Tuesday, June 11, 2019

स्मृतिमा क्रान्तिवीर

स्मृतिमा क्रान्तिवीरअरविन्द रिमाल

फुर्सद
०४ फागुन २०७५ १२:०३:००
साइत : गंगालाल जन्मशताब्दी
 सन् १९९७ सालमा कठोर राणाशासनको जमानामा पनि चन्द्रधर उप्रेतीले अचम्मको सुइँको लगाएर माघ १२ गतेको साँझपछि यो लेखकको घर आएर भनेका थिए, ‘आज राति धर्मभक्तलाई सिफलमा झुन्ड्याउने रे, जाउँ हिँड् त्याँ।’
, दशरथचन्द, गंगालाल, शुक्रराज शास्त्री र धर्मभक्तलाई मार्ने रे।’
‘ए, टंकप्रसाद, चूडाप्रसाद, रामहरि शर्मा र गोविन्दप्रसादलाई चारपाटे मुड्ने रे।’
‘ए, गंगालाल र गणेशमानलाई त कोर्रैकोर्राले दिनहुँ ठोक्छन् रे, तर ऐ्यया पनि भन्दैनन् रे।’
यस्ता हल्ला सुनेर बालसंगाती चन्द्र्रधर उप्रेती र यो लेखक क्रमशः १० र ७ वर्षको उमेरमै १९९७ सालमा अप्रत्यक्षरूपले राजनीतिक भुमरीको असरमा परेका थिए। त्यो राणाशाहीको ‘जल्दोबल्दो’ जमाना, जुद्धशमशेर महाराजको टाइम थियो। तिनताका राणा प्रधानमन्त्रीलाई ‘ श्री ३ महाराज’ले सम्बोधन गरिन्थो।
नेपालका तत्कालीन हुँदोखाँदो–घरानियाका जल्दाबल्दा तन्नेरीहरू स्वतन्त्रता र देशभक्तिको भावनाले भरिएर स्वाभिमानी एवं मानवोचित हक, अधिकार एवं सम्मान हासिल गर्नका लागि पारिवारिक निरंकुश शासनतन्त्र–राणाशासनविरुद्ध क्रान्तिकारी संघर्षमा होमिएका जमाना थियो, त्यो। यस्तो संघर्षमा लागेबापत आफ्नो जायजात मात्र होइन, जीउ ज्यानै पनि लिइने खतरालाई बुझ्दाबुझ्दै पनि उनीहरू डटेर अगाडि बढेका थिए। फलस्वरूपः पहिलो पटक १९९७ सालको असार ९ गते पाटनमा भोटो देखाउने जात्राको दिनबाट सुरु गरेर उनीहरूले राणाशासकलाई चोर–लुटेरा भन्दै चार–चारपटक काठमाडौं उपत्यकाका तीनवटै सहरभरि र स्वयं राणाशासकका दरबारभित्र छ्यापछ्याप्ती पर्चाहरू छरे।
ती पर्चामा राणातन्त्रको अन्त्य, मानव अधिकारको रक्षा, विधिविधानको शासनको स्थापना, राणा परिवारहरूले लुटेर–चुसेर कंकाल बनाइएका जनताको मंगल कल्याणका लागि संवैधानिक राजतन्त्रात्मक प्रजातान्त्रिक व्यवस्थाको माग गरिएका थिए। त्यो पर्चा के थियो, राणाशाहीविरुद्ध सचेत राजनीतिक हुंकार थियो, शंखघोष थियो, राणाशासन व्यवस्थाको अवश्यंभावी अन्त्यको सूचक थियो।
इतिहासमा अमर
यस्ता वीरहरूमा एकजना सुब्बा भक्तलालका जेठा छोरा गंगालाल (१९७५–१९९७) थिए, जो देशको पहिलो राजनीतिक दल नेपाल प्रजा परिषद्ले संगठित तवरले चलाएको नेपालको आधुनिक प्रजातान्त्रिक आन्दोलनका एक खम्बा, अतुल्य सहिदको सुयशले हाम्रो इतिहासमा अमर छन्। आज हामी नेपाली यिनै क्रान्तिवीरको जन्मशताब्दी मनाइरहेका छौं।
