हरायो मौलिकता, छैनन् बर्सादी
नेपालगन्जमा कुनै बेला बर्सादीको बेग्लै महत्व
थियो, आधुनिक
सहरभित्र आज यो गुमनाम छ । मुगल शैलीका घर पनि यहाँ हराइसके ।
(बाँके) — कुनै समय नेपालगन्जवासीलाई छाताको
आवश्यकतै पर्दैनथ्यो । चाहे त्यो मुसलधारे झरीको बेला होस् या टन्टलापुर घाम लाग्दा । उनीहरू घर–घरमै बनेका बर्सादीले छाताको
आवश्यकता पूरा गर्थे । गगनगन्जका ६० वर्षीय राजेन्द्र शर्मा सानैमा स्कुल जाँदा
बर्सादीमै ओत लाग्दै घर आउने गरेको सम्झन्छन् । उनले भने, ‘अचेल सामान्य बिसौनीसमेत पाउन मुस्किल छ ।’
साहित्यकार एवं
पूर्वप्राज्ञ सनत रेग्मी उतिबेला बडाहाकिम प्रकाशशमशेर राणाले बर्सादीसहितको घरको
डिजाइन बनाउन लगाएको सम्झन्छन् । प्रकाशशमशेर लखनउ घुम्न गएका बेला यस्ता डिजाइनका घर देखे । पानीमा ओत लाग्ने र टाढाबाट आउने व्यापारीलाई आश्रयसमेत हुने देखेर उनले नेपालगन्जमा यस्तै शैलीका घर बनाउन आदेश दिएको रेग्मीले सुनाए । ‘बर्सादीभित्र पसल हुन्थ्यो,’ उनले भने, ‘पहाडदेखि आउने हटारू हप्तौं त्यहीँ बसेर
व्यापार गर्थे ।’
अचेल नेपालगन्ज आधुनिक
सभ्यतातिर लम्किएको छ । कच्ची सडक पिच भए । झुप्रा घर बिल्डिङमा परिणत भए तर बर्सादीको मौलिकता आधुनिक सहरभित्र गुमनाम छ । पुराना संरचनामा बनेका मुगल शैलीका घरसमेत हराउन थालेका छन् । संस्कृतविद् सच्चिदानन्द चौवेका विचारमा
सहरको सभ्यता त्यहाँ बनेका प्राचीन भवनका शैलीले झल्काउँछ । मौलिकतालाई मासेर भन्दा पनि जोगाएर आधुनिक सहर बनाउनुपर्ने हो । जब सडक निर्माण गर्ने धुनमा नेपालगन्जको प्राचीन व्यापारिक बजार सदरलाइनका बर्सादी घर भताभुंग भए, त्यसपछि
उनी मौन छन् । भारतको लखनउदेखि मुस्लिम मिस्त्री बोलाएर घर बनाउन लगाइन्थ्यो । त्यतिबेलाको मुगल शैलीका आकृति ऐतिहासिक थिए । यद्यपि, आधुनिक सहरभित्र केही प्राचीन भवन भने अझै
बाँकी छन् ।
त्रिभुवन चोकस्थित पुरानो घर, जहाँ मुगल कलामा सन्
१९५० लेखिएको छ । तस्बिर : मधु/कान्तिपुर
नेपालगन्जको अत्याधुनिक बजार त्रिभुवन
चोकदेखि अलिकति भित्र जाने हो भने त्यहाँ तीनवटा प्राचीन घर छन् । घरका भित्ता मुगल शैलीका बुट्टाले सजिएका छन् । सन् १९५० मा बनेको यो पुरानो भवनले नेपालगन्जको प्राचीन अवशेष बाँकी रहेको महसुस गराउँछ । यस घरमा वृजराज गुप्ताको चार पुस्ता समेटिएको छ । ५२ वर्षे गुप्ताका अनुसार उनका जिजुबुबाले यही भवनमा कपडा पसल गर्थेर् । रुकुम, सल्यान, रोल्पा, दाङ, धनगढी, हुम्ला, जुम्ला, दैलेखदेखि खाद्यान्न
लिएर बेच्न आउने हटारु यही बर्सादीमा बस्थे । हप्तौंसम्म बसेर पहाडबाट ल्याएको घिउ,
