एकीकरण पदयात्रा
मेरो छोरो र म केही दिनयता एउटा नयाँ खेल
खेल्दै छौं । जुन पृथ्वीनारायण शाहले काठमाडौं उपत्यकामाथि कसरी विजय हासिल गरे भन्ने कथामा आधारित छ ।
नेपाली इतिहासको चर्चा
गर्दा अधिकांशको बुझाइ काठमाडौं उपत्यकाकेन्द्रित हुने गर्छ । यो खेल पनि त्यस्तै छ, यही
उपत्यकाकेन्द्रित ।
इतिहासकार दिनेशराज
पन्तका अनुसार पृथ्वीनारायणले विसं १८०१ असोज १५ गते नुवाकोट विजय गरेर नेपाल
एकीकरणको शिलान्यास गरे । त्यसदिन नुवाकोट जितेका उनले जम्मा साढे सात कोस टाढाको काठमाडौं २५ वर्षको निरन्तर परिश्रमपश्चात् विसं १८२५
असोज १३ मा मात्र जित्न सफल भए । विसं १८१४ जेठ १९ मा कीर्तिपुर आएर हार खाएका उनले तेस्रो लडाइँमा विसं १८२२ चैत ३ गते मात्र उक्त राज्यमाथि विजय हासिल गरे । पृथ्वीनारायणले आफ्नो जीवनयात्राका २५ वर्ष मकवानपुर राज्यअन्तर्गतका मकवानपुर, हरिहरपुर र सिन्धुलीगढी क्षेत्र कब्जा गर्नमा
लगाए ।
सिमरौनगढ राज्य (हाल
बारा) १० औं शताब्दीतिर कला, संस्कृति तथा अन्य भौतिक सम्पन्नताले वैभवशाली
राज्य थियो । सिम्रौनगढका राजा हरिसिंहदेव (कतै हरसिंहदेव पनि भनिएको) को पालामा विसं १३८१ मा दिल्लीका मुसलमान गयासुद्धिन तुगलकले सिम्रौनगढ
राज्यमा भीषण आक्रमण गरेर राज्य ध्वस्त बनाइदिए । हरिसिंह देव आफ्नो पराजयपछि मन्त्री चण्डेश्वर र रानी देवल देवी तथा राजकुमारसहित बाराबाट पूर्वतर्फ भागे । त्यहाँबाट वाग्मती नदी नजिक सानो किल्ला बनाई बस्न थाले । त्यसपछि सिम्रौनगढका विद्वान्हरू, साधु, कलाकार र कालीगढहरू पनि हरिसिंह देव भएकै
ठाउँमा बस्न थाले । त्यसले गर्दा हरिसिंहदेवले स्थापना गरेको त्यो सानो किल्लाले एउटा राज्यको रूप लिन थाल्यो । यही किल्ला राजा हरिसिंह देवकै नामबाट हरिहरपुर गढी भनेर चिनिन थाल्यो । चौधौं शताब्दीतिर निर्माण गरिएको यो किल्ला अहिले पनि जस्ताको तस्तै स्वरूपमा छ । झन्डै ६ सय वर्षअघि निर्माण भएको यो किल्लाले इतिहास अध्ययन गर्नेहरूलाई मात्र होइन, इतिहास थाहा पाउन चाहने पछिल्लो पुस्तालाई समेत
तानिरहेको छ । त्यतिखेर त्यस्तो डाँडोमा यस्तो किल्ला बनाउन कसरी सम्भव भयो भन्ने कुराले सबैलाई चकित
बनाउँछ । यो किल्ला स्थापना गरेको १ वर्ष पनि नपुग्दै पश्चिम नेपालतिरबाट मुकुन्द सेनले हरिहरपुर गढीमा धावा बोले । उनको फौजले यो गढी कब्जा गर्यो ।
हरिसिंह देव आफ्नो
पराजयपछि मन्त्री चण्डेश्वर र रानी देवल देवी तथा राजकुमारसहित त्यस स्थानबाट
