संकटमा सल्यानी संस्कृति
अधिकांश युवा विदेश गए, गाउँमा बस्नेले सीप र संस्कृति सिक्न चाहेनन्
(सल्यान)
— ७५ वर्षीय विष्णुबहादुर बूढा त्रिवेणी गाउँपालिकास्थित पिमखोलाका पैसेरी नाचका
अगुवा हुन् । उनले झन्डै ३५ वर्ष विभिन्न मेला, पर्व र सार्वजनिक उत्सवमा पैसेरी नाचे । मगर समुदायको मुख्य नाच मानिने पैसेरी केही वर्षयता लोप हुँदै गएकोमा भने उनी चिन्तित छन् ।
‘हाम्रो
पुस्तासँगै पैसरी पनि सकिने हो कि,’ उनी भन्छन्, ‘युवाले सिक्नै चाहेनन् ।’ आधुनिक गीतसंगीत र प्रविधिका कारण युवापुस्ता पैसरीसहित विभिन्न सांस्कृतिक नाचबाट टाढिँदै गएको उनको गुनासो छ । मगर भाषामा ‘पै’ को अर्थ काठको कोसीको बिट र ‘सरी’को अर्थ गोलो आकार हो । ढिकुरे र लहरे नाचसमेत भनिने पैसेरी लस्करै गोलाकार नाचिन्छ । युवालाई संस्कृति हस्तान्तरण गर्न खोजे पनि अनिच्छुक हुँदा समस्या भएको पैसेरीका अर्का अगुवा मैसर बूढाले बताए । ‘बेरोजगारीका कारण अधिकांश युवा विदेश गए, गाउँमा बस्नेले पनि सीप सिक्न चाहेनन्,’ उनले भने, ‘हामीले गाएको गीत र नाच हेरेर मन बहलाउँछन्, सिक्नतिर भने ध्यान दिँदैनन् ।’ २०४३ मा काठमाडौं गई नाच देखाउँदा आफूहरू पुरस्कृत भएको समेत उनले सुनाए ।
पैसरी मात्र होइन, सोरठीले पनि कुनै समय सल्यानको पहिचान जोगाएको
थियो । अघिल्ला पुस्ताले बसाइँसराइ गर्ने क्रममा पूर्वी क्षेत्रबाट त्रिवेणी गाउँपालिकामा सोरठी
भित्र्याएको ६० वर्षीय चन्दबहादुर ओलीको सम्झना छ । उनका अनुसार त्रिवेणीको पिमखोलाबाटै जिल्लाभरि सोरठी फैलिएको हो । ‘कृष्ण र गोपिनीको प्रेमसम्बन्धलाई आधार बनाएर नाचिने सोरठीकै कारण पुर्खा देशभर
चिनिए,’ उनले
भने, ‘पुराना
लोकभाका, नाच र
बाजागाजासँग हाम्रो अस्तित्व जोडिएको छ ।’
ओलीका अनुसार सोरठीमा
मारुनी (महिला) ले घाँगर, चोली, धरो, रुमाल, केतुकीको कपाल र चुरापोते लगाउँछन् । पुरुषले भने दौरा–सुरुवाल, स्टकोट, कम्पनीमाला र शेली लगाएर नाच्छन् । सल्यानको चिनारी बोकेका बन्गाडी टप्पालगायत नाच, गीत र बाजागाजा पनि हराउन थालेकोमा उनको चिन्ता
छ ।
जिल्लाका १०
गाउँपालिकामध्ये त्रिवेणी गाउँपालिकाले भने स्थानीय संस्कृति संरक्षणका लागि
गाउँगाउँमा समूह बनाएको छ । विभिन्न चाडबाड, पर्व, मेलालगायत सार्वजनिक जमघटमा समूहले विभिन्न
लोपोन्मुख नाच, गीत, बाजालगायत प्रदर्शन गर्दै आइरहेका छन् । त्रिवेणीका ६ वडामा गठन भएका १५ समूहले गत बुधबार लुहाममा स्थानीय संस्कृतिको प्रतिस्पर्धा गरे । ४० देखि ७० वर्ष उमेर समूहका ज्येष्ठ नागरिकले युवापुस्तालाई समेत परम्परागत संस्कृति संरक्षणका लागि प्रेरणा दिएको गाउँपालिका अध्यक्ष
मानबहादुर डाँगीले बताए । भने, ‘मौलिक
संस्कृति हाम्रा चिनारी हुन्, संरक्षणका लागि कार्यविधि बनाएरै अगाडि बढ्ने
हाम्रो योजना छ ।’ उनका अनुसार गाउँपालिकाले प्रतिस्पर्धा गराएको यो पहिलो अवसर होइन । स्थानीय सरकार गठन भएसँगै बर्सेनि यस्ता प्रतिस्पर्धा गराइरहेको
उनले जानकारी दिए ।
कार्यक्रममा सहभागी
समूहले दिनभर झाँकी, गीत, नाच तथा बाजागाजाको प्रदर्शन गरे । आधुनिक बाजा र संगीतका कारण पुराना संस्कृति र नाच लोप भएको स्थानीय अगुवा धनवीर ओलीले जनाए । प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलले बन्गाडी, टप्पा, सोरठी र लहरे नाच जिल्लाको सम्पत्ति भएको जनाए । जिल्ला समन्वय समिति प्रमुख केशबहादुर विष्टले गाउँगाउँमा संस्कृति संरक्षण समूह गठन गरी जागरण ल्याउन जरुरी रहेको बताए । ‘मौलिक संस्कृति संरक्षण गरी पर्यटकको आकर्षणको केन्द्र बनाउन
सकिन्छ’ उनले भने ।प्रकाशित : फाल्गुन
१४, २०७६ ०७:५४