गंगालालको जीवनलाई जान्ने–बुझ्ने चेष्टा गर्दा यो लेखक अन्यायी–आपराधिक शासनतन्त्रविरुद्ध लड्ने विचार नितान्त स्वतन्त्र विचार हुनेगर्छ। तर, त्यसको पूर्ण अभिव्यक्ति आफ्नो लक्ष्य सुस्पष्ट भएको संगठित राजनीतिक दलले नै दिँदोरहेछ भन्ने मान्यता राख्दछ।
गंगालाललाई राजनीतिक तवरले समुचित रूपमा चिन्ने व्यक्ति वर्तमानमा हामीले पाउन गाह्रै छ। अपवादका रूपमा उनी सहिद हँुदाका सात–आठ वर्षकी बहिनी पुष्पलता श्रेष्ठ र पाँच वर्षका कान्छो भाइ विजयलाल श्रेष्ठ छन्। उनीहरूका सम्झनाले हामीलाई ती क्रान्तिवीरको विलक्षण जीवन–गाथाबारे निश्चय नै थप परिचय दिनेछ। तर, सबैभन्दा दुर्भाग्यपूर्ण विषय त के भने जुन दाजुको प्रेरणा र प्रभावबाट माहिला भाइ पुष्पलालले बेग्लै क्रान्तिकारी धारको राजनीतिक आन्दोलन–कम्युनिस्ट आन्दोलनको श्रीगणेश गरे, जुन राजनीतिक नेतासँग गंगालालले महानायक मानेका टंकप्रसाद आचार्यले संयुक्त–मोर्चा गठन गरे, तिनै व्यक्तित्वबाट हामीमध्ये कुनै समकालीनले पनि गंगालालको जीवनी र कार्यबारे जानकारी लिएनौं वा लिने सोच राखेनौं।
हाम्रो मुलुकको पहिलो आमसभामा नागरिक अधिकार आन्दोलनका प्रणेता शुक्रराज शास्त्रीले १९९५ सालको मंसिर १३ गते इन्द्रचोकको डबलीमा उक्लेर गरेको भाषणको लगत्तैपछि गंगालालको जोसिलो भाषणमा जनतालाई दमनकारी–शोषक सरकारलाई सहेर नबस्न र मनुष्य सुुहाउँदो अधिकार लिन संघर्ष गर्ने स्वतःस्फूर्त एवं स्वाभाविक आह्वान थियो। जेठो छोरा राणाविरुद्ध राजनीतिक संघर्षमा लाग्दा पूरै परिवारमाथि नै आइपर्न सक्ने खतरालाई भर्खरै मात्र पाँच–पाँच छोरा र एउटा छोरीलाई छाडेर परलोक भएकी पत्नीकी पतिले गंगालाललाई सम्झाए। ‘बाका यतिका छोरा छँदैछन्। म एकजना नभए पनि के हुन्छ ? म देशकै लागि मरिमेटिन तयार छु’ भनी गंगालालले पितालाई सान्त्वना दिएको उल्लेख हामी पाउँदैछौं, इतिहासकार भुवनलाल प्रधानको ‘अँस’ पुस्तकमा।
नेता जे ता ती सबले मर्नु साझा सबैको।
        सब शव गई बस्छन् काखमा नै चिताको।।
तब किन डरुँ म ? मृत्यु देखिन कम्मर कसेको।
हुँ एक वीर पुत्र वीर म नेपालको।।
माथिको कविताले उनको बलिदानी भावलाई अरु नजिकैबाट परिचय दिन्छ। तर पनि, स्वतन्त्रता एवं मानव अधिकारका लागि जीउ ज्यानै दिने आफ्नो तत्परताको चरम पुष्टि चाहिँ नेपाल प्रजा परिषद्को सदस्य भई क्रान्तिमा उत्सर्ग हुने उनको अठोटले दिन्छ।
राजनीतिक दलको अनिवार्यता
नेप्रपका संस्थापक अध्यक्ष टंकप्रसाद, उपाध्यक्ष दशरथ चन्द, महासचिव रामहरि शर्मा, सदस्यद्वय धर्मभक्त माथेमा र जीवराज शर्मासँग परिचय त के कुरा तिनको नाम पनि न सुनेको अवस्थामा गंगालालले त्यस दलको सदस्यता वरण गर्नुले नै आफ्नो राजनीतिक उद्देश्य एवं लक्ष्य संगठित राजनीतिक दलको कार्यकलापबाट मात्र हासिल हुने उनकोे धारणा एवं अठोटको पुष्टि गर्छन्। यिनै क्रान्तिवीरले शोभा भगवती मन्दिरनिर विष्णुमती नदीतटको बलिवेदीमा होमिन तथा आफ्नो लक्ष्यसिद्धिका लागि छातीमा गोली थाप्न पनि डराउँदैनन् भनी अर्का क्रान्तिवीर, आफ्ना उपाध्यक्ष दशरथ चन्दलाई आश्वस्त गराएका थिए।
