Thursday, June 13, 2019

‘मातृभाषालाई विकाससँग जोड्नुपर्छ’

मातृभाषालाई विकाससँग जोड्नुपर्छ’
चैत्र २०, २०७५कान्तिपुर संवाददाता
ललितपुर — मातृभाषालाई विकाससँग जोडेर बचाउनुपर्ने विज्ञहरूले बताएका छन् । आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानले अन्तर्राष्ट्रिय आदिवासी भाषा वर्षका अवसरमा मंगलबार आयोजना गरेको ‘नेपालका आदिवासी जनजातिका भाषाहरूको अवस्था र संरक्षणको उपाय’ विषयक अन्तर्क्रियामा उनीहरूले सामाजिक अध्ययन गरेर मातृभाषालाई विकासमा जोड्ने अन्तर्राष्ट्रिय अभ्यासमा रहेको बताए ।
‘मातृभाषाको विकास बेगर बहुजातीय र बहुभाषिक मुलुक अघि बढ्न सक्दैन,’ भाषा आयोगका अध्यक्ष लवदेव अवस्थीले भने, ‘भारतको गलत पाठ अर्थात् अंग्रेजले सिकाएको कमजोरीलाई हामी पछ्याइरहेका छौं । मातृभाषा छाडेर विदेशी भाषा सिकेर केही हुन्न ।’
सरकार र सर्वसाधारणलाई अंग्रेजीबेगर कामै चल्दैन भन्ने भ्रम रहेको उनले बताए । ‘अंग्रेजी सिक्न मातृभाषालाई जगमा राख्नुपर्‍यो । मातृभाषा व्यक्ति, समुदाय र देशकै सम्पदा हुन्,’ उनले भने, ‘मातृभाषा छोडेर अंग्रेजी सिकाइ अधुरो हुन्छ ।’आयोगले मुलुकमा बोलिने भाषाहरूको अध्ययन अनुसन्धान जारी राखेको उल्लेख गर्दै उनले भने, ‘आयोगले सिफारिस मात्रै गर्ने हो । कार्यान्वयनको सवालमा मातृभाषी समुदायको बल चाहिन्छ ।’
भाषाविद् अमृत योञ्जन तामाङले ‘मातृभाषाको संरक्षण, संवर्द्धन र विकासका उपायहरू’ र भाषाशास्त्री तारामणि राईले ‘आदिवासी जनजातीय मातृभाषाको स्थिति विश्लेषण’ शीर्षक कार्यपत्र प्रस्तुत गरेका थिए । कार्यपत्रमा भाषाविद्हरू माधव पोखरेल, चुन्दा बज्राचार्य, योगन्द्र यादव, लोकबहादुर थापामगरलगायतले टिप्पणी गर्दै समुदायमा मातृभाषाबारे जनचेतना जगाएर विकासका हरेक पक्षमा जोड्न आवश्यक रहेको बताए ।
‘कोरिया जाँदा कोरियाली भाषा सिक्नुपरे जस्तै मगरात क्षेत्रमा जाँदा मगर भाषा सिकेर जानुपर्ने नीति बन्नुपर्छ,’ समाजशास्त्री विष्णुकुमार सिंजालीले भने, ‘भाषालाई स्थानीय तहमा पुर्‍याउन विकाससँग जोड्न जरुरी छ । विकाससँग भाषा जोडेनौं भने सबैथोक सिद्धिन्छ ।’प्रकाशित : चैत्र २०, २०७५ १९:१७

किरातको इतिहास : को हुन् किरात राई ?

  किरातको इतिहास : को हुन् किरात राई ? डा. भक्त राई , लोकपाटी न्यूज ६ माघ २०७६ , सोमबार किरात शब्द अनेक जातिहरूलाई बुझाउने पुञ्ज हो। कि...