मह,
जडीबुटी साटेर कपडा र नुन लिएर जान्थे । चार पुस्ता पुरानो घर जोगाउन उनलाई अहिले हम्मेहम्मे भएको छ ।
बाँके सन् १८५७ मा भारतको लखनउमा भएको
सैनिक विद्रोह दबाउन श्री ३ महाराज जंगबहादुर राणाले ब्रिटिसलाई सहयोग गरेपछि
पाएको कोसेली स्वरूपको नयाँ मुलुक हो । नेपालको हुनुअघि यो ठाउँ भारतको उत्तर प्रदेशको तुलसीपुर र बलरामपुरअन्तर्गत
थियो । अंग्रेजहरूको समयमा तुलसीपुर राज्य थियो । पछि रामपुर राज्य बन्यो । अड्डा कारिन्दा यहाँ आएर बस्थे । अहिले त्रिभुवन चोक जहाँ छ, त्यहाँ
तुलसीपुर स्टेटको ‘कोतवाली’ थियो । गोलो परिधिमा जम्मा ६ वटा भवन थिए । साना दुई भवनमा पुलिस बस्थे । बजार थिएन । चौवेका अनुसार उतिबेला घर डिजाइनमा बर्सादी अनिवार्य थियो । अगाडिको भागमा पानी ओत लाग्ने बर्सादी बनाएर पछाडि घर निर्माण गरिन्थ्यो ।
विसं २००० तिर यहाँ तीन सयजति घर थियो । व्यापारका दृष्टिले
त्रिभुवन चोकमात्रै थियो । अन्य ठाउँ पोखरी र तलाउले भरिएका थिए । मारवाडी समुदाय व्यापार गर्न आएपछि यहाँको बस्ती बढ्न थालेको संस्कृतिविद् चौवेले बताए ।
भारतले
बाँके जिल्ला नेपाललाई फिर्ता गरिदिएपछि नेपालगन्जको मुख्य बजार नै त्रिभुवन चोक बन्यो । विसं १९९० मा यस चोकको नाम जुद्धशमशेर राखियो । जुद्धशमशेरकै अष्टधातुको सालिक निर्माण गरियो । २००७ को क्रान्तिताका आन्दोलनकारीले सालिक तोडफोड गरे । ‘जुद्धशमशेरको सालिक भाँचिएर श्रीपेच भुइँमा खसेको थियो,’ संस्कृतिविद् चौवेले भने, ‘झन्डै सय तोला सुनजडित
श्रीपेच केही दिन त्यहीँ रह्यो, पछि त्यो कसले लग्यो
लग्यो ।’ त्यसपछि ट्राफिक चोक बनाइयो । पूर्णमान आजाद श्रेष्ठ मेयर भएका बेला त्रिभुवनको सालिक राखी त्रिभुवन चोक नाम राखियो । सशस्त्र द्वन्द्वका क्रममा त्रिभुवन चोक भत्काइयो । अहिले यो चोक सालिकविहीन छ ।
बर्सादीसहितको सय
वर्षपहिलेको घर ।
तस्बिर : मधु/कान्तिपुर
सालिकझैं नेपालगन्जका
प्राचीन संरचना पनि गुम्दै गएकामा पाको पुस्ता चिन्तित छ । नेपालगन्ज उपमहानगरपालिका–४ गगनगन्जका राजेन्द्रकुमार शर्माले केही महिनाअघि पुर्ख्यौली घर भत्काए । घरको अघिल्लो भाग मुगल शैलीको थियो । मसिना बुट्टाले चिटिक्क सजिएको भित्ता फाल्न उनलाई मन थिएन । एकताका उनको त्यही घरको डिजाइन हेर्न पर्यटकको भीड लाग्थ्यो । ‘बाजेले बनाएको घर, साह्रै
ऐतिहासिक थियो,’ उनले
भने, ‘टुरिस्टले
फोटो खिचेर लान्थे ।’ अहिले भत्काएर आधुनिक घर बनाएका छन् । पुरानो
