Sunday, June 16, 2019

किरातीका चार ढोका


किरातीका चार ढोका
शनिबार, ३२ जेठ २०७६, ०९ : १४ |  श्याम राई
ललितपुरको सानो हात्तीवनमा किरातीको  धार्मिक स्थल छ–किरात माङहिम मन्दिर। उक्त मन्दिर ललितपुर महानगरपालिका–२३ मा पर्दछ। किरातअन्तर्गत राई, याख्खा, सुनुवार र लिम्बू पर्दछन। माङहिम मन्दिरमा उनीहरूका बेग्लाबेग्लै ढोका छन्। किरातीको महान चाड मंसिरे पूर्णिमा उँधौली र वैशाख पूर्णिमा उँभौलीका बेला आआफ्ना ढोका अगाडि नाच्ने गरिन्छ। अरूको ढोकाको गेटमा नाच्न मिल्दैन।
इतिहासअनुसार विसं १९०५ साल अर्थात् १७१ वर्षअघि श्री ५ सुरेन्द्र र श्री ३ जंगबहादुरको शासनकालदेखि किराती(राई र लिम्बु)को पल्टन भैरवनाथ पल्टनका किरातीहरुले यस सानो हात्तीवनलाई पवित्रस्थल मानी किरात तीर्थस्थलका रुपमा संरक्षण गरेको पाइन्छ। त्यतिबेला देखि नै उधौली र उभौलीमा पूजा र नाचगान गर्न थालिएको हो। २.३४ हेक्टरमा फैलिएको छ वन। शीतल र शान्त वातावरण भएकाले जो कोही त्यहाँ गएर घुम्न र बस्न रुचाउँछन। त्यहाँ साकेला थान पनि छ।

