ब्ल्याक भिलेज
नेपालमा ब्ल्याक भिलेज भनी चिनिएको त्यही गाउँ
मात्र हो कि ? किन ब्ल्याक भिलेज भनेको ?
त्यसले केही सामूहिक लाभ
पनि प्रदान गर्छ ? ब्ल्याक भिलेज किन परम्परागत ज्ञान र
प्रविधिसँग अन्योन्याश्रित सम्बन्ध राख्छ ? महाभूकम्पपछिको पुनर्निर्माण अभियानले किन त्यो
गाउँको परापूर्वकालदेखि चली आएको यथार्थ र सौन्दर्यलाई आत्मसात् गर्न सकेन ? भर्खर रसुवा घुम्दा यस्तै प्रश्न मनमा खेलिरहे।
मे ३, २०१९ को दिन हामी चिलिमेबाट गोल्जुङ
गाउँपालिकाको छलफल सक्काई गत्लाङका निम्ति हिँड्दै थियौं । गोल्जुङ्लाई पछिल्तिर छाडेर थोरै उकालो चढेपछि
कच्ची बाटोमा आइपुग्यौं । स्याफ्रुबेंसीसँग जोडिने यो बाटो गत्लाङ हुँदै सोमदाङ पुग्छ । तिरपाई तिरपाई एक घण्टा हिँडेपछि गत्लाङ गाउँ देखा पर्यो । यहाँ नआएको झन्डै पाँच वर्ष पुगेको थियो । फेरि गत्लाङ आउन पाउँदा प्रफुल्ल थिएँ । तर अन्तिम घुम्ती कटेपछि जब गत्लाङ देखियो, म नराम्ररी झस्कें । पहिलाको गत्लाङ थिएन त्यहाँ । असन्तुष्टि लुकाउनै सकिनँ । टोलीमा रहेका धुन्चेका युवा छिरिङ लामालाई सोधें— कस्तो कुरूप भएको गत्लाङ, कसरी
यस्तो भयो ? छिरिङले भने, ‘पहिला ब्ल्याक भिलेज भनेर चिनिन्थ्यो । अहिले कर्कटपाताले रगीविरंगी भयो ।’ ब्ल्याक भिलेज शब्द सुनेपछि मैले सोधें, ‘ब्ल्याक भिलेज किन ? सबै घरको छाना कालो रङको भएकाले ?’ छिरिङले सहमतिमा टाउको हल्लाए। थपे, ‘तर भूकम्पपछि पुनर्निर्माणमा ध्यान नपुग्दा
गत्लाङको रूप फेरियो । त्यो फेराइ कमसल भयो । आँखामै बिझाउने ।’ उनको जवाफ सुन्दा खास अवस्थामा रङमा एकरूपता हुनु पनि
सौन्दर्य रहेछ भन्ने बोध भयो ।
तामाङ हेरिटेज ट्रेल
सम्भवतः काठमाडौंबाट सबैभन्दा नजिकको सांस्कृतिक पदमार्ग हो । स्याफ्रुबेंसी, गोल्जुङ, गत्लाङ, चिलिमे, तेताङ्चे, गोङगाङ, तातोपानी, नागथली, थुमन र ब्रिदिम यस मार्गका गाउँहरू । तामाङ आदिवासीको भाषासंस्कृति, बोन र बौद्व धर्म संस्कृति, परपम्रागत वेशभूषा, माने गुम्बाहरू यस पदमार्गको पर्यटकीय आकर्षण
हुन् । यद्यपि यो ट्रेलमा अनुपम प्राकृतिक सौन्दर्यहरू जस्तै ः पार्वती कुण्ड, लालीगुराँस र खस्रुका जंगल, सान्जेन रिभर करिडोर, उच्च लेकाली खर्क र नागथलीजस्ता लाङटाङ
हिमशृंखला देखिने भ्यू प्वाइन्ट छन् । यो ट्रेलको एक प्रमुख आकर्षणचाहिँ गत्लाङ हो । लस्करै जोडिएका ढुंगा र माटाका झुरुप्प घरहरू । काठमा कुदिएका बुट्टेदार झ्यालढोका । पहिलो तलामा उक्लने काठकै लिस्नो । भुइँ तलामा बस्तुभाउ राख्ने गोठ । हरेक घरको छाना काठबाट छाइएका। काठे छाना धुवाउँदै जाँदा कालो रङमा परिणत भई गाउँ नै सगोल कालो देखिन्थ्यो । डिसेम्बर २०१४ मा आउँदा, मलाई काँ–काँ आइपुगें भन्ने भावना मनमा उठेको