पूर्वतर्फ भागे । सिन्धुली जिल्लाको तीनपाटन भन्ने स्थानमा हरिसिंह देवको मृत्यु भएको कुरा इतिहासकारहरू बताउँछन् । इतिहासकार लुजियानो पेटेकले हरिसिंह देवको मृत्यु टिपाट भन्ने स्थानमा पुगेर भएको भनेका छन् । यो टिपाट भन्ने स्थान नै हालको तीनपाटन हो । पछि मुकुन्द सेनले आफ्नै नामबाट राजधानी मुकुन्दपुर बनाई शासन सञ्चालन गर्न थाले । मुकुन्दपुरको नामबाट हालको मकवानपुर राज्य रहन गयो । मुकुन्द सेनको पालामा सेन राज्य तराईको बुटवलदेखि टिस्टा नदी र पहाडमा तिमालदेखि इलामसम्म थियो । मुकुन्दसेनले आफ्नो जीवनको अन्तिम समयतिर आफ्ना राज्यको विभिन्न क्षेत्रको प्रशासनिक जिम्मा छोराहरूलाई बाँडेका थिए । सोही प्रसाशकीय क्षेत्र पछि स्वतन्त्र राज्य बने ।
मुकुन्द सेनका कान्छा
छोरा लोहाङ सेनले मकवानपुरलाई छुट्टै राज्य स्थापना गरे । उनले पूर्वी तराईको ससाना राजा–रजौटा र जिम्दारीहरूलाई
जितेर आधुनिक नेपालको पूर्वी सीमासम्म सेन राज्यको विस्तार गरेका थिए । मुकुन्द सेनका नाति हरिहर सेनको अन्तिम समयमा मकवानपुरको सेन राज्य दुई टुक्रा हुन गयो । पूर्वमा विजयपुर विधाता इन्द्रसेन र मकवानपुर शुभ सेनको राजधानी कायम भयो । शुभ सेनका छोरा माणिक्य सेनले सिन्धुलीमा मजबुत गढी बनाए । यिनैले राजधानी भएको मकवानपुरको डाँडामा पनि गढी बनाए । माणिक्य सेनपछि हेमकर्ण सेन मकवानपुरका राजा भए ।
गोरखाका युवराज
पृथ्वीनारायण शाहको विवाह मकवानपुरका राजा हेमकर्ण सेनकी छोरी इन्द्रकुमारीसँग भयो । हेमकर्ण सेनका छोरा दिग्बन्धन सेनसँग पृथ्वीनारायण शाहको सम्बन्ध राम्रो थिएन । हेमकर्ण सेनले कन्यादानको समयमा छोरीलाई गजमोतीको हार लगाइदिएका थिए । दुलाहादुलहीलाई एकदन्ता हात्तीमा चढाएका थिए । पृथ्वीनारायणले हार र हात्ती माग गर्दा दिग्बन्धन सेनसँग झगडा पर्यो । त्यसपछि उनी पत्नी इन्द्रकुमारीलाई नलिई फर्के । पृथ्वीनारायणले सैनिक अभियान चलाउँदा ‘नेपाल’ भन्नाले काठमाडौं उपत्यका मात्र बुझिन्थ्यो, जहाँ तीनवटा मल्ल राज्य थिए । पूर्वका मकवानपुर, चौदण्डी, विजयपुर तथा किराँत प्रदेश र पश्चिमका बाइसी र
चौबीसी राज्य थिए । इतिहासकार पन्त पृथ्वीनारायण शाहले काठमाडौँ जित्न आर्थिक नाकाबन्दीको नीति लिएर नुवाकोट र मकवानपुर राज्य कब्जा गरेको बताउँछन्।
मकवानपुरमा विजय हासिल
गर्न पूर्व सिन्धुली गढीमाथि विजय गर्न आवश्यक थियो । पलाञ्चोकमा रहेका रामकृष्ण कुवर र दलजित
