Monday, June 10, 2019

कर्तारपुर सीमा र नेपाल



कर्तारपुर सीमा र नेपाल
कर्तारपुर–डेराबाबा सीमा–नाकाको निर्माण शिलान्यासपछि दक्षिण एसियाली मुलुकमा नयाँ आशा जागेको छ नाका सञ्चालनले नेपाललाई पनि लाभ मिल्छ 
कान्तिपुर, पुस ११, २०७५
बुद्धिनारायण श्रेष्ठ
काठमाडौँ — सन् १९४७ मा इस्ट इन्डिया कम्पनीले भारत छाड्ने क्रममा उपमहाद्वीपलाई तीन टुक्रा पारियो– हिन्दुस्तान र पाकिस्तान (पूर्वी पाकिस्तान हाल बंगलादेश समेत) । विभाजित यी दुई देशबीच २ हजार ९ सय १२ किलोमिटर लामो र्‍याडक्लिफ सीमा लाइन खिचियो । यो सीमारेखामा दुवै देश स्थिर हुनसकेको पाइँदैन ।
खासगरी काश्मिर क्षेत्रको ७ सय ४० किलोमिटर ‘लाइन अफ कन्ट्रोल’मा बेलाबखत झडप र वैमनस्यता हुने गरेको छ । इमरान खानले पाकिस्तानको प्रधानमन्त्री भएपछि वैमनस्य हटाई सीमा व्यवस्थापन गर्ने इच्छा प्रकट गरेको पाइन्छ ।
पाकिस्तान र भारतबीच रहेको कर्तारपुर–डेराबाबा सीमा–नाका खोल्ने पूर्वाधार निर्माणको इमरान खानले हालै शिलान्यास गरे । त्यस समारोहमा दुई केन्द्रीय मन्त्री र पन्जाव प्रान्तका मन्त्रीले भारतका तर्फबाट प्रतिनिधित्व गरेका थिए । यसबाट पाकिस्तान र भारतको सम्बन्ध सुधार हुने लक्षण देखिएको छ । ती दुई देशबीच सम्बन्ध सुधार भई कर्तारपुर र बाघा सीमा–नाका आपसमा खुल्दै आए नेपालले पनि व्यापार वाणिज्य फाँटमा समेत सुविधा पाउन सक्नेछ । चीनको बीआरआई परियोजनासँग सम्बन्धित पाकिस्तानको ग्वादर सामुद्रिक बन्दरगाहबाट समेत नेपालले फाइदा लिन सक्ने हुन्छ ।
पाकिस्तान–भारत सीमा–नाका
पाकिस्तान र भारतबीच चार सीमा–नाका छन् । पहिलो, बाघा–अट्टारी नाका सन् १९७० मा खुलेको थियो । यस नाका भएर जाने–आउने रेलवे लाइनले लाहोर र दिल्लीलाई जोडेको छ । यसै नाका भएर ग्रान्ड ट्रन्क रोडले एसियन हाइवे नेटवर्कलाई पनि जोडेको छ । मलेसिया, थाइल्यान्डबाट भारत भई यसै नाकाबाट दिनको करिब पाँच सय ट्रक पश्चिमको अफगानिस्तान, इरान, टर्कीतर्फ जाने गर्छ ।
बाघा–अट्टारी सीमा–नाका बिहान १० देखि ४ बजेसम्म खुल्छ । सूर्यास्त हुनुअघि यस नाकाको दुवैतर्फको दसगजा क्षेत्रमा प्रत्येक दिन करिब एक घन्टा संवेदनशील तथा रमाइलो बिटिङ द रिट्रिट कार्यक्रम गरिन्छ । त्यसपछि सीमा–नाकाको फलामेद्वार बन्द हुन्छ ।
दोस्रो सीमा–नाका गन्डासिंहवाला–हुसैनवाला हो । पाकिस्तान र भारतबीच तीन पटकको युद्धका कारण यस नाका बन्द गरिएको छ । तेस्रो नाका हो, खोक्रापार–मुनबाओ । यो नाका दुई देशबीच सन् १९६५ को युद्धपछि बन्द गरिएको थियो । फेबु्रवरी २००६ मा यसलाई पुन: सञ्चालनमा ल्याई ३१ जनवरी २०२१ सम्म खुला गर्ने सहमति गरिएको छ । दुवै देशको रेलसेवा जोडिएको यो दोस्रो नाका हो । तर यहाँबाट सातामा एकपटक मात्र रेल आउने–जाने गर्छ ।
