‘सुनाइदेऊ हाम्रा चौरी मरेका कुरा’
काठमाडौँ — भुइँचालोका बेला जाजरकोट, रुकुम हुँदै डोल्पा
पुगेकी थिएँ । १५ दिन गाउँ–गाउँ डुल्दै हिँडें । गाउँलेका घरमा, कहिले मन्दिरमा, कहिले ब्यारेकमा बास पर्यो । दुनै बजार पुगें । सामुन्ने घरमा थिए– थिन्ले दाइ ।
तन्नेरी भएका भए ‘झ्यालबाट हेरेको तिमीलाई’ भन्दै गीत गाउँदा हुन्
कि ! भेटको सुरुमा त उनले मलाई खासै बाल दिएनन् । काठमाडौंमा घरमा लगेर चियर्स गर्दै,
क्याराभान हेर्दै अन्तर्वार्ता लिएको सम्झाउँदा पनिउनले गनेनन् ।
म फोक्सुन्डो पुगेर फिरेपछि भने ट्वाल्ल हेरे । हामी पाँच दिनका लागि छिमेकी थियौं । बजारको
बीचमा बसेर बात मार्यौं । गिलिल्ल हाँस्यौं । गर्दियौं तमासा । अनि उनले भने,
‘तिमी अझै माथि जानुपर्ने । चौंरीको बिजोक हेर्नुपर्ने !’ एक छिनमा रिस र जोस मिलााएर भने,
‘पहिलो नम्बरमा प्रचण्डा, दोस्रो
बाबुराम, तेस्रो सुशील कोइराला,
चौथो शेरबहादुर अनि रामचन्द्रालाई गएर भन्देऊ,
हाम्रो चौरी मरेको कुरा । डोल्पामा बाटो नआएको कुरा ।’ थिन्लेलाई मैले भनिनँ– सिंहदरबारमा खबर टिप्न जाने हूलमा मिसिन मन लाग्दैन थिन्ले दाजु ! भीर–पाखामा नेता भेटिँदैनन् । बाटो बाटो भन्दा–भन्दै बाटोमै लडेर परलोक भए थिन्ले दाइ । जीवन भन्नु फगत एक
सम्झना ! आफ्नो जिल्लाका लागि उनले देखाएको चासो भने मनमा खील बनेर
रोपिएको थियो ।00000
केही दिनअघि बाबुराम भट्टराईसँग एउटा पुस्तकको विमोचनमा भेट भयो । उनीसँगको मतभेद र दुखेको हृदयलाई एकै छिन छेउ लाएँ । थिन्ले दाइको कुरा सुनाइदिएँ । अरू कति थिन्ले र डोल्माका
कुरा त मनबाट निस्केर पहरामा ठोकिँक्दो हो, उनीहरूतिरै
फर्कंदो हो । लेखक गंगा श्रेष्ठको ‘मध्य(पहाड यात्रा’ पुस्तकको पानाहरू पल्टाउन थालें । हरेक पानामा बोध भयो– लेखन र राजनीतिका लागि यात्रा प्राण–वायु हो । बोधो भएको लेखक र राजनीतज्ञ जब ‘आम’ भनिने मानिसको
आँगनमा पुग्छ, अनि ‘खास’ भएर फर्कन्छ । संसारभरिका विद्वान्को नाम कण्ठ पारी बसेको लेखक आफ्ना ठाउँ र मानिसका मनको बात नजानेर रनभुल्ल हुन्छ । जब गाउँ पुग्छ,
गाउँलेले भरिदिन्छन्– स्वादिला लोक ज्ञान,
दर्शन र विम्बहरूले । भुत्ते भएको ज्ञानको खुकुरीमा दाउ लाएर
फर्कन्छ । आफ्नो माटोमा उब्जेको ज्ञानको स्वादभन्दा मीठो के हुन्छ यो लोकमा !
