Friday, June 21, 2019

मगर गाउँमा सोरठी नाच

मगर गाउँमा सोरठी नाच
आश्विन २८, २०७५
सिकारै खेलन जाम, भैया लक्षुमन सिकारै खेलन जाम...ए अघि लागे रामजी पछि लागे लक्षुमन, शिकारै खेलन जाम.... भैया लक्षुमन सिकारै खेलन जाम, ए काँधै लिम्ला धनुकोण, काँधै लिम्ला थोकरा..शिकारै खेलन.....’
यही गीत गाउँदै रौरा मैदानमा निस्कन्छन् । बुढ्यौलीमा पनि मज्जाले गीत निकाल्छन् । त्यसपछि छोप्ने अन्य समूह हुन्छ । मजुरा बजाउने र मादलेको तालमा कतिपय स्थानमा पुरुष पनि मारुनी बनेर नाच्छन् । कहींकतै भने किशोरीलाई पनि मारुनी नाच्न सिकाइन्छ । ‘ तानसेन नगरपालिका, तीनपिपलेका ७८ वर्षीय ताराबहादुर गाहा मगर भन्छन्, ‘किशोरीहरूलाई पनि सिकायो भने राम्रो हुन्छ ।’ किशोरी अनिला पल्ली र कृपा मश्राङ्गीले मारुनी नाच्न सिकेका छन् । चनबहादुर राना पुरुसुङ्गे बनेर नाच्छन् । यमबहादुर थापा र भीमबहादुर कुँवर मगर मादले बनेर उफ्रिएको हेर्न मज्जा हुन्छ । 
मगर समुदायमा लोकप्रिय सोरठी नाँच जोगाउन स्थानीय बासिन्दाहरूले चासो देखाउन थालेका छन् । अघिल्लो पुस्ताबाट पछिल्लो पुस्तामा सीप हस्तान्तरण गर्न नसकिएकाले यो नाच लोप हुने अवस्थामा पुगेपछि तानसेन नगरपालिका–९ तीनपिपलेका जनप्रतिनिधिहरू चिन्तित थिए । त्यसैले उनीहरू यसको संरक्षणमा जुटेका हुन् । स्थानीय स्तरमा ‘मारुनी’ नाचका रूपमा चिनिने यो नाचको संरक्षण गर्न कस्सिएका तानसेन नगरपालिका–९ तीनपिपलेका जनप्रतिनिधि तुलबहादुर गाहा भन्छन्, ‘यसलाई अन्तरपुस्ता हस्तान्तरण गर्नुपर्छ । त्यसैले पनि पुन: नाच सुरु गरिएको हो ।’ यो नाच जिल्लाको पूर्वभेगमा बढी नाचिन्छ । यद्यपि अहिले भने कतै–कतै मात्र यो नाच देख्न पाइन्छ । 
सोरठी तीजपछि सुरु भएर मंसिर पूर्णिमा र कतिपय गाउँमा पुस १५ सम्म नाच्ने चलन छ । तानसेन नगरपालिका–९ तिनपिपलेका ८९ वर्षीय रौरा हरिबहादुर कुँवरका अनुसार अहिलेको पुस्तालाई यसका विषयमा सिकाउन जरुरी छ ।
परम्परागत लोकोक्तिलाई भाका मिलाएर गाउनु यो नाचको विशेषता हो । झन्डै तीन महिना नाचेपछि बन्द गर्नुपर्ने चलन छ । सुरु गर्दा ‘फुकाउने’ र बन्द गर्दा ‘बन्द गर्ने’ गीत गाउने चलन छ । सुरु गर्दा र बन्द गर्दा अगुवा अर्थात् रौराको आवश्यकता पर्छ । गाउँका बूढापाकाहरूले मात्र यो नाच नाच्ने सीप जानेका छन् भने संरक्षण पनि उनीहरूले नै गर्दै आएका छन्, तर जिल्लाकै कतिपय मगर गाउँमा भने सोरठी लोपोन्मुख छ । 
 प्रकाशित :आश्विन २८, २०७५

Societies of Nepal

 Societies of Nepal  Nepali society is incredibly diverse, shaped by over 142 distinct ethnic groups and multiple religious beliefs that oft...