छाउपडीको मानवशास्त्र
अफ्रिकी मुलुक तान्जानियाको एउटा रोचक लोककथाको
सार छ— एक पटक वर्षायाममा ठूलो पानी पर्यो र खोलानाला निकै बढे । जताततै पानी–पानी भरियो । बाढी यस्तो आयो कि रूखको टुप्पामा पुग्न सक्ने बाँदर बाहेक सबै डुब्न पुगे । स्थिति साम्य भएपछि बाँदरहरूले तल जमिनमा हेरे र त्यहाँ माछाहरूलाई
पानीमा पौडिरहेको देखे ।
एउटा लालबुझक्कड बाँदरले
उसका साथीहरूलाई भन्यो, साथीहरू
तल हेर, ती
प्राणीहरू डुबिरहेका छन् । अरूले पनि होमा हो मिलाए । लालबुझक्कडले भन्यो, ‘सायद यिनीहरू पनि डुबे, किनकि यिनीहरूका खुट्टा रहेनछ । विचरा यिनले आफूलाई कसरी बचाउन् ?’ उनीहरूले
ती माछालाई डुब्नबाट बचाउने निर्णय गरे । त्यसपछि बाँदरहरूले माछालाई पानीबाट एक–एक गरी झिकेर किनारमा राखे । एकछिनपछि त्यहाँ माछाको थुप्रो लाग्यो । एउटा उपबुज्रुक बाँदरले भन्यो, ‘हेर
यी थाकेका थिए र अब आरामसाथ सुतिरहेका छन् ।
यदि हामी नभएको भए यी
खुट्टा नभएका माछा सबै डुबेर मर्थे ।’ अर्कोले भन्यो, ‘होइन, यी सबै हामीबाट तर्किन खोजिरहेका छन् । किनकि यी माछाहरूलाई हामीले भलाइ गर्न खोजेको हो भन्ने थाहै छैन । जब यी ब्युँझिन्छन्, यिनीहरू हामीहरूप्रति आभारी हुनेछन् । किनभने त्यतिबेला यिनीहरूलाई थाहा हुनेछ कि हामीले यिनीहरूलाई मुक्ति दिएका छौं ।’ यो कथा अहिले निकै चर्चामा रहेको छाउपडी प्रथा र छाउगोठ भत्काउने अभियानसँग सान्दर्भिक लागेकोले यहाँ साभार गरिएको हो । यस सन्दर्भमा यस लेखमा कुरीति मानिएको छाउपडी प्रथा र यसलाई सम्बोधन गर्न गरिएको प्रयासहरूबारे मानवशास्त्रीय विश्लेषण गर्ने जमर्को गरिएको छ ।
महिनावारीलाई मानव
संस्कृतिको एउटा प्राचीन संस्कारको रूपमा मानिन्छ । यससँग सम्बन्धित विश्वास र मूल्यहरू संस्कृति अनुसार फरक–फरक पाइन्छन् । त्यही विश्वास र मूल्यका आधारमा समाजहरूमा विभिन्न खाले अभ्यासहरू पाइन्छन् । यदि कुनै समाजमा महिनावारी भनेको अपवित्र अवस्था हो भन्ने विश्वास छ भने त्यसले विभिन्न बन्देजका प्रचलनहरू जन्माउँछ । त्यो मध्येको एक हाम्रो समाजमा रहेको छाउपडी पनि हो । मानवशास्त्रीय अन्तर–सांस्कृतिक अध्ययनहरूले (जस्तै बकले र गोटलिबको ‘ब्लड म्याजिक : द एन्थ्रोपोलोजी अफ मेन्सट्रुएसन’) के
देखाएका छन् भने महिनावारी सम्बन्धी निषेधहरू विश्वव्यापी सांस्कृतिक प्रचलन
(कल्चरल युनिभर्सल) हुन् ।
केही संस्कृतिहरूमा
यसलाई नकारात्मक रूपमा हेरिएको छ भने अन्यमा यो महिलाको सकारात्मक अनुभवको रूपमा
रहेको छ । सकारात्मक रूपमा महिलालाई महिनावारी हुँदा एक
विशिष्ट अवस्था प्राप्त हुन्छ, जहाँ महिला अनिच्छित यौनिक तथा घरेलु दबाब र
जिम्मेवारीबाट मुक्त हुन्छिन् । अमेरिकाका चेरोकी नाम गरेका आदिवासी समूहमा रजस्वलाको भइरहेका अवस्थाका महिलाहरूलाई अत्यन्त पवित्र र शक्तिशाली मानिन्छ । यसैगरी अमेरिकाकै न्युयोर्क आदिवासी समूहमा पनि हाम्रो छाउपडीजस्तै घर नजिकै एउटा सानो झुप्रो बनाएर महिनावारी अवधिभरि महिला छुट्टै बस्ने प्रचलन छ । यी महिलाहरूले त्यसलाई धेरै सकारात्मक अनुभवको रूपमा लिन्छन् । दक्षिण एसियाकै कुरा गर्ने हो भने मानवशास्त्री