आवरण जोगाइराख्न मिहिनेत लाग्छ । पैसा पनि उत्तिकै खर्च हुन्छ । नगरपालिकालाई शर्माले सहरको सभ्यतासँग जोडिएकाले सहयोगको अपिलसमेत गरेका थिए । जवाफ सकारात्मक नपाएपछि बाध्य भएर पुर्ख्यौली घर भत्काउनुपरेको उनी सुनाउँछन् । ‘रोम, रुस, इटालीजस्ता देशमा पुराना घरका संरचना सरकारले
नै जोगाउँछ,’ उनले
भने, ‘हामीकहाँ
कसैलाई मतलब छैन ।’ नेपालगन्जमा के हेर्न आउने भन्ने विषय बिस्तारै हराउँदै गएको राजेन्द्रकी छिमेकी सुनिता सुनारले बताइन् ।
उनको घर पनि अहिले जीर्ण
छ । बाजेको पालामा बाटो हिँड्ने बटुवाले समेत फर्कीफर्की घरमा
नजर लगाउँथे रे । त्यसको ठिक अगाडि डेढ सय वर्ष पुरानो घर छ, ढल्न लागेको । त्यो पनि उनकै हो । सुनिता अविवाहित हुन् । दाजुसँग अंशबण्डा गर्दा उनको भागमा बाबाको घर पर्यो । दुईतले पुर्ख्यौली घर उनी सम्हाल्न सक्दिनन् । छतका भित्ता उक्किएका छन् । नेपालगन्जको पुरानो
टोल एकलैनीमा अझै पनि यस्ता सय वर्ष पुराना घरका अवशेष बाँकी नै छन् ।
जानकी गाउँपालिका, बनियाँगाउँमा विजय बर्माको सय वर्ष पुरानो
पुर्ख्यौली घर छ । विसं १८६० मा बनेको यो घरमा बेखाबखत फिल्म सुटिङ हुने गर्थ्यो । अहिले यो जीर्ण छ । बर्माका अनुसार नेपालगन्जका प्राचीन घर भारतको मुगल कलाशैलीबाट प्रभावित छन् । नेपालगन्जको राज भवन, मेघालय, ओमजंग राणाहरूको कोठी, पुराना जमिनदारका केठी मुगल शैलीमा बनेका हुन् । पहिलेका घरको संरचना देखाएरै पर्यटक भित्र्याउन सकिने बर्माको ठम्याइ छ । ‘तर, सहरको मौलिकता गुम्दै छ,’ उनले भने । ७८ वर्षे जगदीशप्रसाद शुक्लाका अनुसार नेपालकै पुरानो सहर नेपालगन्जमा एकातिर नेपालको मौलिकता छ भने अर्कोतर्फ भारतको लखनउ मुगल शैलीको प्रभाव । यी दुवै सभ्यता र संस्कार मिश्रित समाजलाई जोगाउन सके पर्यटकले हेर्नलायक प्रशस्त ठाउँ पाउने उनले बताए । ‘पर्यटक आकर्षण गर्न यहाँको मौलिकता जोगाउनुपर्छ,’ उनले भने, ‘नभए के देखाउने पर्यटकलाई ?’
पूर्वप्राज्ञ सनत
रेग्मीले आफ्नो पुस्तक ‘सद्भावको नेपालगन्ज’ मा समेत नेपालगन्जको मौलिकता हराउँदै
गएकामा चिन्ता पोखेका छन् । उनका अनुसार आधुनिक सहरको विकाससँगै यहाँको मौलिकता
अवशेषको रूपमा छ । अटोरिक्साको भीडमा फाट्टफुट्ट टाँगा चलेको देखिन्छ । खास गरी घुम्न आउने पर्यटक र भारतको सीमा रुपैडियातर्फ लाग्ने पहाडिया टाँगा चढ्छन् । त्यसो त कुनै बेला टाँगा नै यहाँको मुख्य यातायातका साधन थिए । नेपालगन्जदेखि रुपैडिया व्यापार गर्न टाँगा र
एक्काको प्रयोग हुन्थ्यो । रेग्मीका अनुसार राणाकालीन समयमा वर्ग विशेष अनुकूल आकर्षक घोडा ल्याइन्थ्यो । बिस्तारै सडकको विकाससँगै एक्का र टाँगा संस्कृति लोप हुँदै छ । भेरी अस्पतालको छेउमा टाँगा स्टेसन नै छ । ‘त्यहाँ अचेल रिक्साकै भरिभराउ देखिन्छ,’ रेग्मीले
