हिमालयमा ‘महाखेल’
दलाई लामा अहिले भारतको
अरुणाचल प्रदेशदेखि कश्मीरसम्म मुख्य रूपमा फैलिएको हिमालय ग्रेट गेम अर्थात
महाखेलका मुख्य खेलाडी हुन् । लामा सन् १९५९ मा तिब्बत छोडेपछि यस खेलको केन्द्रमा रहे । विशेष गरेर चीन, भारत र अमेरिकाबीच चलिरहेको यस खेलमा तिब्बती
मूलका मानिसहरू बसोबास गर्ने भूटान, नेपाल, सिक्किम र स्वयं तिब्बत पर्छन् ।
तिब्बतका राजा तथा
गेलुक्पा समुदायका धार्मिक नेताका रूपमा उनी अमेरिकी गुप्तचर संस्था सीआईएको
सहयोगमा भारतको असम राज्यको तेजपुरमा शरणार्थीको रूपमा आएका थिए । भारतका तत्कालीन प्रधानमन्त्री जवाहरलाल नेहरूले उनलाई शरण दिए, जसबाट
चीन रिसायो ।
यस अघि दलाई लामाले सन्
१९५१ मा बेइजिङमा तिब्बतको शान्तिपूर्ण भूमिकाका लागि चिनियाँ सरकारसँग सम्झौता
गरेका थिए, जसबाट
तिब्बतमाथि चीनको सम्प्रभुता कायम छ भन्ने देखिन्छ । तत्कालीन भारतका लागि अमेरिकी राजदूतले सो सम्झौता दबाबमा भएको भन्ने वक्तव्य दिए मात्र दलाई लामालाई भाग्न सहयोग गर्ने बताएको कुरा भारतीय विदेश मामलाका
जानकार तथा कूटनीतिज्ञ फुन्चोक स्टोबडानले बताएका छन् । उनको हालै प्रकाशित पुस्तक ‘दि ग्रेट गेम इन द बुद्धिष्ट हिमालय’ मा विशेष गरेर तिब्बत मामलामा भारत, चीन र अमेरिकाबीच रणनीतिक प्रभुत्वका लागि हुने
प्रतिस्पर्धाको चित्रण गरिएको छ । दलाई लामालाई भारतले शरण दिए पनि नेहरूले एक चीनको नीति अँंगाले भने अमेरिकाले पनि औपचारिक रूपमा एक चीनकै नीति अँगालेको छ ।
आखिरमा तिब्बत प्रश्न के
हो ? यो यति पेचिलो छ कि जसका बारे चीन अत्यन्त
संवेदनशील छ । भारतमा दलाई लामालाई धार्मिक गतिविधिमात्र
गर्न दिने सर्तमा राखिएको छ । तर दलाई लामाले निर्वासित सरकार चलाइराखेका छन् । अमेरिकाले तिब्बत मामला विशेष गरेर धार्मिक स्वतन्त्रता र मानव अधिकारको प्रश्न उठाउने गरेको छ । नरेन्द्र मोदी भारतको प्रधानमन्त्री बनेपछि आफ्नो सपथ ग्रहण समारोहमा निर्वासित सरकारका प्रधानमन्त्री लोभसाङ साङ्गेलाई
बोलाए, चीनसँग
सीमा विवाद रहेको अरुणाचल प्रदेशको थवाङमा दलाई लामालाई भ्रमण गराए ।
दलाई लामामात्र होइन, १७ औं कर्मापा उर्गेन थिन्ले दोर्जीले पनि थवाङ
भ्रमण गरे । छैटौं दलाई लामा जन्मिएको अरुणाचल प्रदेश सम्पूर्णलाई चीनले दक्षिण तिब्बत भनी आफ्नो दाबी गर्दै
आएको छ । तर भारतले ब्रिटिस इन्डियाले कोरेको सीमा म्याकमोहन लाइनलाई नै दाबी गर्दै आएको छ । यसरी हिमालयको महाखेल भारत–चीन सीमा विवादसम्म तानिन्छ । अरुणाचल प्रदेशमा भारतले केही छुट दिए अक्साई चीनको सीमा विवादमा चिनले सोच्ने कुरा प्रकाशमा आइसकेको छ । तर दुई वर्षअघि चीनको उहानमा नरेन्द्र मोदी र सी चिनफिङ बीचको वार्तापछि भारत तिब्बत कार्ड खेल्नबाट पछि हटेको छ । यस बैठकपछि प्रधानमन्त्री नरेन्द्र मोदीले दलाई लामालाई आफ्नो कार्यालयमा बोलाएर सम्झाएको थिए । जसबाट दलाई लामा गम्भीर र विचलित भएको उनका भाइ नेग्री रिम्पोचेले