चौथो सीमा–नाका कर्तारपुर–डेराबाबा खोल्न पूर्वाधार संरचना निर्माण कार्यको शिलान्यास कर्तारपुरमा पाकिस्तानी प्रधानमन्त्री इमरान खानले हालै गरे । भारतीय सीमावर्ती क्षेत्रको डेराबाबामा त्यसको दुई दिनअघि भारतीय उपराष्ट्रपति वेनकइह नाइडुले पूर्वाधार निर्माणको सुरुआती शिलान्यास गरेका छन् । रावी नदी किनारका दुवै सीमाञ्चल क्षेत्रमा शिख समुदायको बाहुल्य सीमावर्ती भूभागमा रहेको यो नाका खोल्न दुवैतर्फबाट शिलान्यास गरिएकाले यसबाट पाकिस्तान–भारतको आपसी सम्बन्ध सुधार हुने संकेत देखापरेको छ ।
कर्तारपुर–डेराबाबा कोरिडोर
यस कोरिडोर खोल्ने प्रयासलाई पाकिस्तान–भारत सम्बन्धको नयाँ अध्याय सुरु भएको मान्न सकिन्छ । कोरिडोरले सीमाको दुवैतिरका शिख समुदायलाई एकअर्काे देशमा सजिलै तीर्थाटन गर्न सुविधा मिल्नेछ । दुवै देशको सीमा वारपार गर्न पासपोर्ट भिसाको बदला तीर्थालुलाई सीमा वारपारको गुरुद्वारा मन्दिर जान–आउन विशेष पर्मिट दिइने शिलान्यासका समय बताइएको छ ।
शिलान्यास कार्यक्रममा पाकिस्तानी प्रधानमन्त्री खानले भनेका थिए, ‘दोस्रो विश्वयुद्धका शत्रु देश जर्मनी र फ्रान्स शान्तिपूर्ण छिमेकीका रूपमा रहेका छन् भने काश्मिरलाई लिएर तीनपटक युद्ध गरेका पाकिस्तान र भारत असल छिमेकीका रूपमा परिणत हुन किन सक्दैनन् र ? दुवै देशको राजनीतिक इच्छाशक्ति र अठोट भयो भने काश्मिर मामिलासमेत समाधान गर्न सकिन्छ । मानिस चन्द्रमामा हिँड्न सक्छ भने भारत–पाकिस्तान समस्या समाधान हुन सक्दैन र ?’ खानले भनेका थिए, ‘पाकिस्तान र भारत असल छिमेकी भएर बाँच्नुपर्छ । एकअर्कालाई दोष दिन बन्द गर्नुपर्छ । गल्ती दुवै तर्फबाट भएको हुनसक्छ । शान्तिका लागि भारत एक कदम अगाडि बढ्छ भने पाकिस्तान दुई कदम बढ्नेछ । पाकिस्तान र भारत दुवै आणविक शक्ति भएका देश हुन्, तापनि लडाइँ धान्न सक्दैनन् । यसैले मित्रतारूपी सिमाना नियमन गरिनुपर्छ, बन्द गरिनु हुँदैन (पाकिस्तान टुडे, २९ नोभेम्बर २०१८) ।
समारोहमा भारतीय खाद्यमन्त्री हरसिम्रत कौर बादलले भावुक हुँदै भनेकी थिइन्, ‘बर्लिनको पर्खाल ढल्न सक्यो भने भारत र पाकिस्तानको दुश्मनी, शत्रुता र घृणा खतम पार्न सकिन्छ । अब दूरी कम भएको छ । डेराबाबा–कर्तारपुर कोरिडोरले भारत र पाकिस्तानबीच ममता वृद्धि गर्नेछ ।’ भारत पन्जाब प्रान्तका पर्यटन तथा संस्कृतिमन्त्री नवजित सिंह सिधुले भारत–पाकिस्तान सीमा आवत–जावतका लागि खोलियो भने भारतीय मालसामान पाकिस्तानका विभिन्न भागका साथै अन्य देशमा पनि पठाउन सकिने बताएका थिए । (द न्युज, २९ नोभेम्बर २०१८) ।
क्रिकेट डिप्लोमेसी
