Wednesday, June 12, 2019

युगपुरुषको भाषाधर्म

युगपुरुषको भाषाधर्म
फाल्गुन १८, २०७५गोविन्दराज भट्टराई
काठमाडौँ — २०७५ साल फागुन १२ गते आइतबारको दिन सखारै विराटनगरका साहित्यकार भाइ हरि बरालको फोन आयो— सर, एउटा दुःखद समाचार छ  । कस्तो भाइ ? बालकृष्ण गुरुले धर्ती छोड्नुभयो  ।
राति डेढ बजेदेखि तपाईंलाई फोन गरेको, बल्ल लाग्यो ।
यसो बाहिर हेरेँ, उज्यालो फाट्दै थियो अनि धेरै कुरा सम्झेँ— चार महिनाअघि सिक्किम छोरीकोमा गएको, अस्वस्थताले फर्काएको, सिलिगुडी विराटनगरका अस्पताल हुँदै काठमाडौँ नर्भिकमा ल्याएको, ब्रेन ह्याम्रेज, पक्षाघात आदि थिए । अलिक बिसेक भएर विराटनगर लगेको, त्यहाँको हस्पिटलमा राखेको, घर ल्याएको सबै त थाहा थियो । अघिल्लो दिन बिहान गुरुपुत्र साई मुनाललाई फोन गरेर सोधेको थिएँ— पिताजीलाई कस्तो छ भाइ ?
‘घरमै ल्यायौँ । रिकवर हुँदै छ । उहाँको मेमोरी बिस्तारै फर्कंदै छ...’, यस्तै कुरा भएका थिए ।
त्यही मध्यरात गुरुको महाप्रयाण मुहूर्त रहेछ ।
तीसको दशकदेखि गुरुलाई चिन्दै आएको थिएँ तर उहाँको समीप जान सक्ने आफ्नो उमेर केही थिएन । गर्दै लाँदा ५० दशकदेखि मात्र म उहाँको समीप जान सक्ने भएँ र, भएपछि धेरै निकट भएँ भन्ने लाग्न थालेको थियो । आफ्नो विलक्षण प्रतिभाले गुरुलाई नेपाली भाषाको प्राध्यापक बनायो, एकेडेमीको प्राज्ञ (फेरि आजीवन प्राज्ञ) बनायो, अनेकौँ उच्च पुरस्कार र सम्मान दिलायो साथै अद्वितीय कोटिको अनुसन्धाता पनि । उहाँका योगदानको सम्मान गर्दै विराटनगरकी स्रष्टा गंगा सुवेदी र दधिराज सुवेदीको नेतृत्वमा तयार पारिएको प्राज्ञ बालकृष्ण पोखरेल अभिनन्दन ग्रन्थ (२०६३) प्रकाशित भयो । काठमाडौँमा एक भव्य समारोह आयोजनामा गुरुको अभिनन्दन र कृति लोकार्पण सम्पन्न भए । त्यसबेलासम्म गुरुले लेख्न थालेको ५४ वर्ष भइसकेको थियो । उहाँको पाँच सय वर्ष (२०२१) हजारौँले पढेर नेपाली भाषाको अतीतको मापन गरेका छन् । उहाँको ‘राष्ट्रभाषा’ नपरेको कुनै पाठ्यक्रम छैन । उहाँका बहुप्रशंसित ‘तेस्रो एकमुखे रुद्राक्षको खोजी’ जस्तो निबन्धसंग्रह, ‘सोधाइ र जवाफ’ जस्तो कथासंग्रह, ‘सौरी’ जस्तो खण्डकाव्य अनेक पाठक, शोधार्थी र विद्यार्थीले पढेका छन् । मदन पुरस्कार विजयी ‘नेपाली भाषा र साहित्य’ एउटा क्लासिक कृति बनेको छ ।
आफ्नो विलक्षण प्रतिभा र तपस्याले यत्रो उचाइ प्राप्त गर्ने एक निरभिमानी यी विद्वान् अनन्य बहुकृतिक स्रष्टा र अनुसन्धातासमेत हुनुहुन्छ । उहाँका उपनाममा पचासजति उपन्यास छन् । तिनको चाहिँ धेरै चर्चा भएन, कारण ती सामान्य पाठकीय रुचितिर लक्षित हुन्थे ।