कलेज विद्यार्थी सँगसँगै स्कुलका अध्यापक भई आफ्नो राजनीतिक उद्देश्यको धारलाई अझ तिखो बनाउँदै उनले आफ्नो राजनीतिक चेतनाको अभिवृद्धि अध्ययन एवं अध्यापनको संयोगबाट गर्दै गएको तथ्य स्पष्ट हुन्छ। घरपरिवारमा ठूल्दाइको रूपमा रहेका गंगालाल सामाजिक क्षेत्रमा आमूल परिवर्तनकामी क्रान्तिवीरको रूपमा ढालिइसकेको पाइन्छ– रामेछापको भंगेरी गाउँबाट राजधानीको ढोकाटोलको डेराघरमा आउन जेलसम्ममा एक शिक्षकको रूपमा क्रान्तिकारी कवि गोपालप्रसाद रिमालका सहकर्मी रहेका उनी सोझै क्रान्तिको बाटो प्रशस्त गर्न सहयोगी मित्रहरूको खोजीमा लागेको पाइन्छ।
यसै क्रममा उनी काठमाडौंको झोँछे टोलका हरिकृष्ण श्रेष्ठको सम्पर्कमा आउँछन् र नेपाल प्रजा परिषद्का सदस्य बन्न पुग्छन्। अनि उनले स्वच्छन्द तथा कदाचित अराजकतावादी स्वभावका यट्खावासी गणेशमान सिंहलाई आफू प्रवेश गरेको क्रान्तिकारी संस्थाभित्र ल्याउँछन्। त्यसपछि त दशरथ चन्द एवं धर्मभक्तसँग परिचय हुन्छ र उनी नेप्रपका अध्यक्ष वा प्रेसिडेन्टको नाममा जारी चारैवटा पर्चा छर्ने कार्यमा सहभागी हुन्छन्। पार्टी अध्यक्षसँग चाहिँ उनको पहिलो भेट—परिचय त्यसदिन मात्र हुन्छ, जुन दिन १९९७ सालको कात्तिकमा जनकपुरमा समातिए। नेल, हत्कडी र गलफन्दीले बेरिएका टंकप्रसाद आचार्यलाई राणा–अदालत सामु उभ्याइँदा दशरथ चन्दको योजनाअनुसार, पार्टी प्रेसिडेन्टलाई ‘कमरेडस् ! द प्रेसिडेन्ट !! स्यालुट !!!’ को सम्बोधनद्वारा स्वागत–सम्मान गरिएको थियो।
ऐक्यबद्धताको उद्गार
सन् १९९७ सालको मंसिर–पुसतिर नै कोही राजबन्दी मारिने र केही चारपाटे मुडिने भए भन्ने गाइँगुइँ हल्ला चलिसकेको थियो। आज सम्झँदा अनौठो लाग्छ, त्यत्रो गुप्ती र हल्ला अभेद्य ठानिएको कठोर राणाशासनको जमानामा पनि चन्द्रधर उप्रेतीले अचम्मको सुइँको लगाएर माघ १२ गतेको साँझपछि यो लेखकको घर आएर भनेका थिए, ‘ए अरविन्द, आज राति धर्मभक्तलाई सिफलमा झुन्ड्याउने रे, जाउँ हिँड् त्याँ।’ त्यो अभिव्यक्ति तमासे बटुवाको जस्तो कौतुहल थिएन, त्यो त आफूले भित्रैदेखि बहादुर ठह¥याएको मानिसको आदर्श र बलिदानप्रति सहानभूति एवं ऐक्यबद्धताको उद्गार थियो। हामी दुवैका जेठा दाजु क्रमशः पुष्करनाथ उप्रेती र मुकुन्दनाथ रिमाल पनि सदस्य भएका संस्थाका एक यशस्वी नेता थिए, धर्मभक्त। त्यसको दुई दिनअघि माघ १० गतेको रात शुक्रराज शास्त्रीलाई त्रिपुरेश्वर पचली भैरवस्थानको एउटा रूखमा झुन्ड्याएर हत्या गरेको हामीले थाहा पाएनौं। तर, हामी दुवै नै त्यो वीर स्थलको दर्शन गर्न गएको सम्झना छ। यो लेखकले आफू २००८ सालदेखि २०११ सालमा अनेकपटक भद्रगोल जेलमा थुनिँदा आफ्नो कोठाको झ्यालबाट त्यस स्थलको दर्शन गरेपछि मात्र आफ्नो जेलका दिन प्रारम्भ हुने गरेको यहाँ उल्लेख गर्न पाउँदा गर्व हुन्छ।