भने, ‘नेपालगन्ज
चिनाउने टाँगा संस्कृति पनि हो । यसलाई जोगाउन सके पर्यटक केन्द्र बन्ने सम्भावना छ ।’
अवधी जीवनशैली
नेपालगन्जको जीवनशैली, रहनसहन, भाषा, भेषभूषा र सभ्यता मूलतः अवध संस्कृतिमा
केन्द्रित छ । संस्कृतविद् चौवेका अनुसार अवध भनेको ‘वध’ नगर्नु हो । जहाँ हिंसा हुँदैन, त्यहाँको समाज अवध हो । माछामासु नखाने, धोती, कुर्ता, सारी लगाउने र कृषिमा आधारित जीवनशैली रहेको नेपालगन्ज
बिस्तारै फेरिँदै छ । यहाँ बोलिने अवधि भाषामा समेत मिसावट देखिन थालेको उनले बताए । सयम परिवर्तनसँगै नेपालगन्ज व्यापारको केन्द्र बन्न पुग्यो । जहाँ मुस्लिम समुदाय, काठमाडौंका नेवार, सुदूरपश्चिमका पहाडिया सबै आएर बसोबास गर्न
थाले ।
जसले गर्दा भाषासँगै
जीवनशैलीमै परिवर्तन देखिएको छ । ‘अब शुद्ध अवधी बोल्ने कमै भेटिन्छन्,’ उनले भने, ‘जुन जहाँबाट आए त्यही भाषा बोल्छन्, मिसमास भएको छ ।’ उनलाई सम्झना भएसम्म बिहेमा चार दिनसम्म वरात चल्थ्यो । अहिले एकै दिनमा सकिन्छ । ‘घर आँगनमा बिहे नगर्दासम्म पवित्र मानिँदैनथ्यो,’ उनले
भने, ‘अचेल
पार्टी प्यालेसको आकर्षण बढ्दैछ,’ उनले भने, ‘साउन महिनामा रुखभरि झुला (पिङ) हुन्थे । महिलाहरू पिङ खेल्थे भने पुरुष कुस्ती खेल्थे । ठूलठूला पीपलका रुखका सट्टा बिजुलीका पोलमात्रै देखिन्छन् ।’
जुँगे महादेवको आकर्षण
नेपालगन्ज घुम्न आउने जो
कोहीका लागि बागेश्वरी मन्दिर पहिलो रोजाइमा पर्ने गर्छ । धार्मिक, सांस्कृतिक रूपमा मात्रै होइन, पर्यटकीय गन्तव्य नै बनेको छ बागेश्वरी मन्दिर । पहिला खरको झुप्रोमा थियो । विसं २०१८ सालमा यसलाई व्यवस्थित गरियो । पुरानोलाई भत्काएर तलैपिच्छे प्यागोडा शैलीमा बनाइयो ।
बागेश्वरी मन्दिर पश्चिम
नेपालको प्रमुख शक्तिपीठमध्येमा पर्छ । मन्दिरका महन्त हरिहरनाथ योगीका अनुसार, यहाँ सतीको जिब्रो खसेकाले यो शक्तिपीठको नाम
पहिला वाक्येश्वरी थियो । पछि अपभ्रंश हुँदै बागेश्वरी भएको हो । मन्दिर परिसर अगाडि ठूलो तलाउ छ । तलाउका बीच भागमा जुँगा भएको खड्गेश्वर
महादेवको मूर्ति छ । जसलाई जुँगे महादेव भनिन्छ । बागेश्वरी सबैको विश्वास र आस्थाको धरोहर मानिन्छ । नेपालका मात्रै होइन, बर्सेनि ठूलो संख्याका भारतीयले मन्दिरमा पूजा
गर्छन् । कतिपयले मन्दिरमा आएर जिब्रो चढाउँछन् । विशेष गरेर
नवरात्रिमा नेपाल र भारतबाट आएका दर्जनौंले जिब्रो छेड्ने गर्छन् । नेपालगन्जका सूर्यलाल गुप्ता (फेटेरा) ले जिब्रो नै काटेर चढाएको महन्त योगीले सुनाए ।
बिरयानीको स्वाद
सीमासँग जोडिएको सहर भएर