पुस्तकको सुरुमै लेखकले अब जनतालाई सुन्न जाने
पालो भनेका छन् । सुनाउन मात्र हिँडेका, सुन्न नमान्नेलाई कारबाही गरेका पार्टीका मानिसको यतिको बोध नै
स्वागतयोग्य लाग्यो । सापटी दर्शनको बोझ बिसाएर मौलिक
दर्शन बोकेर फर्केलान् भनी पाठक मन आशावादी बन्छ । नागरिकलाई सुन्न जाने कामलाई ‘महान् कार्य’ भनेको चित्त बुझ्दैन । यो त आधारभूत कुरा हो । आफ्ना मानिसलाई नसुनेकै कारण खिया लागेका छन् हाम्रा मगन्ते दर्शनहरूमा ।
पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईसहितको टोली
खोटाङको जनजागृति विद्यालय पुग्छ । परम्परागत शिक्षा प्रणालिलाई नगनेर आफ्नै व्यावहारिक शिक्षा प्रणालिमा रमाएको विद्यालय । बारीमा काम गरिरहेका, सुंगुरलाई चारो हालिरहेका, भवन निर्माण गरिरहेका, विद्यार्थीहरू मस्त छन् । नबोली भनिरहेछन् लेखकको टोलीलाई, ‘हेर यस्तो हुन्छ
वैज्ञानिक शिक्षा प्रणाली । भाषण र नारा छोड, कर्म गर मानिस कर्म ।’ यस्तो व्यावहारिक वैज्ञानिक शिक्षा सबैतिर फैलिए ! म आफैं कल्पन्छु ।
लेखक टोली धनकुटा नगरपालिका–६ सल्लेरी वनको स्यानिटरी ल्यान्ड
फिल्डमा पुग्छ । फोहरको थुप्रोमाथि बगैंचा
देख्छ । वातावरणीय चेत घुसेको छैन हाम्रो राजनीतिमा । विकास भन्नु केवल भौतिक संरचना भन्ने बुझेको राजनीतिक दर्शनले हामीलाई कहाँ पुर्याउला सम्झेर कहालीलाग्दो छ । यस्ता बगैंचाले भने होलान् कि जाऊ टोली,
अरू धेरै ठाउँमा यस्तै हाम्रा साथी बगैंचाहरू बनाऊ । विकास
बाँच्न पनि त मानिसले सास फेर्नैपर्छ नि !एकमहिने यात्रामा लेखक र टोलीले कतै कृषि रोड घुमेको देखे । कतै मूल मार्ग नै बटारिएको देखे । स्थानीय नेताज्यूहरूको दैलोमा जानुपर्यो सबै कुरा । जनताले सहने सास्ती र ढिलासुस्ती त दाल–भातजस्तै सामान्य भयो । स्थानीय बदमासीमा नजर नपुर्याई केन्द्रीय बदमासीको लेखाजोखा अपुरो हुनेछ । मेरो सम्झनामा दुई कुरा आए, एक भर्खरै पुगेर फर्केको किमाथांका जोड्ने कोसी ल्हासा राजमार्गको ढिलासुस्ती, अर्को भुइँचालोको बेला डोल्पा पुग्दा भेरी नदीमा पल्टिरहेको युवकको मृत शरीर ।
भेरी नदी किनारको होटलमा मानिसहरू साउती गरिरहेथे, ‘जीविसमा भ्रष्टाचारको कुरा उठाउने केटोलाई त मारेछन् । लास किनारमै छ रे !’ मन चिसो भएथ्यो मेरो । नदीतिरबाट बहँदै आएको बतासले रिस भरेर आफ्नै गालामा थप्पड हानेझैं लागेको थियो । नजाने कति कुरा यसरी हावामा आउँछन् र जान्छन् । हिसाब राख्ने फुर्सद यहाँ कसलाई ? भ्रष्टाचारको रकमलाई सुपाडी भन्थे थिन्ले दाइले । सुपाडीको चाँगै लागेका दृष्टान्तको खोजी अपुरो छ । गंगा श्रेष्ठले ‘मध्य(पहाड यात्रा’ पुस्तकमा इन्द्रसरोबर नदीको बिजोग बताएका छन् । नदी कोपरेर नअघाएका दुष्टहरूको प्रसंगले आँत पोल्छ ।
