क्यागाजुनको खोजी
गोरख विष्ट
म पेसाले लेन्डस्केप आर्ट फोटोग्राफर । एउटा गम्भीर यात्रु ।
हरेक यात्रा फोटोग्राफिक दृष्टिकोणले उपयुक्त समय र स्थान
छुट्टयाएर गर्छु । दशक लामो नेपाल–यात्रापश्चात् थाहा भयो— यात्रा सधैं रमाइलो मात्र हुँदैन । रमाइलो यात्राले फेरि यात्रा गर्ने प्रेरणा दिन्छ भने कठिन यात्राले अर्को यात्राका लागि पूर्वतयारी गर्न सिकाउँछ ।यस तस्बिर कथामा म माथिल्लो डोल्पाको क्यागाजुन भन्ने ठाउँको मेरो फोटोग्राफी एक्पिडिसनबारे भन्दै छु । माथिल्लो डोल्पा विदेशी मात्र नभई घुमन्ते नेपालीका लागि पनि रोजाइको ठाउँ हो । महँगो भएकाले कमै मात्र पुग्छन् ।
सन् २०१४ मा माथिल्लो डोल्पा घुमघामको दौरान क्यागाजुन पनि जाने योजना मनाएको थिएँ । स्थानीयवासीले धेरै हिउँ भएकाले नजान सुझाए । मैले पनि जोखिम मोल्न चाहिनँ । फेरि हाम्रो टोली डोल्पाको ३० दिन लामो ट्रेकिङले लखतरान परिसकेका थियौं । एक्सप्लोर डोल्पोका प्रबन्ध निर्देशक जितेन्द्र झात्रीसँगको सल्लाहअनुसार म फेरि गत २८ अगस्टमा नेपालगन्ज हुँदै डोल्पा लागेँ । म दुनै पुगेको दिन तीज परेको थियो । बेलुका नाचगान, खानपिन भयो । भोलिपल्ट लागियो क्यागाजुनतिर । केही बाटो पहिले हिंडिसकेको भए पनि बाँकी बाटोबारे नक्साबाहे केही थाहा थिएन । न मलाई न मेरा गाइडर सहयोगीहरूलाई । क्यागाजुन माथिल्लो डोल्पाको बिलकुलै नयाँ गन्तव्य हो । त्यहाँ ६ हजार १ सय मिटरको एउटा हिमाल र २ ओटा पानको पात आकारका ताल छन् । यो डोल्पाको यार्चा खन्ने ठाउँमध्येको एक हो । त्यहाँ हामीभन्दा पहिले स्थानीयवासीबाहेकका यात्रु गएको ‘रेकर्ड’ भेटाइएन ।
तेस्रो दिन बेलुका माथिल्लो डोल्पाको पहिलो गाउँ धोताराप र क्यागाजुन जाने बाटो छुट्टियो । आधिकारिक बाटो नभएकाले क्यागाजुन खोला पछ्याउँदै तालसम्म पुग्ने हाम्रो योजना थियो । त्यसका लागि पहिले धोताराप खोला तर्नुपर्थ्यो । बेलुकीपख कठ्यांग्रिने खोला तरेर धोताराप र क्यागाजुन खोला दोभानमा क्याम्प बनाएर बास बसियो । हामी नक्सा मात्र मात्र हेरेर हिँडिरहेका थियौं । न कहिले कोही पर्यटक गएको । न फोटोमा देखेको । नक्साका भरमा बाटो लाग्दा अप्ठ्यारो आउनु स्वाभाविक हो । एकै दिनमा ३० पटकसम्म एकै खोला तर्नुपर्ला भन्नेचाहिँ कल्पनामा पनि थिएन । जुत्ता काँधमा बोकेर खाली खुट्टा कठ्यांग्रिने खोला तर्दाको पीडा म शब्दले महसुस गराउन सक्दिनँ ।
खोलावारिपारि गर्दै दिन ढल्किने बेला हामी
क्यागाजुन हिमालको नजिक पुगेजस्तो लाग्यो । त्यहाँबाट एउटा हिमाल थोरै देखिन्थ्यो । दिन धमिलिँदै गएपछि हामीले त्यहीँ घाँसे भिरालोमा
