दसैंको रमझम सकिएपछि उल्लास र उज्यालोको पर्व
तिहार आउँछ । कात्तिक कृष्ण त्रयोदशीदेखि प्रारम्भ भई द्वितीया अर्थात् भाइटीका गरेर समापन हुने यो पर्वको आफ्नै महत्त्व छ । यो पर्व यमपञ्चकको नामले पनि प्रसिद्ध छ । घर-घरमा दीप बालेर सजाइने हुनाले केही समययता यो पर्वलाई दीपावली भनिन्छ । तिहारको प्राचीनताबारे पौराणिक आख्यानहरूदेखि हाम्रो संस्कृतिमा तिनले पाएको निरन्तरताले केही न केही इतिहास बताइरहेको छ ।
तिहारको रौनक
पशुपन्क्षीहरूदेखि दाजुभाइ-दिदीबहिनीहरूबीच एकआपसमा तथा आफूले आफैलाई ‘म्ह:पूजा’को
रूपमा आत्मसम्मान गर्नुमा पनि छ । यो फूलैफूलले घरबारी, बगैंचा र आँगनमात्र होइन, दाजुभाइलाई मखमली, दुबो, सयपत्री र गोदावरी फूलका सुन्दर मालाहरू
लगाइदिएर आशिर्वाद र स्नेहले भरिपूर्ण तुल्याइदिने पर्व हो ।
तिहार राजसी, तामसीभन्दा पनि बढी सात्विक पर्व हो भन्दा फरक
पर्दैन । यस पर्वमा के
केटाकेटी, के
वृद्धवृद्धा, सबैजसो
फलफूल र थरीथरीका मिठाइमा रमाएका हुन्छन् । सेल, अनर्साजस्ता परम्परागत मिठाइहरू घर-घरमा बनाएर
ताजा खाने परम्परा नेपालभरि नै छ । लक्ष्मीपूजाको दिन घरमै बनाएको विभिन्न प्रकारका मिठाइ एवं सेलरोटी लक्ष्मीलाई चढाउने चलन छ ।
तिहारको पहिलो दिन कागको
पूजा गरी दुनाबोतामा दालभात, तरकारीसहितका पक्वान्न खान दिने चलन छ । कागलाई किन पूजा गरेको होला ? काग कुनै बखत समाचारको संवाहक मानिन्थ्यो । उसको बसाइ, बोलीको
शैली, हाउभाउले
हाम्रा पुर्खाहरू शुभ र अशुभ कुराको लख काटेर समय कटाउँथे, आफन्त नआउन्जेलसम्म । हिजोआज यस्ता कुरालाई रुढीबुढी र अन्धविश्वास भनिन्छ । यस्ता चलन हराउँदै जानथालेका छन् । कागलाई वर्षमा एकदिन सम्झिने चलन भने अझै छ । कागले कतिपय रोगका कारक तत्त्वहरू मानिएका फोहोरलाई खाएर वरपरको वातावरण सफासुग्घर तुल्याइदिन्छ र मानिसको भलो गरिरहेको हुन्छ ।
कागको पूजा गरेपछि
दोस्रो दिन कुकुर तिहार, तेस्रो
दिन लक्ष्मीपूजा, चौथो
दिन अर्थात् कात्तिक शुक्ल प्रतिपदाका दिन गाईपूजा, गोबर्धनपूजा, नेवारी समुदायले मनाउने नयाँ वर्ष र म्ह:पूजा
एवं तिहारको अन्तिम दिन कात्तिक शुक्ल द्वितीयाका दिन भाइटीका सम्पन्न गरिन्छ ।
कात्तिक कृष्ण
त्रयोदेशीदेखि कात्तिक शुक्ल द्वितीयासम्मको पाँच दिनको आफ्नै प्रकारको आख्यान
पाइन्छ । मृत्युका अधिपति यमराज आफ्ना दैनिक काम स्थगित गरेर बहिनी यमुनाकहाँ यो पाँच दिन अतिथिका रूपमा बसेर भाइटीका ग्रहण गर्ने भएकाले यस पर्वलाई ‘यमपञ्चक’
भन्ने गरिएको माहात्म्य पाइन्छ । भाइटीकाको दिनको पूजा तिनै यमराज र यमुनाको नाममा समर्पित छ । त्यस दिन दिदीबहिनीहरूले दाजुभाइलाई टीका लगाउँदा यमराजले आफ्ना दाजुभाइहरूलाई असमयमैनडाकुन् भन्ने चाहना अभिव्यक्त भएको हुन्छ, प्रकारान्तरले । कुकुर पूजाकै दिनदेखि
यमदीप दान गर्नाले यमयातनाबाट मुक्त भइन्छ भन्ने धार्मिक विश्वास छ ।
चौथो दिन गाईपूजा गर्ने
प्रचलन छ, यसलाई
गोबर्धनपूजा पनि भन्छन् । उहिल्यै मानिसको सम्पत्ति भन्नु नै कसको घरमा कति गाई छ, त्यसबाट
