राष्ट्रिय नाटक महोत्सव–२०७६ : सर्वनाममा जयसराको बिहे
काठमाडौँ — संस्कृतिविद् एवं कवि तुलसी दिवसलाई
बुधबार कसैले मगर गीति नाटक हेर्न निम्तो दिए । साँझपख उनी राजधानीको
कालिकास्थानस्थित सर्वनाम थिएटर पुगे, जहाँ तीन दिनदेखि राष्ट्रिय नाटक महोत्सव
चलिरहेको छ ।
स्याङ्जाबाट आएका मगर
कलाकारहरूले लोक नाटक ‘जीवैमामा’ हेरेपछि उनले प्रतिक्रिया दिए, ‘मगर समुदाय भन्नेबित्तिकै मैले घाटु नाच
सम्झेको थिएँ, यहाँ
पहिलो पटक नयाँ लोकनाटक हेर्न पाएँ ।’ ग्रामीण भेकमा प्रचलित मगर विवाह पद्धति समेटिएको गीति नाटकको उनले प्रशंसा गर्दै थपे, ‘जयसराको
बिहेमा आज जन्ती आको जस्तो भयो ।’
जयसरा यो लोकनाटकको
केन्द्रीय पात्र थिइन् । मामाचेला विवाह गर्ने मगर समुदायको सिंगो कथा गीत र नृत्यमार्फत नै नाटकमा प्रस्तुत गरेका थिए कलाकारहरूले । केटीहरू नै मामा र भान्जा पक्ष बनेर सगुन राख्दै केटी मागेको, उमेरबारे
भलाकुसारी गरेको, जन्तीबिना
नै विधिपूर्वक घर भित्र्याएको, त्यसपछि महिलाहरूले लाहुरे नृत्य, घोडा र कलश नाच गरेको दृश्य निकै गरेको
लोभलाग्दा थिए ।
मगर अध्ययन केन्द्रको
प्रस्तुति र भीम मास्की रानाको निर्देशन रहेको यही नाटकमार्फत पहिलोपटक मगर
लोकनाटले राष्ट्रिय नाट्य महोत्सवमा प्रवेश पाएको हो । लोकनाटकमा धनी भएर पनि मगर भाषाको रंगमञ्च बलियो बन्न नसकिरहेको अवस्थामा ‘जीवैमामा’ ले आफ्नो भिन्न छाप छोडेकोप्रति मगर अध्येता तथा लेखक संजोग लाफा दंग थिए । ‘मगर लोकनाटक पहिलो पटक आधुनिक मञ्चमा आयो,’ उनले भने, ‘यो नै ठूलो उपलब्धि हो । यो लोकनाटकले पुरानो कृषि प्रणालीदेखि सिकार कथासम्मको पनि बयान गर्छ । तर, यहाँ
विवाहको पाटो मात्रै आएको छ ।’
नाटकमा वसन्त ऋतुको बेला
मगर समुदायले लामो समयदेखि अभ्यास गर्दै आएको प्रणय उत्सवको व्याख्या गर्छ । मगर संस्कृतिविद् मीन श्रीसका अनुसार फागुन पूर्णिमाको अघिल्लो साँझदेखि गाउँटोलको पायक पर्ने स्थान वा गाउँको प्रमुख व्यक्तिको घर आँगनमा युवतीहरू भेला भएर चार साँझसम्म यो लोकनाटक प्रस्तुत गरिन्छ ।
नाटकमा विवाहयोग्य उमेर
भएपछि मामाकी छोरी माग्न जाने, माइती–चेली पक्षबीच विवाहका विषयमा छलफल हुने, अनुकूल दिनको छनोट गर्न लामा झाँक्रीलाई पात्रो
हेराउने लगायतका पक्षहरू समेटिएका थिए । विवाहका बेलाको लाहुरे नृत्यले मगर समुदायमा गोर्खा भर्तीको महत्त्व प्रकाश पारेको
थियो भने घोडा नाच र कलश नाचले गण्डकी क्षेत्रको चौबिसे राज्यकालीन मगर सभ्यताको
झल्को दिलाएको थियो । संस्कृतिविद् मीनका अनुसार यो नाचमा महिलाहरूको सहभागिता बढी हुनुले मातृसत्तात्मक समाजको झल्को दिन्छ भने मगर समुदायमा रहेको महिलाको उच्च भूमिकाप्रति संकेत गर्छ ।
मगर भाषामै मञ्चन गरिएको
नाटकको गीति लय पनि अहिलेसम्म बाहिर नसुनिएको मौलिक थियो । गाउँबाटै आएका कलाकारहरूको शारीरिक चालको सुस्तता अर्ग्यानिक लाग्थ्यो । उनीहरूको अनुहारको भावको निर्दोषपनाले पनि लोकनाटकमा सौन्दर्य थपिदिएको थियो ।
‘नाटकमा
यस्ता संस्कृति आउनुपर्छ, यो
नेपाली रंगमञ्चको गहना हो,’ नाटक
हेरेपछि रंगकर्मी सुनील पोखरेलले भने । कौरा, मारुनी, घाटुजस्ता लोकनृत्यबाट मात्रै चिनिएको मगर
समुदायलाई यो लोकनाटक थप चिनाएको नेपाल संगीत नाट्य प्रज्ञा प्रतिष्ठानका नाटक
विभाग प्रमुख एवं प्राज्ञ निशा शर्माले बताइन् ।
नाटकमा दिलमाया राना, उमादेवी, रोशा सारु, रेमीसरा गाह, सुनीता राना, शोभा सिंह, सिर्जना गाह, तिलकुमारी राना, दौकई सिंह, कुन्ती रानालगायतले अभिनय गरेका थिए । प्रतिष्ठानले सोमबारदेखि थालेको महोत्सवको दोस्रो दिन
कलालयको प्रस्तुति एवं प्रज्वल पराजुलीको निर्देशन रहेको नाटक ‘ईश्वरलाई चिठी’
मञ्चन गरिएको थियो । बिहीबार जीवन बरालको निर्देशन रहेको नाटक ‘घरभित्रको अर्को घर’ मञ्चन हुँदै छ ।
प्रकाशित : Kantipur, असार ५, २०७६ ०९:१२