गुरुभिक्र तीन व्यत्तित्व थिए— एउटा स्रष्टा सर्जक अनुवादक, अर्को भाषाविद् र तेस्रो अनुसन्धाता । सर्वप्रथम उहाँले भाषामै प्रवेश गर्नुभयो । बनारस बस्दा विद्यार्थीकालमै बालकृष्ण पोखरेल, तानाशर्मा, बल्लभमणि दाहालहरूको युवा समूह मिलेर झर्रो भाषाको परिकल्पना गरे । नेपाली भाषा ज्यादा ‘क्लासिकल’ भयो भनेर जनजिब्रोबाट सरल बोली लिने, नयाँ शब्द निर्माण गर्ने मौलिक सिद्धान्त पनि स्थापित गर्ने भनी ठूलो आन्दोलन गरे— त्यसबेला नेपाली भाषाका मूल ग्रामीण शब्दहरूलाई अपहेलना गर्ने, ग्राम्यदोषको आरोप लगाउने चलन भएकाले एकातिर भाषा क्लिष्ट र दुरूह हुँदै थियो भने अर्कातिर नेपाली शब्दहरू लोप हुने डर पनि त्यत्तिकै थियो । संस्कृत, हिन्दी, उर्दू र फारसीले नेपाली भाषाको अस्तित्व धमिल्याएका दिनहरूमा झर्रोवादीहरूले एउटा घोषणापत्र लिएर बनारसबाट आन्दोलन छेडे, त्यसको प्रयोग पनि गर्दै ल्याए । त्यसबेला उनीहरूले प्रकाशित गरेको ‘नौलो पाइलो’ पत्रिकाले काम गरेको थियो । त्यसलाई ‘झर्रो नेपाली संस्कृति र साहित्यको नमुना’ भनिएको थियो । उनीहरूको एउटै लक्ष्य थियो— ‘हिन्दी र संस्कृतको उग्र प्रयोगको विरोधमा उभिएर आफ्नो शैलीलाई झर्रो विशेषताले सिँगार्ने ।’
नेपालमा चलेका भाषिक र साहित्यिक वाद र आन्दोलनमध्ये सबैभन्दा ठूलो महत्त्वको दीर्घकालसम्म आफ्नो प्रभाव र महत्त्व राख्ने आन्दोलनमा झर्रोवादी एक हो । तर, अहिले आएर त्यसको प्रधान उद्देश्यलाई विपरीत औ अनियन्त्रित मार्गतिर लगेर आफ्नो अनुकूल अपव्याख्या फैलाउनेहरू निस्के । त्यस प्रयत्नले नेपाली भाषाको स्थिर रूपलाई धेरै भड्कायो, भत्कायो । त्यो अराजक प्रयत्नबाट नेपाली भाषा बचाउन, बालकृष्ण गुरुले स्थापना गर्नुभएको ‘नेपाली बृहत् शब्दकोश’ लाई पुनःस्थापित गर्न प्रज्ञा–प्रतिष्ठानले काम गरिरहेको छ ।
झर्रोवादले आफ्नो लक्ष्य हासिल गरिसकेपछि पनि गुरुको एउटा मन सधैं भाषामै अडियो । नेपाली बृहत् शब्दकोशको नेतृत्व दिएर एउटा भाषाधर्म पूरा गर्नुभयो तर, उहाँको तृष्णा शान्त भएन र त्यसै बेलादेखि उहाँ एउटा अति ठूलो महत्त्वाकांक्षी भाषाधर्ममा लाग्नुभयो । त्यो थियो— पोखरेलको बृहत् नेपाली–अंग्रेजी–नेपाली कोश । यो द्वैभाषिक कोश निर्माण गर्नमा उहाँले ४५ वर्ष तपस्या गर्नुभयो । त्यसो त यही विराटनगरले महानन्द सापकोटा, नरेन्द्र चापागाईंजस्ता भाषा साधक, ठूला कोशकारहरू दियो तर गुरुको