिहाउँथ्यो, वर्षातमा पानी खस्थ्यो । आबैहरू घरको धुरी चढेर आफैँ छानो टाल्थे । पित्तृपूजा पाठ गर्थे । बारीमा, वनपाखामा जाँदा
सजिलोका लागि बा’हरूले लगाउने पोसाक लगाएर जान्थे । आबैले नाना र मलाई पनि उहाँले गरेजस्तै काम गर्न सिकाउनुहुन्थ्यो । कहिलेकाहीँ बारीमा पुग्दा आबै थकान लिइरहेका वेला नारिएका हल गोरु धपाउँदै जोत्न तम्सन्थ्यौँ ।
यो सब रमाइलो
लाग्थ्यो । सामान्य लाग्थ्यो, आमाहरूले जे गरे हामी पनि त्यही अनुसरण गथ्र्यौं । तर, रोल्पाली आबैहरूले
गरेको त्यो सबै काम असामान्य रहेछ । यो कुरा ०६० को सुरुआती दशकमा दाङ झरेपछि मात्रै थाहा पाएँ । समाजमा महिलालाई धुरी चढ्न र जोत्न बन्देज पो रहेछ । नेपाली समाजमा एउटा मान्यता कायम रहेछ, ‘महिलाले हलो छुनु हुँदैन । घरको धुरी चढ्नु हुँदैन । केटाको लुगा लगाउनु हुँदैन ।’ देशमा अर्कै क्रान्ति चलिरहेको थियो । तर, बाध्यताले नै किन
नहोस्, त्यही समयमा रोल्पाली महिलाले भने लैंगिक क्रान्ति सुरु गरिसकेका
थिए ।
गाउँमा काम गर्न
सक्ने युवा जनशक्ति र पुरुष कोही छापामार थिए, कोही कालापत्थर र
कोही खाडीमुलुक । सधैँ ‘पुरुषले मात्रै’ गर्दै आएको काममा ‘हात नपरे’पछि त्यो बिस्तारै जीर्ण हुँदै गएको थियो । छानोमा बिछ्याइएका काठका फलेक वेलावेला पल्टाउनुपथ्र्यो ताकि पानीले
नकुहियोस् । तर, महिला घरको छानो
चढ्नु हुँदैन भन्ने मान्यताकै कारण कोही महिला त्यतिन्जेलसम्म धुरी चढेका थिएनन् । हलो जोत्नु हुँदैन भन्ने मान्यताका कारण गाउँमा भोकमरी फैलिँदै थियो । घरका छानोबाट घामपानी छिर्न लागेको थियो । आखिर कति दिन बस्न सकिन्थ्यो, पुरुष–महिलाको काम छुट्याएर ? भोक र दबाबका अघि
सबै गौण हुँदा रहेछन् । न परम्परा न मान्यता न अन्धविश्वास न डर हुँदो रहेछ । रोल्पाली आबैहरूलाई त्यही दबाब, त्यही बाध्यताले क्रान्तिकारी हुन सिकायो । जेसुकै गर्न परोस्, आममान्छे सधैँ जीवन बाँच्न चाहन्छ ।
‘महिलाले हलो छुनु
हुँदैन । घरको धुरी चढ्नु हुँदैन’ भन्ने मान्यता थियो, तर रोल्पाली महिलाले हलो जोतेर लैंगिक क्रान्ति सुरु गरिसकेका थिए
।
आममान्छेको सोच
बदल्न पनि गाह्रो हुन्छ । उनीहरूको मनोविज्ञान सामाजिक व्यवस्थाले अन्धो बनाइसकेको हुन्छ । वर्षौंदेखिको सामाजिक, धार्मिक मूल्य र मान्यता भत्काउन कहाँ सजिलो हुन्छ र ? तर, जब ऐँठन पर्छ ती सबै भत्किन समय
नलाग्दो रहेछ । तत्कालीन १० वर्षे जनयुद्धले रोल्पाली महिलालाई बाध्यताको तक्मा भिराएर ऐँठन पारेको थियो ।आबैहरूले करिब दुई दशकअघि गरेको त्यो लैंगिक क्रान्ति चेतनाले गर्नुभएको थिएन, जरुरतले गर्नुभएको थियो । हरेक क्रान्ति र आन्दोलन कहाँ रहरले गर्न सकिन्छ र ? जहाँ दबाब पर्छ त्यहीँ त विष्फोट हुने हो ।
लैंगिक विभेद