बताएको कुरा यस पुस्तकमा उल्लेख छ ।
वास्तवमा हिमालयमा
महाखेल ब्रिटिस इन्डियाले तत्कालीन रूस विरुद्ध खेलेको थियो । ब्रिटिस इन्डिया हिमालय बारेमा पनि खेल खेल्न सकिन्छ भन्ने विश्वास गर्थ्यो । जसका लागि सन् १९०१ मा उसले ब्रिटिस अधिकारी योङ हसब्यान्डको नेतृत्वमा तिब्बत मिसन
पठाएको थियो, जहाँ
युद्ध भयो । यही ब्रिटिस इन्डियाको खेललाई सन् १९४७ पछि भारतले उत्तराधिकारीका रूपमा लिएको हो । जुन अहिले वर्तमान दलाई लामाको निधनपछि हुने १५ औं दलाई लामाको चयनमा केन्द्रित देखिन्छ ।
वर्तमान दलाई लामाले आफ्नो पुनर्जन्म वर्तमान चीनको भूभागभन्दा बाहिर हुने बताएका
छन् । यसर्थ हिमालय क्षेत्रमा उनको पुनर्जन्म हुनसक्छ । अमेरिका तिब्बत प्रश्नलाई जीवितै राख्न चाहन्छ ।
हुन त डोनाल्ड ट्रम्प
राष्ट्रपति बनेदेखि दलाई लामाले भेट्ने कार्यक्रम रोकिएको छ । उनी अमेरिकी विदेश नीतिको प्रजातन्त्र र मानव अधिकारको प्रश्नबारे रुचि त्यति नराख्ने भएकोले तिब्बत मामलामा अमेरिकी प्रशासनले केही गर्नसकेको छैन । तिब्बतको स्वतन्त्रताको प्रश्नलाई लिएर ७० को दशकमा अमेरिकाले तिब्बती गुरिल्लाहरूलाई प्रशिक्षण र हातहतियार उपलब्ध गराएको थियो । नेपालको मुस्ताङ पनि यो गुरिल्ला द्वन्द्वको चपेटामा पर्यो । तर १९७२ मा अमेरिकी राष्ट्रपति रिचर्ड निक्सनले चीनसँग सम्बन्ध सुधारेपछि यो क्रम रोकियो । तर अमेरिका अझ पनि तिब्बत र ताइवान जस्ता समस्याहरूबाट चीनलाई सताउन सकिन्छ भन्ने विश्वासमा छ । तिब्बत प्रश्न हिमालयमा कसको रणनीतिक प्रभुत्व हुने हो भन्ने विषय हो ।
चीन दलाई लामाको निधनपछि
आफ्नो दलाई लामाको आविष्कार गर्न चाहन्छ । दलाई लामाले तिब्बतको स्वतन्त्रताभन्दा स्वायत्तताको कुरा उठाइरहेका छन् । तर चीन भने दलाई लामासँग वार्ताभन्दा उनको
मृत्युलाई कुरेर बसिरहेको छ । यदि वर्तमान दलाई लामाको निधनपश्चात तिब्बत प्रश्नमा अरु दलाई लामाहरू प्रभावकारी हुन सक्दैनन् । वर्तमान दलाई लामा इतिहासका साक्षी हुन् । बाहिरी संसारमा आएर नोबेल शान्ति पुरस्कारसम्म पाए ।
एक अमेरिकी लेखकका
अनुसार वर्तमान दलाई लामाले संसारलाई जिते, तर चीनसँग हारिरहेका छन् । हिमालयमा दलाई लामा गेलुक्पा सम्प्रदायका नेता हुन् । तर यहाँ प्रभावशाली ङिङमापा, कर्ग्युपा र साक्यपा सम्प्रदायहरू पनि छन् । यही क्रममा १६ औं कर्मपाको दुइटा पुनर्जन्म भएपछि १७
औं दुई कर्मापा थाए दोर्जी र उर्गेन दोर्जीको धार्मिक राजनीति पनि हिमालय