योगदान भिन्न छ । यो द्वैभाषिक कोश सन् १९३१ मा प्रकाशित सर राल्फ लिले टर्नरको ‘अ कम्पेरेटिव् एन्ड इटिमोलोजिकल डिक्स्नरी अव् दी नेपाली ल्याङ्गुएज’ शीर्षक द्वैभाषिक कोश निस्केको ८५ वर्षपछि प्रकाशित दोस्रो महत्त्वपूर्ण कोश हो । नेपालमा निर्मित/प्रकाशित अरू पनि द्वैभाषिक कोश छन् तर सबै तात्कालिक प्रयोक्ताका लागि बनिएका । तीभन्दामाथि यसमा चाहिँ नेपाली भाषाको आत्मा के हो र त्यसको कसरी सुरक्षा गर्नुपर्छ भन्ने चिन्ता पहिलो छ । अनि तदनुकूल यसको अंग्रेजीकरण । फेरि अन्त्यमा मूल प्रविष्टिको समानार्थी पनि दिइएको छ, त्यसैले नेपाली–अंग्रेजी–नेपाली कोश । यसको निर्माण भइसकेपछि नेपाली भाषाप्रेमले भावतिरेक भएको हृदय झुकाएर गुरुले सर राल्फ लिले टर्नर, रामचन्द्र ढुंगाना, चक्रपाणि चालिसे, पुष्करशमशेर, महानन्द सापकोटाजस्ता अग्रजप्रति शिर निहुराउँदै यो ग्रन्थ नेपाली वाङ्मयलाई अर्पण गर्नुभएको छ ।
त्यसो त यस्तो नेपाली–अंग्रेजी–नेपाली कोश निर्माण गर्ने सपना पहिलोपल्ट ५६ वर्षअघि देख्नुभएको कुरा पनि त्यहाँ उल्लेख छ । यो कोश निर्माण गर्ने एउटा उद्देश्य अंग्रेजी भाषा पढेर नेपालीको उपेक्षा गर्नेहरूलाई पनि यो बोध होओस्— नेपाली भाषा कति महान् छ, हामीले यसलाई कसरी उठाउनुपर्छ भन्ने बोध होओस् भन्ने थियो । नत्र व्यावसायिक लक्ष्यको कोश निर्माण गर्दा पुगिहाल्थ्यो । यो कोश निर्माणको अर्को प्रमुख लक्ष्यचाहिँ नेपाली भाषाको स्तरीकरणमा एकरूपीकरणमा जोड थियो । अहिलेका केही भाषा मर्मज्ञहरूले नेपाली भाषा विभिन्ड्याएर गतिरुद्ध पारेको बेला यो आएको थियो ।
भाषिक स्तरीकरणका लागि गुरुका अनुसार तीनवटा स्रोतबाट यो लक्ष्य पूरा गर्नुपर्छ— तीमध्ये दुईवटा बाह्य छन्, एक आन्तरिक । अंग्रेजी र संस्कृत बाह्य स्रोत हुन् । झर्रा शब्द— आन्तरिक । यी नेपाली भाषा चढ्ने बलिया थाङ्ग्रा हुन् भन्नुभएको छ । थाङ्ग्रा पाएन भने एउटा भाषा–लहरो कसरी माथि चढ्छ ? भुइँमा घस्रेर फल्दैन, फुल्दैन । तर, नेपालीमा अतिवाद पसेको छ— संस्कृतको थाङ्ग्रो लडाएर अंग्रेजी एक्लो गाडिँदै छ । अघि नरेन्द्रमणि आदीले अंग्रेजी नेपाली साझा सक्षिप्त कोश (२०४४) मा संस्कृत र अंग्रेजी दुवैलाई बराबरी महत्त्व दिनुपर्छ भन्नुभएको थियो । महानन्द गुरुले पनि संस्कृत–प्रयोगको त्यसरी नै महत्त्व गाउनुभयो । यसबारे अरू कुनै कोशकार बोलेका छैनन् । आफ्नो कोशमा यति शब्द यति प्रविष्टिको गणनाई प्राथमिकता दिन्छन् तर, ती कुरा भाषाका आत्मा होइनन्, यसका पोषक तत्त्व होइनन् ।