क्याम्प राखेर रात बितायौं ।
दिनभरिको चिसो र थकानले रातभर टाउको फुट्लाजस्तो भयो । तातोपानी र गार्लिक सुप खाएर सुत्ने प्रयास गरें । स्लिपिङ ब्याग तात्दै गएपछि निदाइएछ, बिहान भएको पत्तै भएन । एकाबिहानै न्यानो घामले टेन्टभित्र सफा दिनको महसुस गरायो । केहीबेरमा ब्रेकफास्ट गरेर हामी घाँसेमैदानबाट उकालो लाग्यौं हिमाल हेर्दै, बाटो अनुमान गर्दै । जति माथि चढ्यो, त्यति हिँड्न गाह्रो । बिस्तारै हिँड्नुको विकल्प थिएन । हिमालतिर जाँदा मेरो एउटै सूत्र छ— बिस्तारै हिँड्नु । बिस्तारै हिँडे अवश्य पुगिन्छ, हतार गरे भन्न सकिन्न– हिमालमा पनि लागू हुन्छ यो भनाइ । जति उकालो चढ्दै जान्छौं त्यति अक्सिजन कमी हुँदै जान्छ । बिस्तारै हिँडेर शरीरलाइ वातावरण अनुकूल बनाउँदा अगाडिको यात्रा अलि सहज हुन्छ ।
हामी जति उकालो चढ्थ्यौं, एउटा हिमाल त्यति नै
नजिक आउँदै थियो । त्यसको फेदमै पुग्न करिब ७
घण्टा लाग्यो । करिब २ बजे क्यागाजुन हिमाले नजिकै त पुग्यौं तर ताल नदेखेपछि मन खिन्न भयो । हिमाल भने बिस्तारै बादलभित्र छोपिँदै थियो । सबै थकित थियौं । मौसम बिग्रँदै थियो । सहयोगीहरूले खानपिनको तयारी गरे । व्यवस्थित तरिकाले हिँड्ने भएकाले मौसम बिग्रेकोमा
समस्या थिएन तर हेर्न गएको कुरा नदेखेपछि चिन्ता लाग्यो । लन्च गरेर क्यागाजुनको फेदैमा बस्ने निर्णयसहित अघि बढ्यौं । करिब एक घण्टाको ग्लेसियरमाथि हिँडेर क्यागाजुन बेसक्याम्प पुग्दा एउटा बादलले छोपिएको ताल भेटियो । म खुसीले दंग भएँ । ताल छेवैमा टेन्ट टाँगेर
रात बिताउने निर्णय गर्यौं । मौसम बिग्रँदै गएकाले हतारहतार टेन्ट टाँग्यौं । पानी पनि आँट्दै थियो, दायाँ–बायाँ देखिन छोडिसकेको थियो ।
बिहान–बेलुकाको उज्यालोलाई हामी नेचर
फोटोग्राफरहरू गोल्डेन आवर भन्छौं । मेरो दिमागमा कुरा खेल्न थाल्यो— मौसम यसरी नै बिग्रियो भने मेरो के हाल हुन्छ ? यसरी घुम्नुको एउटै कारण
हुन्छ— सर्वोत्तम स्थानमा सुन्दर तस्बिर खिच्नु । त्यसका लागि मौसमले साथ दिनुपर्छ । तर बेलुकादेखि लगातार
पानी पर्यो । टेन्टभित्रका सामान बचाउनै हैरान हुने गरी ।आधा रातमा पानी पर्न रोकियो । केहीबेर सुतेर म सबेरै झोली तुम्बा भिरेर बाहिर निस्किएँ । क्यागाजुन ताल र त्यसमा डुबेको क्यागाजुन हिमाल राम्रो फोटोग्राफरले खिचेको पोस्टर टाँसेजस्तै गरी बसिरहेको थियो । मेरो दुःखको भारी निमेषमै दूर भयो । यति भएपछि मैले पनि समय खेर नफाली केही तस्बिर खिची काठमाडौं फर्किएँ ।
प्रकाशित : जेष्ठ ४, २०७६ १०:५३