केही समयअघि नदी दोहन जोगाउन धनुषाका दिलीपकुमार महतो लागिपरे । बदलामा माफियाहरूले ज्यान लिएको समाचार आयो । यो केस कहाँ पुग्यो, अहिले समाचारमा ओझेल परेको छ । दिलीपको केस त केही हदसम्म भए पनि चर्चामा आयो । भेरी नदीमा एक्लो पल्टिरहेको त्यो युवकको मृत शरीरले के भन्दो हो हामी पत्रकार र नेतालाई ! देशैभरि कति मानिस होलान्, जो बेखबर एक्लै लडिरहेका होलान् ।
लेखकले रुकुमको चौराजहारीमा सिँचाइ र पुलको प्रसंग निकालेका छन् । एउटै पुलमा बीस वर्षदेखि राजनीति घुमिरहेको छ । ‘धारा बन्ला भनेर बालुवा बोक्दाबोक्दा तालु खुइलियो । पानी आएन,’ धादिङको ताल्ती गाउँका एक प्रौढ सम्झन्छु । दलीय गन्जागोलमा अल्लेको विकास गाँठो कसिलो छ । केन्द्रले बेवास्ता गर्यो भन्ने एकोहोरो रटानले मात्र पुग्दैन । स्थानीय बदमासीलाई सफा पार्न, त्यसको खोजीनिदी आवश्यक छ । यसैका लागि ‘हाम्रो गाउँमा पत्रकार आउँदैन । हाम्रो गाउँमा नेताले पाइला राख्न भ्याउँदेन,’ यो नयाँ उखान बदलिने बेला भएको छ ।
अक्सर लामो–लामो पदयात्रा गरेको हुनाले म पुस्तकमा पदयात्राको स्वाद खोज्दिरहेछु । लोपोन्मुख भएको छ हाम्रो पदयात्रा । योसँगै, लोकसंगीत, संस्कृति, खाना, रिवाज र परम्परा मात्र हराउँदै छैन । हराइरहेको हाम्रो लोकदर्शनको माया लागेर आउँछ । लोक दर्शन मिसिएका नीति भए कति जाती हुन्थ्यो । कति बाटाहरू हामीलाई एक्लै पर्खिरहेका होलान् ।
जब आउँछ पानाहरूमा, सिन्धुलीको जुनार, धनकुटाको काउली, कागते बजारको कागती, लसुने बजारको लसुनको कथा, हैसियतको बोक्रा फालेर लेखकको टोली लसुन पोको पार्न दगुर्छन् । रमाइलो लाग्छ, बचपना । बालक हृदय फेरि जागे मात्रै नयाँ कुरा लेख्न सकिएला । ठाउँठाउँमा किसानका कुरा सुन्ने मेसो पनि जुराउँछन् । समस्याका गाथा सुन्दा आत्तिएका छन् मानिसहरू । समाचार हेर्यो कि अपराध कि भ्रष्टाचार । नेताको कुरा सुन्यो अर्कोलाई गाली मात्र छ । छैन, छैन, हुँदैन, हुँदैनको आतंकले वायुमण्डलग्रस्त छ । ठाउँ–ठाउँका कृषि सम्भावना र तिनले ल्याउन सक्ने व्यावसायिक उन्नतिमा काम हुन्छ कि भन्ने आस पलाउँछ । एअरपोर्टको लामो लाइन छोटिँदै जाला कि, चम्किएको बाकसमा अस्ताएका सपना फर्कने दिनहरूसकिएलान् कि !
