Wednesday, March 18, 2020

कुल्चिएको संस्कृति, बिर्सिएको इतिहास


कुल्चिएको संस्कृति, बिर्सिएको इतिहास
हिन्दु मान्यता अनुसार भगवान ब्रम्हाको वाणीको रुपमा लिइने मनुस्मृतिमा भनिएको छ कि, ‘तुच्छ बस्तुबाट पनि स्वर्ण निस्किन्छ भने निकाल्नु पर्दछ ।’ मानव समाजको पहिलो संविधानको रुपमा लिइने मनुस्मृतिमा रहेको प्रस्तुत अंशले संस्कृति र इतिहास प्रतिको जिम्मेवारी, उत्तरदायित्व र सम्मानको आवश्यकता बोधलाई दर्शाउछ । भन्नुको तात्पर्य यो हो कि, रुपान्तरण र विकास गर्न नसक्नु हाम्रो समस्या हो, तथापि इतिहास र संस्कृतिले सदैव बेग्लै रस बोकेको हुन्छ । समयको गतिशीलतासँगै केहि विगतहरु आज निरर्थक भए होलान् । यसो भन्दैमा तिनमा केहिपनि विज्ञान र सार्थकता नलुकेका र नभएका भने पक्कै होइनन् । 
अवलम्बन गर्नुपर्नेले निरन्तरता दिए पश्चात् जुनै कार्य पनि संस्कारको रुपमा विकास हुन्छ । राम्रो संस्कृतिको निरन्तरता र रुपान्तरण संस्कारको रुपमा कहलिन्छ भने राम्रो संस्कृतिमा धमिरा लागेपछि कु–संस्कार हुन्छ । नेपाली समाजमा त्यस्ता धेरै कु–संस्कारहरु विद्यमान् छन् । जुन पवित्र मान्यताले स्थापित भएता पनि आज अन्धविश्वासमा रुमलिएका छन् । सायदै यस्ता अन्धविश्वासबाट सबैभन्दा पीडित लक्षित समुह महिला हो । जसका पक्षमा पुर्खाले एउटा रित बसाल्न खोजे तर, आज ठिक विपरित हुन गयो । महिनावारी हुँदा शारिरीक अवस्था कमजोर हुने, कामकाज गर्न गाराे हुने तथा आराम गर्नुपर्ने आवश्यकताका आधारमा छोएको अरुले नखाने, बसेको ठाउँमा गएर अनावश्यक तनाव सिर्जना नगर्ने आदि उदेश्यले छुन नहुने र परै बस्नुपर्ने मान्यता विकास भयो । तथापि त्यसलाई पकाउन तथा छुन नहुने तर बाहिरको काम बेस्करी गर्न हुने र छाउगोठमा बस्नुपर्ने कुरितिमा पारिणत गराइयो । 
सुत्केरी अवस्थामा करिब १ महिना शारिरीक आरामको आवश्यकतालाई मध्यनजर गरेर पानी नचल्ने भनी एउटा उद्देश्यका साथ थिति निर्माण गर्न खोजेको पाइन्छ । तथापि मानिसहरुले यसलाई पानी नचल्ने तर घाँसपात, हलो, कोदालो, डोको नाम्लो गर्न हुने विपरीत थिति बसाले । यि दुई उदाहरणीय प्रसंगलाई केलाउँदा यो समाजमा सबैभन्दा पछि पारिएको र परेको जात, वर्ग जे–जे भनेता पनि महिला नै हो । यसर्थ सबैभन्दा बढी सामाजिक न्याय र समानता तथा सामाजिक सुरक्षा र संरक्षण महिलालाई नै आवश्यक देखिन्छ । 
हामीले जसरी महिलाका केहि पक्षलाई गलत परम्परामा विकास गर्दै गयौँ । ठिक त्यसैगरी मानव सभ्यताको विकास भएको पूर्वी एसियाबाट विकसित पूर्वीय दर्शनलाई पनि भुल्दै गएका छौँ । हुनत द्विविधा पनि छ ! श्रीमद् भागवत पुराण, गीता, वेद, महाभारत, रामायणलाई दर्शन, कथा वा इतिहास के मान्ने ? दैवी शक्ति, युग र समयको प्रसंगले आधुनिक चलचित्रहरुमा प्रयोग भएको भन्दा अत्याधुनिक प्रविधिको झल्को दिने गर्दछ ।
वास्तवमा आजभन्दा अघि यो सम्भव होला र ? नभए कथा मान्नुको विकल्प पनि त रहेन ! जे होस यि सबै कुरा विश्वासमा अडिएका हुन् । विश्वासले पनि कतिपय बिषयमा चाहिँ राम्रो संंस्कृतिको स्वरुप प्रदान गरेको पाइन्छ । धर्म, संस्कृति, चाडपर्व आदि सबैले विश्वासमा आधारित पहिचान बोकेका हुन्छन् । धार्मिक सम्प्रदायबीच आजको समयमा जतिपनि द्वन्द्व देखिन्छ, यसको मुख्य कारण भनेको संस्कारको विखण्डन नै हो । किनकि कुनैपनि धर्मको सार भनेको सत्य, अहिँसा, उपकार, दान, सहयोग, माया, स्नेह शिवाय अरु हुनै सक्दैन । संस्कृति र चाडपर्वको मुख्य ध्येय आफन्त, साथिभाई भेला भई आपसी सुख र दुःख साथै भाइचारा साटासाट गर्नुको विकल्पमा अरु केहि हुन सक्दैन । 
