विरूप विश्वरूपा
सम्पदा
जेष्ठ १२, २०७५दामोदर न्यौपाने
काठमाडौँ — पशुपति क्षेत्रका मन्दिर र त्यहाँका मूर्तिमध्येमा मुख्य मानिन्छ विश्वरूपा । मृगस्थलीको पूर्वतिर रहेको यो मन्दिर अहिले भग्नावशेषमा परिणत भएको छ । तीन वर्ष बित्यो भग्नावशेषमा परिणत भएको । तीन वर्षअघिको भुइँचालोले भग्नावेशष बनाएको यो मन्दिरको छाना भत्किएको छ । वरिपरिको गाह्रो भने यथावत् छ ।
त्यही भत्किएको गाह्रोको ढोकामा ताल्चा लगाइएको छ । भित्र विश्वरूपाको विराट मूर्ति छ, जसलाई छुन पाएका छैनन् मन्दिरका पुजारी उद्धवप्रसाद उपाध्यायले । ताल्चा लगाएको गेटबाहिरै नित्य पूजा गर्छन् उनी । तीन वर्ष भयो उनले बाहिरै पूजा गरेको । ‘नित्य पूजा त रोक्नुभएन नि,’ उनले सुनाए, ‘बिहान–बेलुकै पूजा गरिराखेका छौं ।’
केही समयअघि टुटेकै भए पनि हेर्ने सुविधा थियो । विरूप भएका विश्वरूपाको मूर्ति सामाजिक सञ्जालमा पोस्ट भए । सार्वजनिक भएपछि त्यसलाई व्यवस्थित गर्नेतिर पशुपति क्षेत्र विकास कोष लागेन । बरु त्यसलाई ताल्चा लगाएर हेर्न नमिल्ने बनाइदियो ।
विश्वरूपालाई विष्णुको विराट रूप मानिन्छ । पशुपतिनाथका भण्डारी केदारमान भण्डारीको शब्दमा यहाँको विश्वरूपाचाहिं फरक हुन् । यहाँको विश्वरूपमा महादेव र पार्वतीको
विराट रूप हो । शिव र पार्वती काम मुद्रामा रहेको मूर्ति हो यो । सम्भोगरत रूपमा रहेकाले काम कामेश्वरीको रूपमा पनि चिनिन्छ विश्वरूपा । ‘शिव पार्वतीको सम्भोग चलिरहेको सम्भोग आसन हो यो,’ भण्डारी भन्छन्, ‘पार्वतीको कम्मरमा समातेर सम्भोगरत अवस्थामा छन् विश्वरूपा । अहिले शिवको हातबाट पार्वती टुक्रिएर लडेको अवस्थामा छ ।’
भुइँचालो जानुअघि नै जीर्ण बन्दै गएको थियो मन्दिर । भुइँचालो जानुअघि देखि नै यसको जीर्णोद्धार गर्न माग गर्दै आए पनि क्षेत्र विकास समितिले टेरपुच्छर नलगाएको भण्डारीले गुनासो गरे । मन्दिर राणा प्रधानमन्त्री जंगबहाुदर राणाले विसं १९२४ बनाएका हुन् । विश्वरूपाचाहिं मल्ल राजा प्रताप मल्लको पालामा बनेको मानिन्छ । सहस्र हात, सहस्र टाउका भएको यो मूर्ति प्रताप मल्लको पालामा बने पनि यसलाई कतै प्रतिष्ठापन भने गरिएको थिएन । जंगबहादुरले हनुमानढोका दरबारबाट यहाँ ल्याएर प्राणप्रतिष्ठा गराएको देववंशावलीमा उल्लेख छ ।
मन्दिरको भग्नावेशष हटाउने क्रममा ध्यान दिएको भए विश्वरूपा जोगाउन सकिने अवस्थामा थियो । ‘सेनाले मन्दिर ड्याम ड्युम भत्काइदियो,’ भण्डारी भन्छन्, ‘सुरुमा चर्किएको मात्रै थियो मूर्ति । सावधानीपूर्वक भत्काएको भए जोगिन्थ्यो । जथाभावी भत्काउँदा मन्दिरको दलिन खस्यो । त्यही दलिनले लागेर विश्वरूपा टुक्राइदियो ।’ १२ फिट अग्लो छ यो मूर्ति । यसलाई विश्वरूपाको प्राचीन मूर्तिमध्ये विश्वकै अग्लो मानिएको छ । तान्त्रिक विधिबाट बनेको हो मूर्ति । यसको पेटमा मान्छेको जस्तै आन्द्राभुँडी रहेको भण्डारी बताउँछन् । यहाँ माणि माणिक्य पनि हुन सक्ने उनको अनुमान छ ।
अष्ट धातुले बनेको छ
विश्वरूपा खुला आकाशमुनि छ अहिले । अष्ट धातुलाई घाम पानीले बिगार्दैन । खिया पनि लाग्दैन । तर रंग बदलिन्छ । कालो बनाइदिन्छ घाम पानीले । ‘मूर्ति बिग्रँदैन भनेर यसरी अलपत्र पार्न कहाँ पाइन्छ ?’ भण्डारी भन्छन्, ‘मूर्ति लडेको छ । वरिपरि घाँस उम्रेको छ । झाडी पलाएको छ । झारपातले घेरेको छ विश्वरूपालाई । यो त देवताको अवहेलना गरेर फालिदिएको जस्तो भयो नि । मन्दिर बनाउन नसके पनि झार त उखेल्न सकिन्थ्यो । पाल ओडाएर राख्न त सकिन्थ्यो नि ।’
यसको संरक्षण गर्न धेरैपल्ट क्षेत्र विकास कोषलाई आग्रह गरिएको भण्डारी बताउँछन् । ‘भुइँचालो जाँदाताकाका सदस्य सचिव गोविन्द टण्डनदेखि अहिलेका सदस्य सचिव प्रदीप ढकालसम्मलाई अवगत गरायौं । देखाउन फिल्डमै लग्यौं,’ भण्डारी भन्छन्, ‘अहँ सुनेनन् ।’
क्षेत्र विकास कोषले आफूले मात्रै चाहेर यहाँको काम गर्न नसकिने दाबी गर्दै आएको छ । विश्व सम्पदा क्षेत्रमा पर्ने भएकाले युनेस्को पनि अनुमति लिनुपर्छ । पुरातत्त्व विभागको पनि सहमति लिनुपर्ने भएकाले ढिला भएको कोष बताउँछ । ‘अब दुई वर्षभित्रमा काम सकिन्छ,’ कोषका सदस्य सचिव ढकाल भन्छन्, ‘काम सुरु भइसकेको छ ।’ काम सुरु भइसकेको छ भनेको तीन सातापछि यो पंक्तिकार विश्वरूप क्षेत्र जाँदा त्यहाँ कुनै काम भएको थिएन ।
प्रकाशित : कान्तिपुर, जेष्ठ १२, २०७५ ०९:०८