ओ–वाइने मागीले उत्तर–पश्चिम पाकिस्तानको कलाशा उपत्यकामा गरेको अध्ययन अनुसार
त्यहाँका महिलाहरूको सामुदायिक महिनावारी घर हुन्छ, जसलाई पुरुषहरूले पनि सम्मान गर्छन् । यस घरले महिलाहरू बीचको लैङ्गिक एकतालाई बलियो
बनाउने स्थानको रूपमा कार्य गर्छ भन्ने निष्कर्ष उनले निकालेका छन् ।
माथिका अध्ययनहरूले के
सङ्केत गर्छन् भने महिनावारीको अवस्थामा महिलाहरू अलग रहनु नै समस्या हो भन्ने
निष्कर्ष सही नहुन पनि सक्छ । यद्यपि अनुभवले के देखाएको छ भने समाज जटिल हुँदै जाँदा र पितृसत्ता सुदृढ हुँदै जाँदा धर्मको आडमा महिनावारीलाई महिला दमनको एउटा महत्त्वपूर्ण हतियार
बनाइयो । विकसित मानिएका समाज–संस्कृतिहरूमा पनि महिनावारी सम्बन्धी कुनै न कुनै निषेधहरू (ट्याबु) देखिन्छन् । संयुक्त राज्य अमेरिकामा गरिएको एउटा सर्वेक्षणमा (बिलिङ्स एन्ड एट्टिच्युड अफ योङ गर्ल रिगार्डिङ मेन्सट्रुयसन–विलियम, १९८३) अधिकांश वयस्क र किशोर–किशोरीहरूले
महिनावारीलाई सार्वजनिक चर्चाका लागि अनुपयुक्त विषयको रूपमा बुझ्ने गरेको पाइयो । केटीहरूले केटाहरू र विशेषगरी पितासँग यस बारेमा कुरा गर्नु हुँदैन भन्ने धारणा पाइएको थियो । पछिल्लो एक अध्ययनमा (जस्तै थिंक्स भन्ने संस्थाले गरेको) अमेरिकामा ५८ प्रतिशत महिलाहरूले
महिनावारीबारे लज्जा महसुस गर्ने गरेको तथ्य देखाएको छ (इन्डिपेन्डेन्ट, ३ जनवरी २०१८) । यी तथ्यले के देखाउँछन् भने महिनावारीसँग सम्बन्धित निषेध र विभेदहरू थोरबहुत सबै समाजहरूमा पाइन्छन् ।
हरेक सांस्कृतिक प्रचलनहरूका
आफ्नै ऐतिहासिक, पारिस्थितिक
र सामाजिक सन्दर्भहरू हुन्छन् । विश्वास र प्रचलनहरूका आ–आफ्नै आधारहरू हुन्छन् । हाम्रो आँखाले हेर्दा छाउ सम्बन्धी विश्वास गैरतार्किक र अन्धविश्वास लाग्लान् । तर त्यही समूहको विश्व–दृष्टिकोण र समग्र परिवेशसँग जोडेर हेर्यो भने यसको आशय र अर्थ बुझ्न सकिन्छ । कानुनी दण्डको त्रास भए पनि छाउ नछोड्नाको पछाडि पाप र धर्म, दण्ड र वरदानको जस्ता सांस्कृतिक अवधारणाहरू
छन् । राज्यले धेरै गरे केही दिन पक्रेर राख्ला, जुन एक प्रकारले निश्चित अवस्था हो । तर उनीहरूका लागि देउता रिसायो भने कस्तो अनिष्ट हुनसक्छ, जसको जोखिम अनुमान गर्न सकिने खालको छैन । तसर्थ छाउलाई हाम्रो नभएर उनीहरूको आँखाले हेर्न र बुझ्न पनि आवश्यक छ । पवित्र–अपवित्र, कु–संस्कार, हिंसा, रूढिवाद आदि सापेक्षिक अवधारणाहरू हुन् । अर्को अर्थमा यी सामाजिक निर्माण (सोसल कन्सट्रक्ट) हुन् ।
सामान्यतया शक्तिशाली
समूहहरूले यस्ता अवधारणको निर्माण गर्छन् र आफ्नो विचार र व्यवहारलाई असल र
अर्कोलाई कमसल भन्ने ‘लेबल’ लगाउँछन् । छाउ र नछुने भएको बार्ने अभ्यास रूपमा फरक भए पनि सारमा लगभग एकै हो भन्न सकिन्छ । सम्भ्रान्तहरू महिनावारी बार्दा संस्कार हुने कमजोर समूहले अर्को तरिकाले त्यो
अभ्यास गर्दा कुरीति हुने भन्ने तर्क जायज मान्न सकिन्न । मानवशास्त्रीय भाषामा यसलाई सांस्कृतिक–पूर्वाग्रह (एथ्नोसेन्ट्रिजम) भनिन्छ । तसर्थ सांस्कृतिक र सामाजिक न्यायको दृष्टिकोणमा छाउ प्रथालाई अपराधको रूपमा व्यवहार गरिनु उचित देखिन्न । यसको अपराधीकरणले यो समस्यालाई समाधान गर्ने नभई झन् जटिल बनाउन सक्छ ।