माघ १२ गतेको रात हामी दुवैजना धोबीखोलाको तिरैतिर कालोपुल तरेर सिफल डाँडो उक्लिन लाग्दा पुलिसहरूले हामीलाई झपारेर घर फर्काइदिएका थिए। माघ १४ गतेको रात शोभा भगवती मन्दिर जाँदा विष्णुमती पुलवारि नै पुलिसहरूले हामीलाई धपाइदिए। (यी दुवै घटनाको विस्तृत विवरण यसै लेखकको ‘१९९७–देखि २०१७ साल–एक अवलोकन’को ‘१९९७ सालः प्रजातन्त्रको लागि पहिलो राष्ट्रिय आन्दोलन’ शीर्षकको अध्यायमा छ।)
गंगालालले आफ्नो प्यारो ढोका टोलकै बाटो आफ्नो जीवनयात्राको अन्तिम थलो– शोभाभगवती मन्दिरनिर विष्णुमती नदीतट जाँदा आफ्नो प्रिय जीवनसंगिनीसँग ‘हसिना’को सम्बोधनद्वारा अन्तिम बिदाइ लिँदै राणा शासनलाई धिक्कारेका थिए। दशरथ चन्दले पनि आफ्नी प्रेमिका जुलियाना राणाले आफैंले बनाएर पठाएकी चिडबुट्टे खास्टो ओढेर राणाशाहीको पतन अवश्यंभावी भएको हुँकार गर्दै सोही थलोमा गोली थाप्दै सहादत वरण गरेका थिए।
शुक्रराज शास्त्री, धर्मभक्त, दशरथ चन्द तथा गंगालालविरुद्ध भौतिक आतंक चलाउन नपुगी ज्यानैसमेत लिएर राणाशासनले देशमा मनोवैज्ञानिक आतंक मच्चायो। त्यस्तो मानव मर्यादालाई रछ्यानमा फाली उसको मनोबललाई पूरापूर गिराइदिन गरिएको थियो। तर, यस कर्तुतबाट त राणाशासनमाथि त्यसले चिताएकोभन्दा उल्टै असर प¥यो। चार सहिद र ज्यूँदा सहिद टंकप्रसादका र उनका सबै राजनीतिक सहयोगीहरूको नाम, कीर्ति एवं यश देशभरि फैलिँदै गयो। सिफल, पचली, तथा शोभाभगवतीनेर आफ्ना विरोधीहरू सर्वथा निरस्त्र एवं आत्मरक्षाको साधनै नभएको अवस्थामा हँुदाको लडाइँमा पनि राणाशासन लाजमर्दो गरी हारेको थियो।
मानवअधिकार र प्रजातन्त्र प्राप्तिका लागि चलेको आन्दोलनको पहिलो संगठित अभिव्यक्तिलाई राणा शासनहरूले हिंसाद्वारा दबाउन त सके। तर, हिंसाले हिंसासहित अपराधको अन्त्य गरिदिने इतिहासको नियमबमोजिम हिंसाद्वारा नै पछि आफ्नो शासनव्यवस्था पनि ढल्नेछ भन्नेमा तिनीहरू आफैं पनि सशंकित थिएनन् होला भन्न सकिँदैन। आखिर भयो पनि त्यस्तै।
एक स्वाभाविक प्रश्न