मानिसहरूलाई आफ्नो देश परदेश भएको छ, परदेश देश । ‘नेपालको कमाइले चिया खान्छौं भारतको कमाइले जीवन धान्छौं’ भन्थे सुदूरपश्चिमका नागरिक । लेखकले भेटेका चिवाभञ्ज्याङका एक नागरिकले गाउँको खबरसँग बेखबर भएको बताउँछन् । उनको काम काठमाडौंमा धेरै पर्छ । विकेन्द्रीकरण कागजमा मात्र भएको छ । सिंहदरबार गाउँगाउँमा भनेको, सिंहको पुच्छर पनि पुगेको छैन भन्छन् अचेल ठाउँठाउँमा । गाउँ परपर काठमाडौं वरवर छ देशको धेरै भागमा । यो दैनिकी नागरिकको काँधमा कति बोझ हुन्छ होला, बोध गर्न सकिन्छ ।
च्यांगथापुका नागरिकले लेखकको टोलीसँग आफ्नो सास्ती बिसाउँछन् । सीमाको बाटो जोडिए हुन्थ्यो भन्छन् । सिक्किम, बंगाल र नेपालको सिमाना फालोट जम्मा सत्र किलोमिटर पर छ । यो बाटो खुले नेपालीले लाभ लिन सक्छन् । केही महिनाअघि पुगेको किमाथांका सम्झन्छु । चाइनाको सीमासम्म बाटो पुगे के–के मात्र गरौंला भनेर पर्खेका मानिसहरूको उत्साहको झल्को आउँछ ।
टोली झुलाघाट नाकामा गएर नागरिकका पीर–मर्का र व्यावसायीक अप्ठेरोका कुरा सुन्छन् ।
बाबुराम भट्टराईले ‘संसद्मा कुरा उठाउँछु’ भनेको जिम्मेवार प्रतीत हुन्छ । दुई देशको बराबरी सम्बन्धको कुरा काठमाडौंमा गर्न सजिलो छ, नाकामा एक छिन उभिन हामीलाई हम्मे छ । सिमानाको प्रसंगले म वनबासा नाका पुग्छु सम्झनामा । पचास रुपैयाँको गुँड (सख्खर) किन्दा पैसा जोगाई–जोगाई किन्छन् नेपालीहरू । ठाउँठाउँमा अपमानित हुँदै लुटिन्छन् एकै छिनमा । राज्यका नम्बर नम्बरका जिम्मेवार अंगहरू त्यहाँ उभिनुपर्ने होइन र ?
‘जनयुद्धका’ दिन सम्झेर लेखक भावुक पनि हुन्छन् । २०६० सालमा तेह्रथुमको संक्रान्तीमा कुकर बम पड्केको प्रसंग छ । पूरै घर ध्वस्त भएको र एक किशोरीको ज्यान गएको हुन्छ । ‘युद्ध कति निर्मम हुन्छ । सानासाना असावधानीले कत्रा विपत्तिहरू लिएर आउँछन्,’ विरक्त भएर युद्ध सम्झेपछि अर्को प्रसंगमा उनीहरूकै युद्धको कारण सबै बद्लिएको भन्छन् । राजीखुसीले युद्धमा हिँडेकालाई त कहाली थियो ।
जबरजस्ती घिसारिँदै मारिएकालाई त्यो ‘जनयुद्ध’ के थियो ? लेखक र उनका नेता बाबुरामले कुनै दिन आत्मालोचना गर्ने नै छन् । जनयुद्धको सेल्टर मानिएको लुकुम गाउँ पुग्छन् लेखकको टोली । बेनी फौजी कारबाहीको तयारी गरिएको ठाउँ हो यो । लेखकले बेनीको एक ठाउँमा गोलीले छेडिएको पोलमा उभिएर तस्बिर खिच्छन् । मेरो मन गहिरो पीडामा जान्छ । एक छिन मन मस्तिष्क हल्लन्छ । बल गरेर निस्कन्छु यो दृश्यबाट । कति निर्दोषको छाती छेडेर गए ती गोलीले । लेखकलाई जस्तो मलाई गर्व लाग्दैन ।
न्यायिक निरुपणको सवालमा उनले यो राजनीतिक निर्णयबाट टुंगो लाउनुपर्छ भनेका छन् । यसो भन्न मिल्ला ? पीडितहरूले
आफ्नो घाउ बिर्सन नसकेर बोलिरहेछन् । सरकार र बिपक्षी दुबै मिलेर एकपक्षीय निर्णय थोपर्न मिल्दैन । मंगलसेन दरबारको ऐतिहासिक र पर्यटकीय महत्त्व सम्झाउँछन् अर्को पानामा । यो ध्वस्त भएको दरबार पुनर्निर्माण गर्न सरकारलाई दबाब दिने कुरा गर्छन । कस्तो नमिलेको । ध्वंस आफूले गर्ने पानीमाथिको ओभानो भएर अरूलाई उपदेश दिने । लेखकसँग विमतिमा उभिन्छ मन ।