केही वर्षअघि चलेको नेपाली भाषा सरलीकरण अभियानले हाम्रा यस्ता मनीषीहरूको सत्प्रयत्नलाई झन्डै मेटायो । बालकृष्ण गुरुले आफ्नो कोशको भूमिकामा भन्नुभएको छ— ऐतिहासिक भाषाविज्ञानले के देखाएको छ भने नेपाली भाषा संस्कृतबाट सिधै आएको होइन । यो त प्राचीन खस भाषाबाट पलाएको हो । म एक ऐतिहासिक भाषा वैज्ञानिकको धारणा स्विकार्छु । तापनि यो तथ्यलाई पनि स्विकार्छु कि संस्कृतको अनुपस्थितिमा नेपाली भाषा बढ्न, फुल्न–फल्न सक्तैन । हाम्रो भाषाको स्तरीकरणका लागि संस्कृत अपरिहार्य छ ।
यी दुईवटा थाङ्ग्रा (संस्कृत र अंग्रेजी) को महत्त्वबारे यस्तो धारणा राखेपछि उहाँले तेस्रो थाङ्ग्राको कुरा गर्नुभएको छ । त्यो स्रोत हो— ‘झर्रो’ शब्द । नेपाली स्तरीकरणका लागि झर्रा शब्द र प्रक्रिया सहायक स्रोत हुन् । यस सिद्धान्तले नै उहाँका कोशमा औपचारिनु, उल्थ्याउनु, असहमतिनुजस्ता प्रविष्टि रहेका छन् ।
२०७१ सालमा यो कोशको विमोचन हुने दिन आयो । यो थियो— ५६ वर्षको सपना एक मनीषीको । उहाँले मलाई निम्ता गर्नुभयो । खुसी हुँदै विराटनगर पुगेँ र आफूलाई संकोच लाग्ने एक कर्ममा सहभागी भएँ— त्यो हो प्रमुख अतिथि भई गुरुसँगै बस्ने र ग्रन्थ विमोचन गर्ने । म भाइ, छोरोसमान तर गुरुप्रेमले गर्दा यस्तै खुम्चेर रहेँ र भव्य कार्य सम्पन्न गरी फर्कें ।
यो कोश तयार नभई निकै अघिदेखि यसको अंग्रेजी पक्ष हेरिदिन मलाई भन्नुभएको थियो तर धेरै लामो समय लागेकाले प्रकाशकको धैर्य समाप्त भइसकेको थियो । त्यसपछि गुरुले भन्नुभयो, ‘अब दोस्रो संस्करण निकाल्नुभन्दा पहिला सबै गोविन्द बाबुले सुधार गरिदिनुपर्छ ।’ मैले शिरोपर गरेको थिएँ ।
म फर्केर आएँ र एउटा लामो लेख तयार पारेँ— हि हु डिभोटेड हिज होल लाइफ टु दी नेपाली ल्याङ्गुएज । यो लेखलाई त्रिविको अंग्रेजी शिक्षा विभागले एमएड पाठ्यक्रममा समावेश गरिदियो । त्यस्ता हजारौँ विद्यार्थीले गुरुलाई पढे, पढ्दै छन्, यो शब्दकोशको प्रयोग गर्दै छन्, विशेषगरी अनुवादमा ।
गुरुको दोस्रो व्यक्तित्व छ— एक अनुसन्धाताको । इतिहासविद्, प्राग्ऐतिहासिक विश्लेषकको मानवशास्त्रवेत्ताको— त्यो कुरा ‘खस जातिको इतिहास’ मा प्रतिविम्बित छ । मदनमणि दीक्षितले नयराज पन्तको ‘लिच्छवि संवत्को निर्णय’ लाई पहिलो र गुरुको ‘खस जातिको इतिहास’ लाई दोस्रो भन्नुभएको छ तर यी अलग विषय हुन् र दुवै अनुपम प्रथम ग्रन्थ हुन् । एउटा छोटो जीवनका अरू ४५ वर्ष लगाएर तयार पार्नुभएको ‘खस जातिको इतिहास’ सामान्य मानव मस्तिष्कले