जनजाति समुदायमा कम छ । हाम्रो मगर समुदायमा पनि लैंगिक समानता मात्रै होइन, महिलाको स्तर माथिल्लो हुन्छ । महिला नै घरको मूली हुने चलन छ । समानताको मुख्य कडी भनेको महिलालाई निर्णायक र आर्थिक रूपमा सबल बनाए मात्रै पनि हुँदो रहेछ । आदिमकालदेखि नै जब लुगाको चलन थिएन, जब औद्योगिक लत्ताकपडामा आममानवको पहुँच थिएन, रोल्पाली महिला अल्लो धागो बुनेर लत्ताकपडाको रूपमा प्रयोग गर्दै
आएका छन् । त्यसैबाट महिलाले पेवा (कुनै महिलाले आफैँ कमाएर जोडेको निजी सम्पत्ति) पनि बनाउँछन् । यसले उनीहरूलाई आर्थिक रूपमा सबल मात्रै बनाएको छैन, सामाजिक र शिल्पमा पनि अब्बल बनाउँदै आएको छ ।
सायद यिनै कारणले
पनि होला, मेरो मानसिकतामा महिला भएर जन्मिनु
गल्ती हो भन्ने कहिल्यै लागेन । महिला–पुरुषबीच फरक हुन्छ भन्ने पनि धेरैपछि मात्रै थाहा पाएँ । महिला–पुरुषको विभेदको खाल्डो पनि सहर पसेपछि मात्रै देखेकी हुँ । धनाढ्य र शिक्षितको जीवन नजिकबाट बुझेपछि झन् बढी थाहा पाएँ । किनकि यो समस्या उनीहरूमा झन् हुँदो रहेछ, भलै उनीहरूले बाहिर आदर्शका कुरा छाँटून् ।
पुगेका प्रायः
ठाउँका निरक्षर, निम्न, उच्च वर्गदेखि शिक्षित वर्गसम्म भेट्छु । जुनसुकै वर्गमा पनि विभेदको जाल रहेछ । अचम्म लाग्नेचाहिँ आफूमाथिको विभेद महिलाले जानीजानी स्विकारेका पनि रहेछन् । तर, जुन घरमा महिला आर्थिक रूपमा सबल हुन्छन्, त्यस घरमा भने केही खुकुलो अवस्था हुँदो रहेछ । आजभोलि बल्ल यतातिर (दाङमा) कतै थारू महिलाले आकलझुकल हलो जोतेको देख्छु । अझै पनि गैर–जनजाति महिलाले हलो छोएको देखेकी छैन । डरलाग्दो गरी महिला विभेद पनि गैरजनजाति समाजमा नै बढी देखेकी छु । चाहे त्यो पूर्व होस् या पश्चिम ।
देशमा युद्ध
समाप्तिपछि युद्धमा लागेका युवा फर्किए र बिदेसिए । गाउँबाट परिवार र सन्तान उच्च शिक्षा र सुविधाको नाममा बजारतिर लागे । किनभने देशमा गणतन्त्र ल्याएका गाउँलेले आफ्नै गाउँमा राम्रो स्कुल र उच्च शिक्षा ल्याउन सकेनन् । सँगै बजारिया भयो आदिवासी मगर महिला अस्तित्व पनि । पुँजीवाद सहरमा गाउँबाट झरेका आदिवासी महिलाको अस्तित्व पनि आधुनिकीकरण भइसकेको छ । बजार झरेका अधिकांश महिला अब छोराछोरीलाई महँगो निजी स्कुल पठाएर सिउँदोभरि सिन्दुर लगाएर सहरको साँघुरो कोठामा बसेर लोग्नेसँग भिडियो च्याट गरेर
समय कटाउँछन् । लोग्नेको नाममा तिज र व्रत बस्ने गर्छन् । हिजो आफ्नै पनि आर्थिक सबलतामा घर चलाउन सक्षम आदिवासी महिला आज रेमिट्यान्सको प्रतीक्षा गरिबस्छन् ।
सामाजिक
स्वतन्त्रता हुँदाहुँदै पनि आदिवासी जनजाति महिला उल्लेखनीय रूपमा राज्यका
सहभागीमूलक नेतृत्वदायी पहुँचमा पुग्न सकेका छैनन् । जनजाति महिलामा शिक्षाको ग्राफ उक्लिँदै गर्दा चेतनाको ग्राफ सोही अनुपातमा वृद्धि हुन सकेको छैन । समानताको स्वर चर्को हुँदै गर्दा आदिवासी नारी अस्तित्व भने खतरामा पर्दै गइराखेको छ ।