संकीर्ण राजनीतिक चेतसँग लेखक पनि थाकेको देखिन्छ । ठाउँठाउँमा, मारिएका आफ्ना कार्यकर्ता र सेनाप्रति बराबरी संवेदनशील भएका छन् । यो भने सकारात्मक कुरा हो । सिन्धुलीमा पुग्दा, आठ सालमा दिल्ली सम्झौताको विरोध गर्दा मारिएका नेपाली कांग्रेसका बाबुराम बरालको सालिक देखर प्रसन्न भएका छन् । कांग्रेस, एमाले र माओबादीले सहिदप्रति देखाएको साँघुरो भावनाप्रति दुःखी भएका छन् । यही साँघुरो स्कुलिङकै कारण नेपाली राजनीतिमा वैचारिक विविधता नअटाएको कुरामा लेखक खुल्दै गएका छन् ।
देशका हितका लागि ज्यान दिने सबै विचारका सहिदप्रति उनले देखाएको सम्मान मन छुनेछ । ‘जनयुद्धको’ गढ रुकुमको लुकुम गाउँ बदलिन नसकेकोमा मन दुखाएका पनि छन् । बाबुरामले सहिद परिवार भेटेका र सद्भाव देखाएका पनि छन् । तर, यतिले पुग्दैन । किन बद्लिएनन् गाउँहरू त यतिका मानिस बलि चढ्दा पनि । आत्मबोध अझै गहिराइमा पुग्नैपर्छ ।
राजनीतिक ताता–पिरा कुराबाहेक लेखक हृदय चञ्चल छ । खोटाङमा रातभर साकेला नाच्न नपाएकोमा चुकचुकाउँछन् । दस वर्षअघि भेटेको कालीकोट रेडियोको एउटा ठिटोको सम्झना उभिन्छ मेरो मनमा । उसले भनेथ्यो, ‘हिजो बच्चैमा जनयुद्धमा हिँडियो । जनवादी गीतबाहेक केही सुन्न पाइएन । आज मन लागेको गीत सुन्छु । मेरा लागि उदितनारायणको ‘मलाई यो जिन्दगीले चोट दियो गनीगनी’ भन्ने गीत बजाइदिनू है ।’ मान्छेले मनको रङ कहाँ लुकाउन सक्छ र !
भ्रमण टोलीसँगै हिउँमा रमाउँछन् । फोटो खिच्छन् । लोकभाकाको बखानमा भुल्छन् । ‘बाटो हानिएर तल झयो,’ ‘रिसले टुप्पीबाट धूवाँ आयो’ भनेका छन् । यस्ता अभिव्यक्तिले नियात्रामा जीवन भरेका छन् ।
हिजोको दिनमा कांग्रेस–कम्निस्टवाला पानी बाराबारको राजनीति गाउँगाउँमा छिर्यो । दलीय राजनीतिको एक रमाइलो दृष्टान्त भेटिन्छ पुस्तकमा । गोरखाको घ्याम्पेसालमा लेखकको टोली पुग्छ । यो ठाउँ कांगेसको गढ मानिएको ठाउँ हुन्छ । सबका सब व्यापारी पसल बन्द गरेर पिकनिक खान जान्छन् । आफूलाई सुन्न तयार नभएको जमातप्रति उनी आक्रोशित भएका छैनन् । बरु रमाइलोसँग कांग्रेस कम्निस्ट मनोभाव बयान गरेका छन् । यसले अब गरिने राजनीतिको क्षितिज फराकिलो होला कि, आस गर्ने ठाउँ दिन्छ !
हतारहतारमा रेल छोप्न दौडिएको जस्तो यात्राबाट पनि लेखकले धेरै कुरा टिपेका छन् । जनतालाई सुन्नुपर्ने जति भने सुनेका छैनन् । राजनीतिक संकीर्णताको काँडेतार चुँडाउन चाहेको मनोभाव भने ठाउँठाउँमा बुझिन्छ । योजनाबद्ध ढंगले गरिएको यो प्रयास प्रशंसालायक छ । सामाजिक सञ्जालको लाइक र सेयरको भरमा वैकल्पिक राजनीति गर्न तम्सने जमाना छ । लेखकको टोली हिउँ र सिरेटोले सेकिँदै नागरिकको दैलोदैलोमा पुगेको छ । अहिलेका लागि यही सुरुआत नै काफी देखियो । बाँकी गहिराइको यात्रा र आफ्नै माटोबाट निक्लिएको राजनीतिक दर्शन भने अझै पर्खाइको विषय हो ।प्रकाशित : कोसेली, चैत्र १, २०७६ १३:०१