ब्युँतिँदै पुर्ख्यौली नाच
कास्की — बूढापाका बितेर गएपछि नाच हरायो । १४ वर्षसम्म नाच्ने कोही भएन । कुनै बेला लोकप्रिय मगर संस्कृतिको पुर्ख्यौली नाच लोप हुँदै गएपछि जर्गेना गर्न म्याग्दीका युवा लागिपरेका छन् । म्याग्दीको अन्नपूर्ण गाउँपालिका ४ नारच्याङका युवा नाच संरक्षणमा जुटेका हुन् । वडाध्यक्ष चन्द्रप्रसाद फगामी पुनमगरको पहलमा केही समययता युवापुस्तालाई नाचमा आकर्षित गरी नाच ब्युँझाउन लागिएको हो ।
‘जिल्लाका
विभिन्न गाउँका पुर्ख्यौली नाचको प्रतिस्पर्धा हुन्थ्यो । तर बीचमा यो नाचै हरायो,’ उनले भने, ‘संस्कृति लोप हुनु भनेको संस्कार पनि हराउनु हो । यही भएर अब नाचलाई ब्युँझाएर युवालाई संरक्षण गर्नुपर्छ भन्ने अभियानमा लागेका हौँ ।’ उनले विगतको अनुभव र विभिन्न स्थानमा हुने प्रतियोगिताबाट नाच सिकेर गाउँमा पनि युवालाई सिकाउन लागिएको बताए । ४ वर्षदेखि नाच सिकाएको र अझै पूरा नभएको उनकोभनाइ थियो ।
‘सुरुमा
चन्दा संकलन गरी नाचका लागि आवश्यक मादल, गरगहनालगायत सामग्री जुटायौं र युवालाई सिकाउन
थाल्यौँ,’ उनले
भने । नाचमा १९ जनाको समूह हुने भएकाले धेरैजना पुरुष चाहिन्छ । गीत गाउने महिला भए पनि नृत्यका लागि पूरै पुरुष हुन्छन् । महिलाको कपडा पुरुषले लगाउनुपर्ने हुन्छ, र जुन पुरुषलाई मारुनी भनिन्छ ।
साथमा मारुनीसँग नाच्ने
पुरुष पनि उनीहरूको संख्या बराबर चाहिन्छ । जसलाई मादले भनिन्छ । गीतमा पूरै देवीदेवताको नाम लिने भएकाले महिनाबारी भएको महिला नाच्न नहुने धार्मिक विश्वासले महिला नाच्दैनन । नाचमा मारुनी ५, मादले ५ र ९ जनाले गाउँछन् ।
मारुनीले गुनियो, टिकिया, पटुकी, पछ्यौरी, कानमा ढुंग्री, पोते, कन्ठीलगायत गहना लगाउँछन् भने मादलेले कछाड, सर्ट, पेटी, भांग्रा, टोपीलगायत कपडा लगाएर नाच्ने गछन् । ‘यो नाच विवाह, पास्नीजस्ता शुभकार्यमा सरस्वती जगाउने र दान
दिएपछि अन्तिममा सबै दिशाका देवीदेउताको नाम लिई आशीर्वाद लिने गरिन्छ,’ पुनमगरले भने । विदेश जाने उमेरका युवालाई भन्दा पनि स्कुल पढदै गरेका विद्यार्थीलाई नाच सिकाइएको छ ।
अर्का प्रशिक्षक
लोकबहादुर फगामी पुनमगरले म्याग्दीबाट बसाइँ सरेर पोखरा र चितवन पुगेका
बूढापाकामार्फत आफूले सिकेर अरूलाई सिकाएको बताए । ‘नयाँ पुस्तामा नाच आइसकेको छ,’ उनले भने । आफ्नो संस्कृतिको पुर्ख्यौली नाच सिक्न पाउँदा खुसी लागेको विद्यार्थी भविन पुनले बताए । ८ कक्षामा अध्ययनरत उनी पढाइसँगसगै संस्कृति संरक्षणमा लागेका हुन् ।
‘यो
मेरा लागि ठूलो अवसर हो,’ उनले
भने, ‘त्यसैले
पढाइसँगै नाचका लागि समय व्यवस्थापन गर्दै आएका छौं ।’ आफूजस्ता अरू दुई विद्यार्थी पनि नाच सिकिरहेको उनले बताए । सुरुमा सिक्दा गाह्रो लागेको थियो तर नाच्दै गएपछि सजिलो भएको उनले बताए ।
प्रकाशित : kantipur, जेष्ठ २२, २०७६ ०९:३२