अडकल काटिन्थ्यो । दुहुना गाईलाई समृद्धिको प्रतीक मान्ने चलन
थियो । गाईवस्तुलाई ‘गोधन’ भनिन्थ्यो । अहिले समय परिवर्तन भएको छ । गाईवस्तुले जति सम्मान पाउनुपर्थ्यो, त्यसबाट समाज विचलित हुँदैछ ।
गाईपूजाका दिन गोबर्धन
पर्वत तथा बलिराजाको पनि पूजा हुन्छ । गोबर्धन पर्वत पूजाको प्रसङ्ग भगवान् कृष्णसित जोडिएको छ । गोपालहरूका
लागि घाँसपात उपलब्ध गराएर सहयोग पुर्याउने भएकाले पर्वतको प्रतिनिधिस्वरूप
गोबर्धन पर्वतको पूजा हुन्छ । गाईको गोबरको पर्वत तथा कुण्ड बनाएर अनेक तरहले सिंगारेर गोबर्धन पूजा गरिन्छ ।
समयको अन्तरालमा
विस्तारै सम्पत्ति भनेको अरू धनदौलत आउन थाले । एकातिर गाईलाई लक्ष्मीको स्वरूप मान्ने प्रचलन अर्कोतिर गाईको दूध, दही, घियु, गहुँत, गोबरसमेतको शास्त्रीय महत्त्व र मान्यताको कारण
पनि गाईलाई नेपाली संस्कृतिमा धेरै महत्त्व दिइएको छ ।
गाईलाई गरेको सेवाले
वैतरणी नदी तर्न सहयोग पुर्याउँछ भन्ने पनि शास्त्रीय मान्यता छ । गाईको सेवाले मानिसलाई रोगव्याधिदेखि मुक्त राख्न दूध, दही, घियुले मद्दत पुर्याउँछ । त्यसैले गाईलाई लक्ष्मीजस्तो ठान र आमा बराबर सेवा गर भनेको संकेत बुझ्न नसक्दा हिजोआज गाईलाई व्यावसायिक रूपले कसरी दोहन गरिरहेका छन् र अमृतमय हुनुपर्ने गोरस विषसमान
बन्दै गइरहेको स्मरणीय छ । जसको कारण भेगन आन्दोलन विश्वव्यापी बन्दै गइरहेको पनि सम्झनुपर्छ ।
धार्मिक, वैज्ञानिक एवं आयुर्वेदीय दृष्टिकोणले मानिसको
आयु बढाउन गाईको दूध, दही, घियु, महीको ठूलो महत्त्व छ । त्यत्तिमात्र होइन, गोबर र गहुँतसमेत उच्चकोटीको प्राङ्गारिक मलको
रूपमा प्रसिद्ध मानिन्छ । यसैले हाम्रो संस्कृतिमा गाईपूजनलाई स्थान दिइयो । तर पूजनले मात्र पुग्दैन, गाईको वास्तविक सेवा गर्न सकियो भने राष्ट्रको
सेवा पनि हुन्छ भन्ने संकेत संस्कृतिले दिइरहेको कुरालाई बुझ्न सकेनौं भने हामी
पछि पर्छौं ।
दाजुभाइ र दिदीबहिनी
बीचको आदरभाव र स्नेहाभावको अनुपम पर्व हो, तिहार । दुबैले एकआपसमा श्रद्धाभक्ति एवं आदरपूर्वक सप्तरङ्गी टीका निधारमा लगाइदिएर, मखमली, दुबो, सयपत्री र गोदावरीको माला गलामा लगाइदिएर
एकआपसमा आयु आरोग्य दीर्घायु होस्, रोगव्याधिले दु:ख नदेओस् भनेर कामना र
प्रार्थना गर्ने गरिन्छ । दाजुभाइ र दिदीबहिनी बीचको सौहार्दता, सद्भाव र घनिष्ट सम्बन्धलाई अरू प्रगाढ बनाउन
भाइटीका पर्वको ठूलो भूमिका छ ।
दिदीबहिनीले आफ्ना
दाजुभाइहरूलाई गक्ष अनुसारको कटुस, ओखर लगायतको मरमसला, मिष्ठान्न एवं फलफूलहरू तथा दाजुभाइले
दिदीबहिनीहरूलाई हातमा दक्षिणा राखेर खुट्टामा ढोग्ने चलन छ । यस्तो संस्कृति विश्वमा दुर्लभमात्र होइन, छँदै
छैन भने हुन्छ । धेरै दाजुभाइहरू भाइटीकामा दिदीबहिनीहरू आउलान् र निधारमा सप्तरङ्गी इन्द्रेणी टीकाले आफ्नो निधार सजाउन पाइएला भनेर पर्खेर बसेका हुन्छन् ।
कतिको पर्खाइ काम लाग्छ, कति
त्यसबेला भक्कानिन्छन्, दिदीबहिनीहरू
आउन नसकेर निधार खाली भएकोमा । आफूले सम्झेजस्तो समय, परिस्थिति कहाँ हुन्छ र ?