छाउगोठ भत्काउने, दण्डित
गर्ने र राज्यका सुविधाहरूबाट वञ्चित गर्ने जस्ता कार्यहरू यो समस्याको दीर्घकालीन
समाधान हुन सक्दैन । यसले महिलाहरूलाई झन् दोहोरो अन्यायमा पारिरहेको छ । एक हिसाबले ‘तावाबाट उफ्रेर भुंग्रामा’ भनेजस्तो अवस्था भएको छ ।
शताब्दियौंदेखि जरा गाडेर बसेको परम्परालाई उखेल्न त्यति सजिलो हुँदैन ।
छाउ प्रथा एक बहुआयामिक समस्या हो र यसलाई सम्बोधन गर्ने प्रयासहरू पनि बहुआयामिक हुन आवश्यक छ । सांस्कृतिक परिवर्तनहरू
स्वचालित र योजनाबद्ध वा सचेत प्रयासबाट दुवै तरिकाले हुन्छन् । सचेत वा योजनाबद्ध परिवर्तन त्यतिबेला मात्र सहज र दिगो हुन्छ, जब त्यो सांस्कृतिक रूपमा संवेदनशील हुन्छ । यसको अर्थ छाउपडी समस्यालाई सम्बोधन गर्नका लागि पहिला यसलाई त्यसको सांस्कृतिक सन्दर्भमा बुझ्नुपर्छ र सुहाउँदो संस्कृति–मैत्री नीति र कार्यक्रममार्फत
परिवर्तनका प्रयासहरू गर्न आवश्यक छ ।
छाउपडी जस्ता सांस्कृतिक
अभ्यासहरूलाई सामान्यतया चेतनाको अभावले गर्दा भएको हो भन्ने मान्यता छ, जुन मूल रूपमा पश्चिमी विकासे अवधारणाबाट
प्रभावित छ । निश्चय पनि शिक्षा र ज्ञान महत्त्वपूर्ण तत्त्वहरू
हुन् र ज्ञान शक्तिको एउटा स्रोत पनि हो । तर त्योमात्र पर्याप्त छैन भन्ने कुरो सहरी छाउले पनि प्रमाणित गर्छ । छाउ लगायतका परम्पराहरू सम्बन्धित समाज र समूहको सामाजिक र आर्थिक बनोटसँग अभिन्न रूपमा जोडिएका हुन्छन् ।
कसैबाट नलुकेको तथ्य के
हो भने छाउपडी त्यस्तो ठाउँमा जरा गाडेर बसेको छ, जुन हाम्रो देशको सबैभन्दा पछि पारिएको वा अति
सिमान्तीकृत भूगोल हो । एक अर्थमा छाउको निरन्तरता ऐतिहासिक रूपमा हाम्रो समाजमा रहेको क्षेत्रीय, लैङ्गिक र आर्थिक विषमता र शोषणको परिणाम हो भन्न
सकिन्छ । यो समस्याको जरो त्यहाँ रहेको चरम असमानता, भोक र गरिबीसँग जेलिएको छ । यस्तो सामाजिक विषमता र शोषणलाई भत्काउने सार्थक प्रयास नगर्नु, तर छाउगोठ भत्काउन तम्सनु भनेको छोटकरी बाटो
खोज्नु र परोक्ष रूपमा जिम्मेवारीबाट पन्छिनु पनि हो । भौतिक छाउगोठ भत्काउन
खासै रचनात्मकता र समय नलाग्ला । तर यसको सामाजिक र सांस्कृतिक जरो उखेल्न धेरै रचनात्मक प्रयासहरू र धैर्य आवश्यक छ ।
सामान्यतया माथिबाट
थोपरिएका हस्तक्षेपहरूले समस्यालाई सम्बोधन गर्ने नभई यसको रूप बदल्ने र जटिलता
बढाउने गरेको देखिन्छ । रोगको कारणको निदान नगरी लक्षणहरूको उपचारले मात्र यसलाई निको पार्न सक्दैन । पर्याप्त अनुसन्धान, योजना
र विकल्पहरू बिना गरिएका परिवर्तनका प्रयासहरू असफल भएका उदाहरणहरू धेरै छन् । संरचनागत समस्याहरूको बोध, सांस्कृतिक संवेदनशीलता र सम्बन्धित
समुदायहरूको सम्मानजनक सहभागिता सहितको अभियान आवश्यक छ भन्ने तथ्य राज्य र अन्य
सरोकारवालाले जति छिटो बुझ्छन्, त्यतिनै छिटो यो समस्याको व्यावहारिक र दिगो
समाधान सम्भव हुन्छ । अहिले विशेषगरी राज्यतर्फबाट बलपूर्वक गरिएका प्रयासहरूले कतै माथिको अफ्रिकी लोककथालाई चरितार्थ गरिरहेको त छैन भन्ने सवाल खडा गरेको छ ।
थापा पृथ्वीनारायण
क्याम्पस, पोखरामा
(चिकित्सकीय) मानवशास्त्र अध्यापन गर्छन् । Kantipur, प्रकाशित : माघ ११, २०७६ ०८:२३