यही गीत गाउँदै रौरा मैदानमा निस्कन्छन् ।
बुढ्यौलीमा पनि मज्जाले गीत निकाल्छन् । त्यसपछि छोप्ने अन्य समूह हुन्छ । मजुरा
बजाउने र मादलेको तालमा कतिपय स्थानमा पुरुष पनि मारुनी बनेर नाच्छन् । कहींकतै
भने किशोरीलाई पनि मारुनी नाच्न सिकाइन्छ । ‘ तानसेन नगरपालिका, तीनपिपलेका ७८ वर्षीय ताराबहादुर गाहा मगर भन्छन्, ‘किशोरीहरूलाई पनि सिकायो भने राम्रो हुन्छ ।’ किशोरी
अनिला पल्ली र कृपा मश्राङ्गीले मारुनी नाच्न सिकेका छन् । चनबहादुर राना
पुरुसुङ्गे बनेर नाच्छन् । यमबहादुर थापा र भीमबहादुर कुँवर मगर मादले बनेर
उफ्रिएको हेर्न मज्जा हुन्छ ।
मगर समुदायमा लोकप्रिय सोरठी नाँच जोगाउन स्थानीय
बासिन्दाहरूले चासो देखाउन थालेका छन् । अघिल्लो पुस्ताबाट पछिल्लो पुस्तामा सीप
हस्तान्तरण गर्न नसकिएकाले यो नाच लोप हुने अवस्थामा पुगेपछि तानसेन नगरपालिका–९
तीनपिपलेका जनप्रतिनिधिहरू चिन्तित थिए । त्यसैले उनीहरू यसको संरक्षणमा जुटेका
हुन् । स्थानीय स्तरमा ‘मारुनी’ नाचका रूपमा चिनिने यो नाचको संरक्षण गर्न
कस्सिएका तानसेन नगरपालिका–९ तीनपिपलेका जनप्रतिनिधि तुलबहादुर गाहा भन्छन्, ‘यसलाई अन्तरपुस्ता हस्तान्तरण गर्नुपर्छ । त्यसैले
पनि पुन: नाच सुरु गरिएको हो ।’ यो नाच जिल्लाको पूर्वभेगमा बढी नाचिन्छ । यद्यपि
अहिले भने कतै–कतै मात्र यो नाच देख्न पाइन्छ ।
सोरठी तीजपछि सुरु भएर मंसिर पूर्णिमा र कतिपय
गाउँमा पुस १५ सम्म नाच्ने चलन छ । तानसेन नगरपालिका–९ तिनपिपलेका ८९ वर्षीय रौरा
हरिबहादुर कुँवरका अनुसार अहिलेको पुस्तालाई यसका विषयमा सिकाउन जरुरी छ ।
परम्परागत लोकोक्तिलाई भाका मिलाएर गाउनु यो नाचको
विशेषता हो । झन्डै तीन महिना नाचेपछि बन्द गर्नुपर्ने चलन छ । सुरु गर्दा
‘फुकाउने’ र बन्द गर्दा ‘बन्द गर्ने’ गीत गाउने चलन छ । सुरु गर्दा र बन्द गर्दा
अगुवा अर्थात् रौराको आवश्यकता पर्छ । गाउँका बूढापाकाहरूले मात्र यो नाच नाच्ने
सीप जानेका छन् भने संरक्षण पनि उनीहरूले नै गर्दै आएका छन्, तर जिल्लाकै कतिपय मगर गाउँमा भने सोरठी लोपोन्मुख छ
।