होला भारतीय परिकारको प्रभाव नेपालगन्जमा पनि देख्न पाइन्छ । बिरयानी नेपालगन्जको नाम चलेको परिकारमध्ये एक
हो । मुस्लिमहरूको मुख्य परिकारको रूपमा चिनिने बिरयानी चामल र मासु मिसाएर बनाइन्छ । नेपालगन्जमा मुवारक बिरयानी चर्चित छ । बिरयानी धेरै ठाउँमा पाइने भए पनि पकाउने व्यक्तिको कौशलका आधारमा स्वाद फरक हुने गरेको छ । गत वर्ष नेपालका लागि अमेरिकी राजदूत र्यान्डी
बेरी नेपालगन्ज आउँदा मुवारक बिरयानीको स्वाद लिएको विषयले निकै चर्चा पायो ।
‘यो
मेरो व्यवसाय मात्र होइन, नेपालगन्जलाई
चिनाउने जिम्मेवारी पनि हो,’ मुबारक
बिरयानीका सञ्चालक मुबारक अलि अन्सारीले भने, ‘स्वादको गुणस्तरमा कुनै कन्जुस्याइँ गर्दिनँ । तेलदेखि मासु होस् वा चामल, उच्च
गुणस्तरकै हुन्छ ।’
रावडी
दूधबाट बनेको विशेष
परिकार हो, रावडी । बिलकुलै प्राकृतिक तरिकाले यो परिकार बनाइन्छ । यहाँ तीन पुस्तादेखि रावडी बेच्दै आएको पाहुनाजीको पसल प्रख्यात छ । सदरलाइनको राधाकृष्ण मन्दिरमा सचिन हलवाई रावडी बेचिरहन्छन् । हिजो अनि आजको रावडीमा के फरक छ त ? उनले सहजै जवाफ दिए, ‘हिजो पनि भैंसीकै दूधबाट बनाइन्थ्यो, आज पनि त्यही भैंसीकै दूधबाट रावडी बनाइन्छ । तर मान्छे बदलिएका छन् । लालची भएका छन् ।’
उनका अनुसार व्यवसाय
गर्नेले मिसावट गर्छन् । त्यसैले स्वादको भिन्नता छुट्याउन समय लाग्दैन । हजुरआमाले गरेको उनको कामलाई बुबाले पछ्याए । बुबा नसक्ने भएपछि सचिन त्यो बिँडो थाम्दै छन् । ‘यो हाम्रा लागि व्यवसाय मात्र होइन, पारिवारिक काम हो,’ उनले भने, ‘यो पेसा हाम्रो प्रतिष्ठासँग जोडिएको छ । नेपालगन्जको पहिचानसँग जोडिएको छ ।’ पहिला रावडी दुनामा बेचिन्थ्यो, अहिले प्लास्टिकको कचौरामा । ‘पहिलोपटक नेपालगन्ज आएको मान्छे त्रिभुवन चोक पुगेकै हुन्छ,’ त्रिभुवन
चोकका रामलखन गुप्ताले भने, ‘एक
पटक रावडीको स्वाद लिएपछि जिब्रोले बिर्सिंदैन ।’
हलुवा–पराठा
नेपालगन्जको अर्को
लोभ्याउने गुलियो परिकार हो, हलुवा । नेपालगन्ज आउनेहरू हलुवा–पराठाको स्वाद लिन नेपालगन्जको चौलिक्का चोक पुग्ने गर्छन् । हलुवा पराठाका कालिगढ हुन्, हारुन शेख । बम्बईबाट काम गर्न नेपालगन्ज आएका । जति ठूलो ताबा त्यति नै राम्रो रोटी हुन्छ । एउटा ताबामा डेढ किलो मैदाको रोटी पाक्छ । साथमा सुजीको हलुवा पकाइन्छ । बिस्तारै पकाउनुपर्छ । एक वर्ष उनले पकाउन मात्र सिके । यो अरबी परिकार भए पनि यहाँ यसको स्वाद लिनेको कमी छैन । बिहान ५ बजेदेखि साँझ ८ बजेसम्म पसलमा भीड लाग्ने गर्छ । कामदार रमजान अलिका अनुसार पहाडीहरू नै यसको स्वाद लिन आउँछन् । २५ रुपैयाँमा एक सय ग्राम हलुवा–पराठा खान पाइन्छ ।