महाखेलसँग जोडिन्छ । दुवै कर्मापाले फ्रान्समा भेटी आ–आफ्नो प्रतिस्पर्धाभन्दा पनि सम्प्रदायको बारेमा सोच्नुपर्ने बताउँदै आएका छन् । तिब्बतबाट भागेर आएका उर्गेनलाई चिनियाँ सरकार र दलाई
लामाको समर्थन छ । दलाई लामाले निधनपछि कर्मापाको भूमिका महत्त्वपूर्ण हुने बताउँदै आएका छन् ।
हिमालय क्षेत्रमा
तिब्बती बौद्धहरूका अन्तरसामुदायिक द्वन्द्व पनि छ । भूटान कर्ग्युपा साम्प्रदायलाई मान्ने राज्य हो । लेखकले हिमालयको महाखेलमा सन् १९९० मा भूटानबाट खेदिएका १ लाख नेपाली मूलका मानिसका बारेमा
केही उल्लेख गरेका छैनन् । जुन हिमालय भित्रकै राजनीति थियो । दलाई लामालाई चिनियाँ सम्राटहरूको स्वीकृति र संरक्षणमा तिब्बतमा शासनको प्राधिकार दिएको कुरा उल्लेख गर्दै लेखकले तिब्बत प्रश्नमा दलाई लामा संस्थामात्र पूर्ण नहुने बताउँछन् । भारतको समकालीन तिब्बत नीति अमेरिकाहरूले ‘हाइज्याक’ गरेको बताउँछन् ।
वर्तमानमा तिब्बत
प्रश्नमा अमेरिकी संलग्नता बढ्दै गएको तर भारतसँग ब्रिटिस इन्डिया जत्तिको हिमालय
रणनीति नभएको टिप्पणी गर्छन् । सन् ९० मा सोभियत संघको विघटनबाट त्यस्तै परिवर्तन चीनमा आउने आशा राखेका थिए, दलाई लामाले । जुन तिब्बत मामिलामा आफ्नो अनुकूल हुनसक्ने अनुमान थियो । अमेरिकी प्रशासनले मानव अधिकार र प्रजातन्त्रमा जोड दिएकोले पनि उनी उत्साहित थिए । तर त्यस्तो भएन । तिब्बत प्र्रश्न ऐतिहासिक सम्बन्ध, दलाई लामा संस्थाको चीनसँगको अन्योन्याश्रित
सम्बन्ध र भूरणनीतिक हिसाबले मंगोलियाको बौद्ध धर्मसँग दलाई लामाको सम्बन्धसँग पनि
जोडिएको छ । यसर्थ आज हिमालयमा व्यापक परिवर्तन आएको छ । यो विशेष गरेर चीन र भारत बीचको सीमा विवाद, व्यापार सम्बन्ध र सुरक्षाको प्रश्नसँग जोडिएको
छ । ७० वर्षअघि
हिमालयमा चार राजतन्त्रहरू थिए ।
तिब्बत, नेपाल, सिक्किम र भूटान, सबैमा धर्मलाई पहिचान बनाउने राजाहरू थिए । तिब्बत १९५९ मा चीनमा समाहित भयो । सिक्किम जनमत संग्रहमार्फत सन् १९७५ मा भारतमा गाभियो । नेपाल हिन्दु राजाको शासन अन्त्य गरेर गणतन्त्रमा प्रवेश गर्यो । आज भूटानमात्र हिमाली तिब्बती बौद्ध धर्ममा आधारित राजतन्त्र छ । यी मध्ये एक दलाई लामाको शासन तिब्बतमा फर्कन कुनै सम्भावना अहिले देखा पर्दैन । शक्तिशाली हुँदै गएको चीन यो प्रश्नलाई आफ्नै ढङ्गले व्यवहार गर्न चाहन्छ ।
आज चीन र भारत मिलेर
बौद्ध धर्मको संरक्षण विस्तारको योजना ल्याइरहँदा पनि हिमालयमा महाखेल अझै सकिएको
छैन । ब्रिटिस इन्डिया सम्पूर्ण हिमालयलाई बफर भूमि सम्झन्थ्यो । तर सन् १९६२ को भारत–चीन युद्धपछि हिमालय क्षेत्र तनावग्रस्त बन्यो । अहिले भारत र चीन सम्बन्ध सुधारको क्रममा रहे पनि हिमालय क्षेत्र
दुवै राष्ट्रको राष्ट्रिय सुरक्षा र भू–राजनीतिमा प्रमुख रूपले खेल मैदान भने
बनेकै छ ।
प्रकाशित : कान्तिपुर, माघ ११, २०७६ ०८:२१