शाहको नेतृत्वमा रहेका गोर्खाली फौजले तिमालकोट, मुलकोट, खुर्कोट हुँदै सिन्धुलीगढीमा कब्जा जमाए । सिन्धुलीगढीमा विजय हासिल गरी गोर्खाली सैनिक हरिहरपुर गढी विजय गर्न हिँडे । गोर्खाली सैनिकले हरिहरपुर गढीमा आक्रमण गर्यो । गोर्खाली सेनाले पहिलो पटक सिंगो राज्य
जितेको मकवानपुर हो । राज्यको अंशका रूपमा भने नुवाकोट जितेका थिए । नुवाकोट त्यसबेला काठमाडौं राज्यअन्तर्गत थियो ।
मकवानपुरका राजाहरूको भारतका
मुगल शासकहरूसँग सम्पर्क थियो । गोर्खालीले मकवानपुरमा कब्जा गरेपछि बंगालका राज्यच्युत नवाब मीर कासिमले त्यस क्षेत्रमा आँखा लगाए । उनलाई पहाडी भूभाग नियन्त्रण गरी अंग्रेजसँग लड्न सकिन्छ भन्ने लागेको थियो । उनले अर्मेनियाबाट आएका लडाकु ग्रे गुरीलाई गुरगिन खाँ बनाई विसं १८१९ पुसमा गोर्खाली फौजसँग लड्न पठाए । जबकि त्यसै वर्ष भदौमा मात्र पृथ्वीनारायण शाहले मकवानपुर जितेका थिए । मीर कासिमको फौजलाई गोर्खाली फौजले १८१९ को माघ १० मा जित्यो । त्यसबेला मुसलमान सेनालाई पृथ्वीनारायणले हराउन नसकेको भए एकीकरण अभियान त सफल हुन्थेन नै, नेपाल
अहिलेको रूपमा नरहन सक्थ्यो । गोर्खाली सेनाको विजयको खबर सुनेर पृथ्वीनारायण स्वयं मकवानपुर गए । त्यहाँ प्राप्त सामरिक महत्त्वका हातहतियार देखेर उनी खुसी भए । यसपछि पृथ्वीनारायण शाह गोर्खालीले विजय हासिल गरेको हरिहरपुर गढी पुगे ।
सामरिक दृष्टिले
महत्त्वपूर्ण रहेको व्यापारिक मार्ग कब्जा गर्न पृथ्वीनारायण सफल भएका थिए । मकवानपुर राज्यको गोर्खा राज्यमा विलय भएपछि कमला नदीसम्मको उब्जाउ फाँट, पर्सा, बारा, रौतहट, सर्लाही र महोत्तरीसमेत गोर्खा राज्यको अभिन्न
अंग हुन पुग्यो । मकवानपुरमाथिको यो विजय नै पृथ्वीनारायण शाहको एकीकरण अभियान सफल पार्ने एक सहयोगी माध्यम बन्न पुग्यो ।
विसं १८२१ को भदौ
महिनामा शूरप्रताप शाह, दलजित
शाह र श्री हर्ष पन्तको नेतृत्वमा कीर्तिपुरमाथि दोस्रो असफल आक्रमण भयो । १८२२ चैतमा मात्र कीर्तिपुर आक्रमण सफल भयो । मकवानपुर विजयपछि पृथ्वीनारायणले क्रमशः उपत्यका आसपास र उपत्यकाका क्षेत्र जित्दै गए । विसं १८२४ सम्म पुग्दा त उनी उपत्यकाको पाटनसम्म
जित्ने अवस्थामा पुगिसकेका थिए । काठमाडौंका राजा जयप्रकाश मल्लको सहयोगार्थ किनलकको नेतृत्वमा इस्ट इन्डिया कम्पनीको फौजसँग गोर्खाली फौजको युद्ध भयो ।
त्यसबेला मकवानपुर राज्य