कर्तारपुर–डेराबाबा कोरिडोर खोल्ने प्रयास थाल्ने कार्य खासगरी पाकिस्तानी प्रधानमन्त्री इमरान खानको उत्सुकतामा भएको बुझिन्छ । यसमा भारत पन्जाब प्रान्तका मन्त्री सिधुले साथ दिएको समाचार आएको छ । यी दुवै देशका पदाधिकारी आ–आफ्नो देशका नामुद क्रिकेट खेलाडी भएकाले ‘क्रिकेट डिप्लोमेसी’द्वारा आ–आफ्नो देशमा प्रभाव पारी सीमा–नाका खोल्ने प्रयास भएको छ ।
प्रधानमन्त्री खानले सीमावर्ती कार्यक्रममा आफ्नो क्रिकेट यात्राबारे भनेका छन्, ‘कुनै पनि देशमा दुई प्रकारका क्रिकेटर हुन्छन् । एक खेलाडी, जसले हारिन्छ भनेर मौका नै लिँदैनन् । अर्काे खेलाडी, जसले बुद्धिमत्तापूर्ण जोखिम मोल्छ, ऊ सधैं सफल हुन्छ ।’ आफू राजनीतिमा प्रवेश गर्दा दुई प्रकारका राजनीतिज्ञ फेला पारेको उनले बताएका छन्, ‘एक, जसले आफ्नो फाइदाका लागि सर्वसाधारणको भलाइलाई बलि दिएका थिए । अर्का व्यक्ति, जसले समाज उत्थानको विचार गरे, घृणा फैलाएनन् र मौकामा ठूला निर्णयहरू गरे । उनीहरू सफल भए ।’
अन्त्यमा,
पाकिस्तानी प्रधानमन्त्री भारतसँग तितोपना हटाउँदै शान्तिपूर्ण तरिकाले वार्ता गर्ने मनसायमा रहेको बुझिन्छ । यसले दुवै देशका जनताको आपसी सम्बन्धलाई पुनर्जीवन दिनेछ ।
कर्तारपुर–डेराबाबा सीमा–नाका खुलेपछि दक्षिण एसियाको भूराजनीतिक प्रक्षेप पथलाई पुनर्लेखन गर्नेछ भन्ने आशा गर्न सकिन्छ । यस कोरिडोरको शिलान्यासपछि दक्षिण एसियाली मुलुकमा नयाँ सम्भावनाको आशा जागेको छ ।
यसै क्रममा १९ औं सार्क सम्मेलन हुने सम्भावना बढेको छ । आपसी द्वन्द्वका कारण भारत र पाकिस्तानको मित्रता सुध्रिएन भने र दक्षिण एसियामा गहिरो शान्ति स्थापना गर्ने कार्यमा प्रतिकूल प्रभाव पारियो भने ती दुवै देश भक्षक हुन सक्छन् ।
पाकिस्तान–भारत सम्बन्ध सुमधुर हुँदै दुई देशको सीमा–नाकाबाट चल्ती–फिर्ती बढ्दै गए नेपाल पनि लाभान्वित हुनसक्छ । नेपालबाट भारतीय भूमि भई नेपाली उत्पादन सतहमार्गद्वारा पाकिस्तान तथा पश्चिमी देश पुग्नसके नेपालको निर्यातको मात्रा बढ्न जानेछ ।
चीनको बीआरआई योजनासँग जोडिने पाकिस्तानको सामुद्रिक बन्दरगाह ग्वादरबाट चीनको केरुङ हुँदै नेपालको सीमा भेट्ने सडकमार्ग तथा रेलमार्गले नेपाल र नेपालीको आर्थिक विकास गर्न मद्दत पुग्नेछ । पाकिस्तान एयरलाइन्सको हवाइजहाज भारतीय आकाश भएर नेपाल ओहोर–दोहोर हुनसके पाकिस्तान–भारतको सम्बन्ध सुध्रिँदै पाकिस्तान–नेपालको मित्रता अझ प्रगाढ हुनेछ । प्रकाशित : पुस ११, २०७५ ०८:५३

Societies of Nepal

 Societies of Nepal  Nepali society is incredibly diverse, shaped by over 142 distinct ethnic groups and multiple religious beliefs that oft...