धार्मिक र सांस्कृतिक विचलनको रुपमा हाल भएका धर्मको मर्म विपरित एक आपसमा द्वन्द्व र हाम्रा मौलिक संस्कृति तथा चाडपर्वमा पश्चिमा संस्कृतिको प्रभावले गुम्न पुगेको मौलिकता हो । जसलाई हामीले कुल्चिएर अघि बढ्न थाल्यौँ । 
इतिहास आफैँमा जित्नेले लेख्छ । अर्थात् इतिहासमा विजयको गौरवले बढी राज गर्ने गर्दछ । तर आज हाम्रो परिवेसमा इतिहासको अवमुल्यन भइरहेको छ । इतिहास बिर्सिनु वा इतिहासको मूल्य नै नबुझ्नु बिडम्बना हो । समाज र राज्यलाई कुनै सुत्रमा डोहो-याउने काम राजनीतिले गर्दछ । राजनीतिका पात्रहरुले गर्ने व्यहारबाट समाजको कार्यदिशा तय हुने गर्दछ । नेपालमा वि.सं. १९१० मा जंगबहादुर राणाले दरबार हाइस्कुलको स्थापना गरी औपचारिक शिक्षाको थालनी गरेको पाइन्छ भने पञ्चायतकालिन समयमा शिक्षा आर्जन गरेकाहरुबाट नै आज राज्य संचालन भइरहेको छ । तर आजको शिक्षाको खस्कँदो स्तरलाई विश्लेषण गरी गुणस्तरीय शिक्षाको उपलब्धता र शिक्षाको व्यापारीकरण रोक्न नसकेर इतिहासलाई यो वा त्यो कालखण्डका नाममा दोष लगाउन मिल्छ
जहाँनीय शाह वंशीय राजसत्ता नागरिक बलमा ढालिएको सत्य हो । तथापि एउटा बिराउने शाखा पिराउने जस्तै गरि कसैसँगको राजनीतिक र रणनीतिक मत भिन्नताका आधारमा नागरिकको हवला दिएर राष्ट्र निर्माता पृथ्वीनारायण शाहको शालिक तोड्न मिल्छ ? हाल पनि विकासको नमुना मान्न सकिने राजा महेन्द्रले निर्माण गरेको राजमार्गको नाम नै परिवर्तन गर्नुपर्ने आवश्यकता हो त ? त्यहि राजमार्ग किनारामा रहेको उनैको शालिक तोड्नु कुन मानसिकताको उपज हो ? जहाँनीया राणा शासन नागरिक स्वतन्त्रताको विपक्षमा थियो, जसमा शंका छैन । तथापि इतिहासलाई एउटा सिकाइको रुपमा लिनुपर्छ । 
यो होइन कि, तिनै चन्द्र शमसेरले बनाइदिएको भूकम्पले भत्काएको सिंहदरबारको छानोमा प्लाष्टिक ओडाएर शासन संचालन गर्दै राणा शासनले देश बर्बाद ग-यो ! यो होइन कि वि.सं. २०२९ सालमा बनेको राजमार्गमा सवारी जाममा परेका नागरिकको बीचबाट साइरन बजाएर सभामा निस्किएर भाषण गर्दै महेन्द्रकालिन शासनले देश पछि प-र्यो ! समय र जनसंख्याको परिवर्तनसंगै सडक विस्तार गर्न तथा शासन संचालन गर्ने र शासक बस्ने संरचना बनाउन कस्ले रोक्यो ? इतिहासको दोहन गरेर इतिहासलाई नै गलौज गर्न जो कोहिलाई पनि छुट हो, लोकतन्त्रमा ?
जनजिब्रोमा एउटा भनाई छ, राजनीति र कर्मचारीतन्त्र दुवै खराब भए । हो खराब भए तर कर्मचारीतन्त्रले राजनीतिले बनाएका कानून, नीति, योजना र कार्यक्रम कार्यान्वयन गर्ने हो । राजनीतिक प्रणाली र त्यसका पात्रमा आदर्श र नैतिकता नडगमगाउने हो भने कर्मचारीतन्त्र आफैँ सुधार हुन्छ । नेताहरुले बारम्बार अहिलेको संरचना भत्काउनुपर्छ भनेको सुनिन्छ । भत्काउने भनेको के ? योजनामा कि, लहडमा ? कि विश्वमा नै हालसम्म पत्ता नलागेको कर्मचारीतन्त्रको विकल्प नेपालमा पत्ता लागेको पक्कैपनि हैन होला । यसर्थ कर्मचारीतन्त्रको सुधारका लागि सबैभन्दा पहिले राजनीतिक व्यवस्था र पात्रहरुमा आदर्श र नैतिकता स्थापित हुनुपर्दछ ।
जसकालागि वर्तमान राजनीतिक संस्कारलाई पहिले भत्काउनुपर्दछ । यस्तो राजनीतिक संस्कार निर्माण गर्नु पर्दछ, जसले इतिहासको सम्मान गर्न सकोस्, संस्कृतिको जगेर्ना गर्न सकोस्, आदर्श र नैतिक मुल्य स्थापित गर्न सकोस्, सभ्य, समृद्ध र समुन्नत समाजको निर्माणको अभिभारा लिन सकोस्् । 


धर्म, संस्कृति र जीवनको बहस

  धर्म , संस्कृति र जीवनको बहस अरूणा उप्रेति अनलायन खबर,   २०७७ साउन १८ गते १०:३४ ‘ नो वर्त प्लिज’ गीतको बोललाई लिएर मैले हिन्दु ‘जागर...