Friday, June 21, 2019

मगर समुदायको मारुनी नाच


मगर समुदायको मारुनी नाच जोगाउँदै युवा
मंसिर १९, २०७४
मगर समुदायमा नाचिने मारुनी परम्परागत संस्कृति मारुनी अर्थात् ठूलो नाच जोगाउन पछिल्लो समय युवाहरू सक्रिय रूपमा लागेका छन् । १० वर्ष अघिसम्म मगर समुदायको टोलटोलमा देखिने यस्तो नाच अहिले बिरलै देख्न पाइन्छ ।
तिनाउ–५ मरामकोटका युवा अहिले यही नाचको तयारी गर्दैछन् । परम्परागत संस्कृति संरक्षणमा कसैको ध्यान नजाँदा यस्तो नाच नाचिन छाडेको हो । ‘युवा पुस्ताले यसलाई झन्जटिलो मान्छन्,’ तिनाउ–५ मरामकोटका रौरा दलबहादुर दर्लामी भन्छन्, ‘बुढा पुस्ताले धानेकाले नै अहिलेसम्म कतैकतै नाचिदै आएको छ ।’ मेहनतका साथ देवी–देवताको भाकल गर्दै दसैंदेखि पुस १५ सम्म यो नाच नाचिन्छ । मनोरञ्जनका साधन केही नहुँदा भने टोलटोलमै यस्ता नाच नाचिने गरेको दर्लामीले बताए ।
यो नृत्य मनोरन्जनका लागि मात्र होइन, पराम्परागत कला–संस्कृति जोगाउनसमेत महत्वपूर्ण रहेको उनले बताए । पछिल्लो पुस्ताले यो नाच नाच्न सिक्न, यसको लयमा लय मिलाउन तथा मादलको तालमा नाच्नखासै ध्यान दिएको पाइँदैन । ‘सबै कुरा सिक्न निकै गार्‍हो छ,’ मारुनी नाच्ने युवा सन्तोषकुमार दर्लामी भन्छन्, ‘तैपनि हामी युवा पुस्ताले सिक्नुपर्छ भन्ने मान्यतामा छौं ।’
पाल्पा जिल्लाको मस्याम, कोलडाँडा, फोक्सिङकोट, जल्पा, सिलुवा, गल्धा, बहादुरपुर आदि गाउँमा अहिले पनि यो नाच कहिकतै देख्न पाइन्छ । मस्यामका युवा शिक्षक गणेश दर्लामीका अनुसार मारुनी परम्परागत नाच हो । पुरुषलाई महिलाको कपडा पहिराएर मारुनी बनाएर मादलको तालमा यो नाच नाचिन्छ । पुराना पौराणिक कथाहरूमा आधारित गीत गाएर नाचिने यो नृत्य मगर जातिको संस्कृति भएको दर्लामीले बताए । यो नाच प्राय: सबै ठाउँमा सबै जातिले अपनाएको देखिन्छ ।
मारुनी नाचमा दुई जना मारुनी दुईदेखि तीन जना मादले, एकजना पुरसिंगे तथा ६ जनादेखि १० जनासम्म गायक हुन्छन् । गायकहरूमध्ये एक जना गुरु हुन्छ । दर्लामीका अनुसार गीत निकाल्ने ‘रौरा’ ले गीत निकाल्छ । खास गरेर दसैं, तिहार, देउसी–भैली, न्वारन, पूजा, कुत बढाई (छोरा पाउँदा) आदि मारुनी नाच नाचिन्छ ।
मारुनी’ नै यो नृत्यको मुख्य पात्र हुन् । मारुनीहरू मादलेको तालसँगै अगाडि–पछाडि घुमेर नाच्छन् । सिंगारिएर एकपटक मारुनी बनिसकेपछि नाचको पूरा अवधिसम्म मारुनी बदलिन पाउँदैनन् । यो नृत्यमा पुरसिंगेहरू पनि मारुनीसँगै नाच्छन् । पुरसिंगेले महिलाको कपडा लगाएको हँुदैन । पुरसिंगेले मारुनीकै हाउभाउमा ताल मिलाउनुपर्छ । ‘पुरसिंगेहरू बदलिएर नाच्न सक्छन् । यसका लागि नाच्ने कला हुनु जरुरी छ,’ रौरा दर्लामीले भने । मारुनी नाचमा गीत अनुसार मादलको ताल पनि अलग–अलग हुन्छ । मादलको ताल बिग्रियो भने गुरुलाई स्वर तथा गीत परिवर्तनको संकेत दिइन्छ ।
प्रकाशित :मंसिर १९, २०७४
http://bit.ly/2jgvEK7


Societies of Nepal

 Societies of Nepal  Nepali society is incredibly diverse, shaped by over 142 distinct ethnic groups and multiple religious beliefs that oft...