क्षेत्रमा अहिलेका बारा, पर्सा, जनकपुरलगायत पर्थे । पृथ्वीनारायणले किनलकको सेनालाई
ती क्षेत्रबाट सुरुसुरु आउन दिए । उनलाई मैदानमा अंग्रेजसँग लड्ने आफ्नो सामर्थ्य छैन भन्ने थाहा थियो । गोर्खाली फौज सिन्धुलीमै अंग्रेज सेनालाई ढुकेर बस्यो । अन्ततः १८२४ असोज १५ गते कम्पनी फौजले गोर्खालीसँग हार मान्यो । त्यसपछि सिन्धुलीबाट फर्कियो । इतिहासकार प्रा. पन्तको ‘महामण्डलदेखि काँगडासम्म’ मा पनि असोज १५ मै
सिन्धुलीगढीमा गौर्खाली फौजले विजय हासिल गरेको उल्लेख छ । पृथ्वीनारायणले कम्पनी फौजसँग सिन्धुलीमा हारेका भए नेपालको एकीकरण हुने थिएन । पृथ्वीनारायण त खत्तम हुन्थे नै, अहिलेजस्तो नेपाल भन्ने देशै नरहनसथ्यो । नेपाल खाल्डोमा किनलकको सेना पसेको भए फर्केर जाने थिएन ।
यस्तो इतिहासले कसरी
हाम्रो भविष्यलाई अघि बढाउन मद्दत गर्ला त ? पर्यटकीय तथा शैक्षिक गन्तव्यको रूपमा यी
गढीहरूको विकास गर्न सकिएला ? हामी
मकवानपुर हरिहरपुरगढी हुँदै सिन्धुलीगढी पदयात्रामा निस्किएका थियौं । तीनै गढीलाई जोडेर एकीकरणको कथा बुझ्न र बुझाउन सकिन्छ । बन्दै गरेको मदन भण्डारी राजमार्ग र काठमाडौंबाट बनेपा हुँदै बर्दिबास जाने बीपी राजमार्गले तीनै गढीलाई नजिकबाट जोडेका छन् । मकवानपुर हरिहरपुरबाट सिन्धुलीगढी हुँदै काठमाडौं आउने पुरानो मार्गलाई एकीकरण पदमार्गको रूपमा विकास गर्न
सकिने छलफल सुरु भएको छ । गढीहरूलाई जोडेर पदमार्गको विकास गर्दा त्यस भेगमा पर्ने स्थानीय जनताको जीवनस्तर उकास्न सहयोग पुग्नेछ ।
हरिहरपुरगढी मदन भण्डारी
मार्गको घण्टेबाट दुई घण्टाको पैदल दूरीमा पर्छ । त्यहाँबाट हिँड्दै ७ दिनमा सिन्धुलीगढी पुग्न सकिन्छ । बीचमा स्थानीय जातजाति, तिनका संस्कृतिको अध्ययन अवलोकन गर्दै, प्रांगारिक स्थानीय उत्पादन चाख्दै, ऐतिहासिक, पुरातात्त्विक स्थलहरू हेर्दै हिँड्न सकिन्छ । यस क्षेत्रमा पर्ने कोखाजोर खोलाको असला माछा निकै चर्चित छ । पर्यटकलाई होमस्टेमा बस्ने व्यवस्था गरिँदै छ । उक्त पदमार्गले सिन्धुली मकवानपुरका साथै काभ्रेलालाई पर्यटकीय क्षेत्रको रूपमा विकास गर्न महत्त्वपूर्ण योगदान पुर्याउनेछ ।
हामी पदमार्ग निर्माण र त्यसलाई सुविधायुक्त बनाउन लागिपरेका छौं । तपाईं झोलीतुम्बा कस्दै गर्नुस् एकीकरण कथा खोज्न।
हामी पदमार्ग निर्माण र त्यसलाई सुविधायुक्त बनाउन लागिपरेका छौं । तपाईं झोलीतुम्बा कस्दै गर्नुस् एकीकरण कथा खोज्न।
प्रकाशित : जेष्ठ
१८, २०७६ ११:२५