काठमाडौंमा किरातीको संख्या ६० हजार हाराहारीमा छ। उनीहरूले चालिसको दशकदेखि उँधौली र उँभौलीमा काठमाडौंमा साकेला नाच्न थालेका हुन्।
मन्दिर (१३५० मिटर)का पूजारी आइतबहादुर लिम्बूका अनुसार माङंहिम मन्दिरले सम्पूर्ण किरातीलाई एकताबद्ध गरी एउटै मालामा किराती पहिचान, संस्कार र संस्कृतिप्रति सचेत गराई यसलाई बचाउन प्रेरित गरेको छ। सानो हात्तीवन किरात माङहिम व्यवस्थापन समिति नामक संस्था ०५६ माघ २० गते ललितपुर जिल्ला प्रशासन कार्यालयमा दर्ता गरी विधिवत पूजारी नियुक्ती गरी हरेक बिहान र बेलुकी माङहिममा दियो कलश बाली आराध्यदेवको पूजा गर्दै आइरहेका छन्।   व्यवस्थापन समितिका सचिव जीतकुमार राईका  अनुसार एक मात्र धार्मिक आस्थाको केन्द्रविन्दुका रूपमा रहेको सानो हात्तीवन ०५८ चैत १६ गते किरात धार्मिक वनका रुपमा दर्ता भएको छ।
मन्दिर क्षेत्रको विकास एवं संरक्षणका लागि गुरुयोजना बनाइएको छ। यसलाई धार्मिक पर्यटन गन्तव्यका रूपमा विकास गर्न पहल भैरहेको छ। यसका लागि विभिन्न व्यक्ति र संस्थाले पनि सहयोग गर्दै आएका छन। संस्थामा आबद्ध चारवटै किरात संस्थाका पदाधिकारीबाट मन्दिर व्यवस्थापनका लागि ठूलो योेगदान पुगेको  छ।   प्रचलन के छ भने यहाँ विधिपूर्वक पूजा गरेपछि साकेला नाच नाचिन्छ। अनि मात्रै काठमाडौंका अन्य ठाउँहरू टुँडिखेल, नखिपोट लगायतमा नाच्ने गरिन्छ।
मन्दिर क्षेत्रलाई हरियाली बनाउन वृक्षारोपण गरिएको छ। पर्वका अवसरमा माङहिम परिसर तथा बाटोको सरसफाइ गरिन्छ। समितिले मांङहिमको दक्षिणपूर्वमा कम्पाउण्डवाल, बाटोको रेलिङ, भान्छाघर निर्माण लगायत काम गरिसकेको छ। मन्दिर संरक्षणका लागि सरकारले बेलाबेलामा सघाउँदै आएको छ। ‘एउटा जाती हुन उसको भाषा, धर्म, संस्कार, संस्कृति र इतिहास चाहिन्छ। त्यसैले त्यो इतिहास संस्कृति बचाउनु पर्छ,’ उनले भने, ‘संस्कृति र पहिचान जोगाउदै छौँ।’ किराती बुढापाकाका अनुसार गर्मीयामको सुरुवातसँगै चराचुरूङ्गी तथा जीवजन्तु उँभो हिमालतिर लाग्ने भएकाले त्यो बेलाको साकेलालाई ‘उँभौली’ र ती जनावरहरू जाडो याममा उँधो झर्ने भएकाले त्यस बेलाकोलाई ‘उँधौली’ भनिएको हो।
किरात राई यायोक्खाका केन्द्रीय अध्यक्ष दिवस राईले किरातीले प्राचीन समयदेखि प्रकृतिको पुजा गर्दे साकेला नाच्ने गरेको बताए। ‘किरातीहरू जहिले धर्तीमा सभ्यता र संस्कृतिको विकास गरियो। कृषि युगदेखि नै यो नाच नाच्दै आएको छौँ,’ उनले, ‘यही साकेला नाचको अवसरले नै यायोख्खा गठन भएको हो।’
उनका अनुसार किरातीले उँभौली पर्व वैशाख पूर्णिमा अर्थात् गर्मी सिजन लागेपछि मनाउने गर्छन। प्रकृतिसँगको घुलमिलसँगै साकेला नाच्ने गरिन्थ्यो। यस समयमा तराईका मानिस, जीवजन्तु सबै गर्मी छल्न लेकतिर लाग्छन्। यसैबेला मकै, कोदो, अदुवा लगायत अन्नबाली लगाइन्छ। अन्नबाली राम्रोसँग फलोस् भनी भूमे पुजा, प्रकृति र पितृको पुजा गरी त्यसैका अवसरमा साकेला नाच्ने गरिन्छ।
मंसिर पूर्णिमा अर्थात् जाडो महिनामा माछा, चराचुरुङ्गीदेखि लिएर मानव अस्तित्व सहित बेसीतिर झर्छन्। गर्मी समयमा लगाएको अन्नबाली प्रकृतिको पूजा गर्दे भित्र्याएर उधौली चाड मनाउने गरिन्छ। अन्नबाली भिœयाएको खुसीयालीमा नाचगान गरिन्छ। त्यसैलाई साकेला सिली भन्ने गरिन्छ।  ‘पहिले जीवजन्तुको नक्कल गर्दे नाचिन्थ्यो। हामी देशको मूलबासी हौँ। हाम्रा ऐतिहासिक धर्म, भाषा, संस्कृति र पम्परा छन। यसैलाई निरन्तरता दिँदै आएका छौँ’, उनले भने।  
पहिलापहिला जीवजन्तुको नक्कल गरेर साकेला नाचिन्थ्यो। अहिले प्रविधिको विकाससगैँ किराती भेषभूषामा ढोलझ्याम्टा बजाएर नाचिन्छ। अहिले उँभौलीको सिजन हो। वैशाख र जेठमा धुमधामका साथ उँभौली चाड मनाउने गरिन्छ। आज शनिबार दिन पनि काठमाडौं उपत्यकामा शान्तिनगर, पेप्सीकोला लगायत र पूर्वमा धनकुटामा साकेला नाच नाचिँदै छ। प्राचीनकालदेखि नै किरातीले जीवजन्तुको नक्कल गर्दे गाउँघर लगायत अन्य ठाउँमा साकेला नाच नाच्दै आएका थिए। यायोक्खाका केन्द्रीय अध्यक्ष दिवस राईका अनुसार काठमाडौंमा विसं ०४२÷४३ सालबाट साकेला नाच्न थालिएको हो। हाल उपत्यकामा किरातीको संख्या करिब ६० हजार छ जसमा ३५ हजार राई छन्।
कसरी नाचिन्छ ?
उँधौली र उँभौली चाडमा साकेला नाच्दा सिलिमाङ्पा (सिलीको अगुवाइ गर्ने पुरुष) या सिलिमाङ्मा (सिलीको अगुवाइ गर्ने नारी)ले समूहलाई अगुवाइ गर्दछन। गोलघेरा बनाएर नारी र पुरुष सराबरी हातमा हात, खुट्टामा खुट्टा चालमा चाल मिलाए ढोल, झ्याम्टाको तालमा नाच्छन। घेराभित्र चिल्लेकटुसको रुखका लिंगो र थुम्से(सोली) मा खारेवा(चिन्डो)मा रक्सी राखिन्छ।



Lecture to WDO. Jan 1, 2013 (Pus 17, 2069 B.S.)

  Lecture to WDO.   Jan 1, 2013 (Pus 17, 2069 B.S.) I lectured newly appointed Women Development Officers (WDO) at the Women Training Cen...