काठमाडौंका
दिदीबहिनीहरूले आआफ्ना दाजुभाइ नभएको रिक्ततामा भाइटीकाको दिन रानीपोखरीको बीचमा
रहेको मन्दिरभित्रको बालगोपाल अर्थात् भगवान् श्रीकृष्णको बालस्वरूपलाई दर्शनपूजन
गर्ने गर्छन् । हिजोआज केही दिदीबहिनीहरूले ठाउँ-ठाउँमा सामूहिक भाइटीकाको माहोल सिर्जना गरेका छन् । हनुमानढोका नजिकको काष्ठमण्डपबाट विगत बाह्र/तेह्र वर्षअघि सुरु भएको यो चलनले नेपालका विभिन्न ठाउँका दिदीबहिनीहरूलाई प्रेरित गरेको छ र त्यस दिन दिदीबहिनी नभएका दाजुभाइहरू त्यसरी आयोजना हुने समारोहमा पुग्न भ्याई-नभ्याई गरिरहेको दृश्य देख्न सकिन्छ ।
तिहारको अर्को रौनकता
भनेको दीपावली र देउसीभैलो हो । घर-घर, मठमन्दिर र ठूलठूला भवन र कार्यालयहरूमा
रङ्गीविरङ्गी बत्तीले झिलीमिली पारी आँगन सजाउने चलनले वातावरण नै मनमोहक बनेको
हुन्छ । पहिले-पहिले माटोले बनेको ‘पाला’मा काँचो धागोले बनाएको बत्तीमा तोरीको तेल
हालेर बालेको दीयोबत्ती घर, आँगन, चोटाभरि ठाउँ-ठाउँमा लहरै बाल्ने चलन थियो । अहिले गाउँघरमा कहीं कतै केही मात्रामा पालाको चलन भए पनि सुगम, दुर्गम
सबैतिर लहरे बिजुलीका ससाना बल्बहरूको मालाले घर सिँगारपटार गर्ने चलनले व्यापकता
पाइरहेको छ ।
लक्ष्मीपूजाका दिनमा
भैलो र गोबर्धन पूजाका दिनमा देउसी खेल्ने परम्परा छ । पहिले-पहिले भैलो महिलाले र देउसी पुरुषले खेल्ने गरिन्थ्यो । आजकाल यो बिर्से जस्तो छ । अहिले महिला-पुरुष दुवैले देउसी-भैलो खेल्न थालेका छन् । यसबेला भट्टयाइने गाथाहरू थरीथरीका हुन्छन् । देउसी र भैलीकै लागि केटाकेटीहरूले अनेक प्रकारका गीत, सङ्गीत र भाकाहरू तयार पारेका हुन्छन् र
घर-घरमा गएर आफ्नो प्रतिभा देखाउन लामो समयदेखि तयारी गरिरहेका हुन्छन् । देउसी-भैलीहरूले आशिर्वाद दिन्छन् ।
देउसी र भैलोको दक्षिणा
संकलनबाट ठाउँ-ठाउँमा विद्यालय, चौतारा, ढुङ्गेधारा, पाटीपौवा लगायत उल्लेख्य सामाजिक कार्य गर्ने
संस्थाहरू पनि बनाइएका छन्, बनाइन्छन् । लक्ष्मीपूजाको दिन लक्ष्मीका अतिरिक्त अष्टसिद्धि, कुवेर, इन्द्र, ऐरावत तथा चन्द्रमाको पूजा हुन्छ । चन्द्रमा लक्ष्मीका सहोदर भाइ मानिने भएकाले लक्ष्मीलाई खुसी पार्न चन्द्रमालाई पनि खुसी पार्नुपर्ने कुराको प्रसिद्धि
छ ।
तिहारलाई आर्थिक-सामाजिक
पक्षसँग पनि जोडेर हेर्न सकिन्छ । जङ्गली कटुस, ओखर, निबुवाजस्तो अरू बेला कसैले वास्ता नगर्ने तर
तिहारको बेला हारालुछ हुने फलले कुनै पनि उपलब्ध वस्तु निकम्माको छैन, त्यसलाई समय अनुसार सदुपयोग गर्यो भने
अर्थोपार्जन हुनसक्छ भनेर सिकाइरहेको हुन्छ ।
तिहारलाई उज्यालोको
पर्वका रूपमा समेत चिनिन्छ । बाहिर मात्र उज्यालो ल्याउने र बनाउने नभई अन्तर्हृदयमै उज्यालो ल्याउन हामी प्रयत्नरत हुनुपर्छ भनेर दीपावलीले संकेत गरिरहेको हुन्छ । त्यसैले तिहार
उज्यालोको पर्व हो ।प्रकाशित : कार्तिक
९, २०७६ ०९:१५