जलिल अहमद ३३ वर्षदेखि
हलुवा–पराठा बेचिरहेका छन् । उनी दैनिक १५ किलो हलुवा र पराठा बिक्री गर्छन् । अहिलेसम्म उनले नमिठो भयो भन्ने सुन्नुपरेको छैन । माग बढ्दै गएपछि हाल नेपालगन्जको त्रिवेणी मोड, बागेश्वरी मन्दिरको चोकमा समेत बेच्न सुरु
गरिएको छ ।
चाट
नेपालगन्ज आएका, चाट खान त्रिभुवन चोक नपुग्ने कमै होलान् । के बूढा, के
बच्चा सबैको रोजाइमा चाट पर्छ । नेपालगन्जमा धेरैथरीका चाटको स्वाद लिन सकिन्छ । चाट पसले धर्मेन्द्र लखेरका अनुसार चाटमा मसलाको जादु नै प्रमुख कुरा हो । कसले कुन मसलाको प्रयोग कसरी गर्छ भन्नेमा यसको स्वाद निर्भर हुने उनले बताए ।
उमालेको आलुको बोक्रा
ताछेर हातले चेप्टो पारी टिकिया बनाइन्छ । अदुवा, हरियो
खुर्सानी, सुकेको
खुर्सानीको धूलो, जिरा
पाउडर, चाट
मसला पाउडर, हरियो
धनिया, अमचुर
पाउडर र नुन हालेर आलुको चाट बनाइन्छ । उनी आफूले प्रयोग गर्ने मसला आफैं सिलौटामा पिसेर बनाउँछन् । ग्राहकको मागअनुसार चाट खट्टो र मिठो बनाइन्छ ।
चाट खाएपछि पानीपुरी
अधिकांशको रोजाइमा पर्छ । खट्टो, पिरो
मन पराउनेको पहिलो रोजाइमा पर्ने पानीपुरी गहुँका स–साना पुरी बनाएर त्यसमा खट्टो, पिरो पानी हालेर बनाइन्छ । एउटा व्यक्तिले कम्तीमा १० वटा पानीपुरी खाने गर्छन् । त्रिभुवन चोक आसपासमा पानीपुरीको ठूलो व्यापार हुने गरेको छ ।
घमन्जा
यहाँको मुख्य
परिकारमध्ये घमन्जा पनि एक हो । जिब्रोले छुँदै यसको स्वाद मन पराउँछ । ब्रेडको टिकिया, भेंडे
खुर्सानी, आलु, केराउको तरकारी, काउलीको टिकियालगायत परिकार एउटै ठाउँमा राखेर
खान दिइन्छ । २० रुपैयाँमा पेटभरि खान पाइन्छ । बिहानैदेखि
यसको व्यापार हुने भएकाले मजदुरी गर्ने मात्र होइन, धनाढ्यको रोजाइ पनि घमन्जा हुने गरेको छ ।
लस्सी
मुलुकमै गर्मी हुने
दोस्रो सहरको उपाधि पाएको नेपालगन्जको लस्सीले धेरै नै राहत दिन्छ । खासगरी दहीबाट र उखुको जुसबाट पनि लस्सी बनाइन्छ । नेपालगन्जका विभिन्न स्थानमालस्सीको व्यापार भए पनि त्रिभुवन चोकको लस्सी विशेष
मानिन्छ ।
पान
नेपालगन्जको पानको कथा
पनि बेग्लै छ । यहाँ धेरै प्रकारका पानको स्वाद लिन पाइन्छ । १० रुपैयाँदेखि सय रुपैयाँसम्ममा खान पाइने भएकाले साँझ परेपछि पसलमा झुम्मिनेको छुट्टै रौनक हुन्छ । पानको विशेषता पनि आफ्नै छ । यसले पाचन शक्ति बढाउँछ । कब्जियत हुँदा पानको प्रयोग राम्रो मानिन्छ । पानका पारखी सकिल अहमद खान पान आफैंमा औषधिको रूप भएको मान्छन् । दिनमा चार पटक उनी पान खान्छन् ।
प्रकाशित : फाल्गुन २२, २०७६ ०८:४१