Sunday, June 16, 2019

उभौली साकेला सिली मैझारो


उभौली साकेला सिली मैझारो
जेष्ठ ३२, २०७६डम्बरसिं राई
खोटाङ — ‘रुमालै चिनो साटौला, दुःख र सुख बाँडौला, बाँडौला लै लै बाँडौला ।अर्को साल फेरि भेटौला, साकेला सिली नाँचौला, नाँचौला लै लै नाँचौला ।।’
ढोल, झ्याम्टाको तालमा दिक्तेलको माटिकोरेमा शनिबार नाँचिएको उभौली साकेला सिलीमा गाइएको गीत हो यो । यो सँगै माझकिरात खोटाङमा यो वर्षको उभौली साकेला सिली मैझारो भएको छ 

किरात राई यायोक्खा, किरात सेवा समाज खोटाङले आयोजना गरेको उभौली साकेला सिली मैझारोमा बालबालिकादेखि पाकासम्मले साकेला सिली नाँचेका हुन् । किरातीहरुले वैशाखे पूर्णिमामा उभौली र मङ्सिरे पूर्णिमा उधौली गरी वर्षमा दुई पटक साकेला सिली नाच्ने गर्दछन् । यो बेला जलचर तथा थलचर जीवजन्तु उभौली लाग्ने भएकाले उभौली भनिएको किरात राई यायोक्खाका सचिव युगसन किरातले बताए । किरातका अनुसार उभौलीमा खेतीपाती राम्रो होस्, प्रकृति प्रकोप आइनपरोस लगायत कामना गर्दै प्रकृति पूजा आराधना गर्ने संस्कृति छ 

त्यस्तै उधौलीमा अन्नको सह बसोस्, अनिकाल नलागोस् भन्ने कामनाका साथ प्रकृतिको पूजा गर्ने चलन छ । यो बेला जलचर तथा थलचर जीवजन्तु उधौली लाग्ने भएकाले मङ्सिरे पूर्णिमाको दिनदेखि उधौली पर्व मनाउने गरिएको किरातले सुनाए । यो वर्षको उभौली साकेलाको अवसरमा विभिन्न ठाउँमा ऐतिहासिक रुपमा साकेला आयोजना गरिएको छ । दोर्पामा राष्ट्रियस्तरीय साकेला सिलीसमेत प्रदर्शन गरिएको छ । सोल्माको सतरीयाक्सुम साकेलाथानमा शतवार्षिक साकेला आयोजना गरिएको छ । त्यस्तै किरात ऐतिहासिक तुवाचुङ जायजुम, मझुवागढी लगायतका विभिन्न ठाउँमा साकेला सिली नाँचिएको हो 

साकेला सिली किरातीहरुले मात्र नभइ सबै जातजाति तथा धर्मका समुदायले समेत नाँच्ने भएकाले जातीय सहिष्णुता, एकता र भाइचाराको विकास गर्ने एउटा समृद्ध संस्कृतिको रुपमा विकास भएको जिल्ला समन्वय समिति प्रमुख बबि चाम्लिङले बताए 
प्रकाशित : Kantipur, जेष्ठ ३२, २०७६ १७:२४


Societies of Nepal

 Societies of Nepal  Nepali society is incredibly diverse, shaped by over 142 distinct ethnic groups and multiple religious beliefs that oft...