तथापि स्वाभाविकरूपले एउटा प्रश्न उठ्न सक्छ– के थियो त त्यो घटना ? के त्यो साँच्चै राणाशासन ढाल्न सक्ने तुफानी आन्दोलन थियो ? यसको समुचित उत्तर नेपाल प्रजा परिषद् आन्दोलनका अग्रगण्य नेता, सहिदहरूका महानायक टंकप्रसाद आचार्य तथा उनकी धर्मपत्नी रेवन्तकुमारीको जीवनी–लेखक अमेरिकी नृवंशशास्त्री जेम्स फिसरको नेपाली अनुदित ग्रन्थ ‘ज्यूँदा सहिदहरू ः नेपालमा क्रान्ति तथा व्यक्तिहरूको भूमिका’मा, प्रजा परिषद् आन्दोलनका एक हस्ती गोविन्दप्रसाद उपाध्यायको ‘नेपालको प्रजातान्त्रिक इतिहास सन्दर्भ’ नामक पुस्तकमा, नेप्रपका संस्थापक महासचिव रामहरि शर्माको ‘आत्मवृत्तान्त’मा, डा. राजेश गौतमको ‘नेपालको प्रजातान्त्रिक आन्दोलनमा नेपाल प्रजा परिषद्को भूमिका’ पुस्तकमा तथा दशरथ चन्दको राजनीतिक जीवनलाई केन्द्रबिन्दु बनाएर तेजबहादुर चन्दले तयार गरेका ‘अमर सहिद दशरथचन्द’ नामक स्मृति ग्रन्थमा पाइन्छ।
तर प्रजा परिषद्को जस्तो ओझेलमा पारिएको इतिहासलाई सैद्धान्तिक एवं राजनीतिक गरी बहुआयामिक दृष्टिकोणबाट विश्व समुदायसमक्ष पु¥याउने श्रेय विद्वान फिसरलाई नै जान्छ। यो अत्यन्त प्रशंसनीय कार्य हो। यो आन्दोलनलाई फिसरले विश्वकै इतिहासमा एउटा विलक्षण आन्दोलन भन्दै प्रायः एकैनासे वर्गीय एवं सामाजिक रीतिथिति भएका समुदायबीच भएको यस्तो संघर्ष विरलै पाइन्छ भनी ठोकुवा गरेका छन्। रामहरि शर्मा तथा गोविन्दप्रसाद उपाध्यायलाई उदृत गर्दै जेलभित्र क्रान्तिकारीहरूको जीवन–चर्चा र उपाध्यायको पुस्तकको आधारमा धर्मभक्त, शुक्रराज शास्त्री, दशरथचन्द तथा गंगालालको सहिदत्व प्राप्तिको मार्मिक वर्णन गरी लेखकले १९९७ सालको आन्दोलनसम्बन्धी पुस्तकलाई उच्चकोटीको शोधग्रन्थको रूपमा प्रस्तुत गरेका छन्। साथै, हालै मात्र दोस्रो संस्करण छापिएको ‘लिभिङ मार्टियर्स : इन्डिभिजुवल्स एन्ड रिभोल्यसन इन नेपाल’नामक अंग्रेजी ग्रन्थको ‘ज्यूँदा सहिदहरू’को शीर्षकमा नेपालीमा छपाइ टंकप्रसाद आचार्य स्मृति प्रतिष्ठानले उल्लेखनीय ऐतिहासिक दायित्व पूरा गरेको छ।
राजनीतिक भुइँचालो
सन् १९९७ सालको आन्दोलनलाई पूरापूरा दमन गरी देशमा राणा निरंकुश शासनतन्त्र ढल्न नसक्ने भएको छाप पारेता पनि न त राणाशाही पुरानै तालले शासन चलाउन समर्थ भयो, न त जनता पुरानै तालले शासित हुन राजी भए। १९९७ सालले सामाजिक, राजनीतिक भुइँचालो नै ल्याइदियो, जसका धक्काहरूले पछिपछिसम्म आफ्नो असर पारिरह्यो।
हुन पनि, १९९७ सालको आन्दोलनको प्रेरणाबाट २००२ सालमा बिना सरकारी अनुमतिको पहिलो पब्लिक स्कुल ‘शान्ति निकुञ्ज’ विद्यालय खुल्यो। अनि २००३ सालमा ‘नेपाल नेसनल लिग’ नामक राजनीतिक संस्थाका नेता क्रान्तिकारी कवि गोपालप्रसाद रिमालले आध्यात्मिक कविता वाचनद्वारा राणाशाहीविरुद्ध जनजागृति फैलाए। २००३, २००४, २००५ सालमा खुला राजनीतिक गतिविधि ल्याउन ‘जय तुः संस्कृतम’को नारामा संस्कृत भाषी छात्र आन्दोलन तथा त्रिचन्द्र कलेज विद्यार्थी आन्दोलन ल्याउन र सबभन्दा महत्त्वपूर्ण घटना त २००७ सालको क्रान्तिलाई सफलतामा पु¥याउने हेतु २००६ सालमा काठमाडौं