Friday, June 14, 2019

एतिहासिक चिठी

एतिहासिक चिठी
इतिहास
तत्कालीन अंग्रेज रेसिडेन्स कोल्भिन र डा. लोगिनले सन् १८४६ सेप्टेम्बर १३ मा रेसिडेन्सि छोडे। रेसिडेन्स बिरामी थिए। फलस्वरूप क्याप्टेन ओट्टोले कार्यकारी रेसिडेन्ट बनाइए। यो उनै ओट्टोलेले तत्कालीन चौतारिया गगनसिंहको मृत्यु र कोतपर्वबारे बेलायती सरकारलाई सेप्टेम्बर १५ मा लेखेको चिठीको नेपाली अनुवाद हो।
महोदय,
१. म महामहिमका लागि सूचना दिन अलिकति पनि समय खेर फाल्न चाहन्नँ। यो निकै नै महत्वपूर्ण भएकाले नियमित डाँकको साटो एक्सप्रेसबाट पठाएको छु।
२. आज बिहान २ बजे दरबारका सुबेदार रेसिडेन्सीमा आई मलाई जगाए। निकै उत्तेजित अवस्थामा उनले चौतरिया गगनसिंहको हत्या भएको र महाराज रेसिडेन्सीभन्दा केही सय यार्डमात्र आफ्नो सानो टुकुडीसहित भएको र मलाई सूचना गर्न पठाएको जानकारी गराए। उनले आफ्नो मन्त्रीको मृत्युले महाराज निकै दुःखी भएर तुरुन्तै जाँचबुझका लागि भारदारहरूको सभा बोलाएको बताए। तुरुन्तै सेनाको टुकुडी पनि बोलाइएको र उनीहरू हतियारबन्द भएर उपस्थित भएको उनले बताए। मेरो विचारमा महाराज मसँग त्यो बिहान कुरा गर्न चाहन्थे तर म बाथले थला परेकाले मैले मिर मुन्सीलाई महाराजसँग कुराकानी गर्न पठाएँ। उनले ल्याएको सन्देश माथि उल्लिखित विवरणभन्दा केही बढी मात्र थियो।
३. आज बिहान ७ बजेलगत्तै महाराजबाट पठाइएर दरबारका मिर मुन्सीसँगै आएका जंगबहादुरका एक भतिजबाट यस्तो विस्मयकारी सूचना प्राप्त भयो: गत राति बोलाइएको भारदार सभा द्वन्द्वमा परिणत भयो जहाँ प्रधानमन्त्री फत्तेजंग शाह, सेनापति अभिमानसिंह रानालगायत मन्त्रिपरिषद् सदस्यहरू तथा अन्य भारदारहरू गरी बीस वा तीसभन्दा बढीको हत्या भयो।
उनीहरूले भनेका छन्, उहाँहरूले सामना गर्नु परेको यो दुर्भाग्यबाट महाराज निकै दुःखी हुनुहुन्छ। उहाँले अंग्रेज सरकार र आफूहरूबीच भएको मैत्रीपूर्ण सम्बन्ध नखल्बलिने विश्वास गर्नुभएको छ। सूचना निकै विष्मयकारी र सो भ्रमण निकै आकस्मिक थियो जसको जवाफका लागि म तयार नै थिइनँ। मैले सामान्य ढंगले नै दुई सरकारबीच पहिलेदेखि रहिआएको सौहार्दपूर्ण सम्बन्ध कायम रहने आशा गर्न सकिने, मभन्दा पनि महामहिम यो घटनाबाट अरूभन्दा बढी नै दुखी हुने जवाफ दिएँ। मलाई हालका लागि रेसिडेन्सीको कार्यभार जनरल जंगबहादुसँग कायम गर्न सूचित गरिएको छ। उनी वर्तमान मन्त्रिपरिषद्का एकमात्र जीवित मन्त्री हुन्।
४. सहरमा अहिले एकदमै आतंक सिर्जना भएको छ। सिंगो सहरभरि चोक र द्वारहरूमा हतियारबन्द सैन्य टुकुडी तैनाथ छन्।
५. भारदारहरूको सभामा कलह उत्पन्न हुनुको कारण वर्तमान महारानीका छोरा मृत्युको आक्षेप लगाइएको विषयलाई लिएर सुरु भएको बताइएको छ। तर, मसँग त्यति धेरै सूचना छैनन्। गतराति मारिएका केही भारदारको नाममात्रै म उल्लेख गर्न सक्छु जसमध्ये सादनरसिंह थापा पनि पर्छन्।
६. यो सामग्री निकै हतारमा तयार गरिएको छ। तर यो मूलतः सही भएको ठान्दछु।
(स्रोत: ‘लेटर्स फ्रम क्याटम्यान्डु: द कोट म्यासाकर:, लुड्विग एफ. स्टिलर, एस.जे.) अनुवादकः लक्ष्मण श्रेष्ठ

किरातको इतिहास : को हुन् किरात राई ?

  किरातको इतिहास : को हुन् किरात राई ? डा. भक्त राई , लोकपाटी न्यूज ६ माघ २०७६ , सोमबार किरात शब्द अनेक जातिहरूलाई बुझाउने पुञ्ज हो। कि...