थियो । गाउँ जति सुन्दर थियो । उत्तिकै युनिक पनि थियो । त्यस्तो गाउँ मैले अन्यत्र देखेकै थिइनँ ।
कर्कटपाता सहजै उपलब्ध
नहुने समयमा गाउँले पुर्खाहरूले वरपर पाइने काठको कप्टेरा बनाई त्यसैले घर छाउने
प्रचलन ल्याए । भिरालो भूसतहमा पूर्व फर्केका करिब साढे तीन सय घरको एकैनासको कालो काठको छाना नै गाउँको खास चिनारी बनेको थियो । कालान्तरमा त्यो गत्लाङको पहिचान बन्यो । घरको छाना कस्तो राख्ने भन्ने व्यक्तिगत स्वतन्त्रताको कुरा होइन र ? प्रश्न उभिन्छ । स्वतन्त्रताको कुरा त हो । तर, व्यक्तिगत
स्वतन्त्रता बुद्घिमत्तापूर्ण चाहिं बन्न सकेन । व्यक्तिगत स्वतन्त्रता मात्र पर्याप्त हुँदैन । सामूहिक लाभलाई
व्यक्तिगत स्वतन्त्रताको उपभोगले प्रतिकूल असर पार्छ भने, व्यक्तिगत स्वतन्त्रताको दुहाईले खास अर्थ
राख्दैन । यहाँ यस्तै भएको थियो ।
कृषि र पशुपालनबाहेक
गत्लाङको अर्को प्रमुख आयस्रोत पर्यटन हो । होटल व्यवसाय, होमस्टे, गाइड पेसा मार्फत स्थानीय तामाङहरूले जीविका
चलाइराखेका छन् । होटलमा किसान आफ्ना कृषि उत्पादन बेच्छन् । पर्यटकहरूमाझ तामाङ संस्कृति, पहिरन, हस्तकला र वाद्यवादनको प्रवर्द्घन भएको छ । उच्च चरनमा चिज फ्याक्ट्री छ। यसका प्राथमिक ग्राहक पर्यटक नै हुन् । न्यानो आतिथ्य, प्राकृतिक
सौन्दर्य, सांस्कृतिक
विविधता, गाउँको
एकीकृत बनोट र एकरूपको कालो छानाले पर्यटकलाई सम्मोहित तुल्याउँथ्यो । तर, कर्कटपाताको बाढीले गाउँको सौन्दर्य क्षतविक्षत
बनायो । पर्यटकीय आकर्षणको मेरुदण्ड भाँच्ने काम भयो ।
अघि गत्लाङको सौन्दर्य
बेस्सरी अनुभूत गरेको म यसपालि थकथकाइरहे । शब्दमै व्यक्त गर्न नसकिनेखाले खल्लो अनुभूत भयो । धेरै टाढा–टाढाबाट ब्ल्याक भिलेज हेर्न आउने पर्यटकहरूले सोचेअनुसार नभेट्दा उनीहरूको मनमा कस्ता भावना आउँदा हुन् ? सोच्दै
नरमाइलो लाग्यो । साथै पुनर्निर्माणमा बनेका भिन्न डिजाइनका घरहरूमा कोही बस्दैनन् । पुरानै घरमा
बस्छन् । यी गलगाँडजस्ता संरचनाले गत्लाङलाई भद्दा मात्र बनाएको थियो । गत्लाङकै सिरानमा डढेलोले खाएका हजारौं रूखहरू छन्, डिभिजन वन कार्यालयसँग छलफल गरेर त्यसको काठ
चरणबद्घ रूपमा प्रयोग गर्न सकिन्छ । मेरो अनुरोध, आमाछोदिङ्मो गाउँपालिका, युवा क्लब र स्थानीय संस्थाले यस विषयमा केही
सोचुन् ।
तातोपानीको लामा पूजा
गत्लाङको बसाइ सक्काएर, मे ४ को दिन ओरालो झर्यौं । सान्जेन खोलाको किनारैकिनार हिँड्यौं । त्यसपछि सान्जेन रिभर कोरिडोरलाई बायाँ पारेर झोलुंगेपुल तरेर उकालो चढ्यौं । भोर्लाको बुट्यान र स–साना काँडाघारीले ढाकेको उकालोमा धमिलो गोरेटो बाटो अगाडि जान हतारिएझैं देखिन्थ्यो । त्यसलाई पछ्याउँदै हामी हिंडिरहेका थियौं । कोही ठट्टा गर्दै थिए— गोङगाङको उकालोको हिँडाइ गमनाम स्टाइलजस्तो भो । सबै हाँस्यौं ।