कल्पना गर्न नसक्ने विषय छ । २०१० सालदेखि अध्ययन र लेखन थालेर २०५५ मा प्रकाशित ८ सय पृष्ठको यो कृतिको महत्त्व आकलन गर्न नसकिने र गहिराइ छुन नसकिनेजस्तो छ । उहाँसँगको भेटमा मैले भनेको थिएँ, ‘यसको अंग्रेजी अनुवाद गर्न सके यसले विश्वस्तरका भाषाविज्ञानी, समाजशास्त्री, विद्वान् इतिहासकार— सबै आश्चर्यचकित भई गुरुको सम्मान गर्न यता धाउँथे होला ।’
अन्वेषण अध्ययन गर्दैगर्दै खस जातिलाई भूमध्य सागरभन्दा उता युरोपको आलीसम्म एसियाको पल्लो किनारा इजिप्ट, इरान, ग्रीस, मेसोपोटामियादेखि खोज्दै ल्याएर नेपाल–भारत पूर्वमा टुंगा लगाउने कत्रो खोजी अनुसन्धान, परिकल्पना, मिथक, पुराण एक अद्भुत कोसेली । भूमिकामा भन्नुभएको छ— प्रज्ञा प्रेमको भोक कहिल्यै नमेटिने वस्तु भएकैले मेरो यो कृति खसको मात्र गीत गाउन नभई मान्छे मात्रको महिमा गाउन अँगालिएको एक कुतूहल हो ।
खोजी अन्वेषणको तिर्खा कहिल्यै पूरा भएको थिएन । जब हामी विराटनगर पुग्छौँ, गुरुगृहमा भित्रिन्छौँ, सोफामा पारिपट्टि ढल्केर गुरुजी कुरा निकाल्न थाल्नुहुन्छ । अब्राहम हाम्रा पुर्खा हुन्... कुराको प्रसंग कहाँ थियो, चुँडिएर कहाँ पुग्छ, जोडिएर कहाँ पुग्छ, श्रोताले बुझ्यो बुझेन । तर, गुरुभित्रको ज्ञानको ज्वालामुखी आगो र धूवाँ निक्लिरहन्छ । कस्तो अद्भुत शक्ति, स्मृति र धैर्य प्राप्त गर्नुभएको थियो । एक अथक योद्धा एक समर्पित प्राज्ञले भाषा/व्याकरण र अनुसन्धानमा मात्र नअटाएर सिर्जनाको एक विपुल राशि उत्पन्न गर्नुभयो । गरेको गर्‍यै उहाँको अभिनन्दनग्रन्थ निस्केपछि पनि अरू एक दर्जन कृति प्रकाशित भएका छन्, अप्रकाशित र असंकलित कति होलान् ।
उहाँको ‘आस्था अनास्था आस्था’ अनेकौँ दशकको अनिर्णयपश्चात् प्रकाशित कृतिलाई उहाँले अंग्रेजी अनुवाद गर्न थाल्नुभयो र हाम्रो अन्तिम भेटमा सुनाउनुभयो, ‘अब चाराना बाँकी छ अनि अंग्रेजी हेरिमाग्न तपाईंकोमा आउँछ ।’ यस्ता धेरै धोका अड्गारा बाँकी छन् । आज पोखरेल परिवारमा हार्दिक समवेदनाका साथ गुरुको आत्माको चिरशान्तिको कामना गर्दै ‘आस्था अनास्था आस्था’ बाट एउटा श्लोक टिपेर रोकिन चाहन्छु ः
प्रकाशको गज कुरेत एक हो
बाँकी नाप त अन्धकार छ
खुसी यो पलभरको स्वागत हो
बाँकी पल ता बन्द द्वार छ ।
प्रकाशित : koseli, फाल्गुन १८, २०७५ १३:०१

धर्म, संस्कृति र जीवनको बहस

  धर्म , संस्कृति र जीवनको बहस अरूणा उप्रेति अनलायन खबर,   २०७७ साउन १८ गते १०:३४ ‘ नो वर्त प्लिज’ गीतको बोललाई लिएर मैले हिन्दु ‘जागर...