उपत्यकालाई राणाविरुद्ध आन्दोलनले तताउन सघायो। राजधानीको मुटुमै प्रजा पञ्चायतले उठाएको आन्दोलन र साथै जेलभित्रका अपूर्व अनशनहरू नेपाल प्रजा परिषद् आन्दोलनकै विस्तारित रूप थिए। यिनै घटनाक्रमले राणा शासकहरूको हातबाट दिनको राज्य मात्र होइन रातको शासन पनि जान थालिसकेको थियो। आन्दोलनका नामी नेताहरू कि त जेलभित्र कि त सशस्त्र मोर्चाको नेतृत्व समाल्नै व्यस्त थिए। त्यसैले राजधानीको निणार्यक लडाइँ चाहिँ कम अनुभवी तर उच्च मनोबलका नयाँ क्रान्तिकारीहरूले लडेका थिए। टंकप्रसाद आचार्यको आग्रहमा तिनीहरूले आन्दोलनभरि कुनै दलीय चिन्ह
(घन, कोदालो, चार तारा, हँसिया हथौडा नभएको रातो झन्डा) मात्र फहराई जाज्वल्य संघर्ष लडे र जिते पनि।
(यी सबै घटनाक्रमको विस्तृत विवरण पनि ‘अवलोकन’ ग्रन्थमै पाइन्छ।)
घोर विडम्बना
तर घोर विडम्बनाको कुरा के भने यस्तो ऐतिहासिक भूमिका भएको १९९७ सालको आन्दोलनलाई २००७ सालको क्रान्तिको मात्र यशोगान गरी ओझेलमा पार्न थालियो। अनि थप दुःखको कुरा, २००७ सालको क्रान्तिको युगान्तकारी महत्त्वलाई २०६२–२०६३ का आन्दोलनकारीहरूले अवमूल्यन गर्न थाले।
इतिहासको यस्तो खण्डन–मण्डन एवं विकृतिबाट त मुलुककै वर्तमान र भविष्य खण्डित हुन जान्छ, जसबाट देशकै प्रभुसत्तात्मक स्वाभिमान एवं स्वाधीन अस्तित्व खण्डित हुन पुग्छ भन्ने हेक्का हाम्रो राजनीतिकशास्त्री र इतिहासकारहरूमा रहेको पाइन्न।
पहिला–पहिला राणाशासक विषेशले भारतीय, अंग्रेज र फ्रान्सेली इतिहासकारहरूलाई आ–आफ्नो प्रशस्ति गान गर्न लगाई त्यसलाई मुलुकको इतिहासको रूपमा अघि ल्याएका थिए। अब चाहिँ तिनै विदेशीहरू र त्यसमाथि पनि भ्याटिकन, युरोपेली समुदायले नेपालीहरूको इतिहास खण्डित गर्न नेपालीहरूलाई लगाउन थालेका छन्।
इतिहासलाई खण्डित गरी प्रस्तुत गर्ने शैली सही भएको भए महानतम् विश्वविभूति कार्ल माक्र्सले सैन्यवादी जर्नेल विसमार्कलाई र अक्टोबर क्रान्तिका महानायक विश्व–वन्दनीय भ्लादिमीर इल्यिच लेनिनले रुसी जार पिटर महान्लाई रूसको एकीकरणका अभियन्ता मान्दैनथे होलान्। हामै्र प्रातःस्मरणीय क्रान्तिकारी पुष्पलालले पृथ्वीनारायण शाहको वस्तुवादी विश्लेषण एवं सकारात्मक मूल्यांकन गर्ने थिएनन्।
माथि उल्लेखित तीनैजना सामन्ती शासक थिए। तर, १९९७ को आन्दोलनका हाम्रा टंकप्रसाद, गंगालाल, दशरथ चन्द, धर्मभक्त तथा शुक्रराज शास्त्री त एकसे एक क्रान्तिवीर थिए र हुन्। तसर्थ यिनीहरूको अवमूल्यन इतिहासप्रति नै विश्वासघात हो र ठानिनुपर्छ।

दलितलाई खै ?

  दलितलाई खै ? सञ्जीव कार्की भदौ १६ , २०८१ आइतबार ९:२५:५१ माइतीघर मण्डलमा एक जना व्यक्ति २३ दिनदेखि उभिरहेको छ। ओसोको माला लगाएको , दा...