ठाडो उकालोमा हिँड्दा म
दुई तीन कदमभन्दा अगाडि हेर्दिनँ । यो रणनीतिले थकाइ कम हुने मेरो अनुभव छ । हामी सायद मनोवैज्ञानिक कारणले पहिला थाक्छौं। त्यसपछि मात्र शारीरिक हिसाबले । खोला किनारको झोलुंगेपुल सानो हुँदै गयो । अग्लाइबाट दृश्यहरू साना देखिन्छन् तर सट्टामा फैलावट थपिन्छ । फैलावटले नै टाढाटाढासम्म देख्न सम्भव हुन्छ । अब गोल्जुङ र गत्लाङको डाँडा देखिन थाल्यो । अघिसम्म छेलिएको हिमचुलीहरूले पनि चियाउन थाल्यो । सायद साँझको साढे पाँच–छ बजेको थियो । रिभर करिडोर साँगुरो भएकाले घाम बाहिरिएको थियो र त्यसको सट्टामा अँध्यारो पसेको थियो । बाटै छेउ, नागथली
गेस्टहाउस अगि पुगेर हामीले आ–आफ्नो झोला बिसायौं । स्थानीय मुना तामाङले होटलमा हाम्रो बसाइको बन्दोबस्त गरेकी थिइन् ।
गोङगाङको
त्यो बसाइ मेरो जीवनकै स्मरणीय
बसाइमध्येको एक भयो । गेस्टहाउसको खानपान र बसाइभन्दा पनि जुन लोकेसनमा त्यो बनाइएको थियो, त्यो अप्रितम थियो । यात्रामा खानपान त मेरो निम्ति दोस्रो महत्त्व हो । सफासुग्घरचाहिं हुनुपर्छ । स्वाद प्राथमिक होइन । कारण स्वाद रुचिपिच्छे फरक पर्छ । सान्जेन खोलाको पूर्वी मोहडामा जमिनबाट पिलर उठाएर गेस्टहाउस बनाइएको थियो । त्यसको किचन र डायनिङ हावामा तैरिएको थियो, फ्लोटिङ डाइनिङ हल । क्याम्पिङ साइटको छेउमा एकतले कोठाहरू निकालिएको थियो, पाहुनाका निम्ति । अग्लाइको कारण झ्यालबाट हेर्दा लाग्थ्यो, मानौं जहाजको झ्यालबाट सान्जेन खोला, तेताङ्चे, चिलिमे र अनन्तसम्म फैलिएको भू–दृश्य हेरिरहेको छु ।
बसाइमध्येको एक भयो । गेस्टहाउसको खानपान र बसाइभन्दा पनि जुन लोकेसनमा त्यो बनाइएको थियो, त्यो अप्रितम थियो । यात्रामा खानपान त मेरो निम्ति दोस्रो महत्त्व हो । सफासुग्घरचाहिं हुनुपर्छ । स्वाद प्राथमिक होइन । कारण स्वाद रुचिपिच्छे फरक पर्छ । सान्जेन खोलाको पूर्वी मोहडामा जमिनबाट पिलर उठाएर गेस्टहाउस बनाइएको थियो । त्यसको किचन र डायनिङ हावामा तैरिएको थियो, फ्लोटिङ डाइनिङ हल । क्याम्पिङ साइटको छेउमा एकतले कोठाहरू निकालिएको थियो, पाहुनाका निम्ति । अग्लाइको कारण झ्यालबाट हेर्दा लाग्थ्यो, मानौं जहाजको झ्यालबाट सान्जेन खोला, तेताङ्चे, चिलिमे र अनन्तसम्म फैलिएको भू–दृश्य हेरिरहेको छु ।
झ्यालमुन्तिरको मयलको
हाँगा झ्यालसम्म आइपुगेको थियो र पातहरू बतासले झ्यालमा ठोक्किएर खट्खट् ध्वनि
आउँथ्यो । बांगोटिंगो बगेको सान्जेन खोला उत्तिकै चित्ताकर्षक थियो । अँध्यारो गहिरिंदै गएपछि चिलिमे र तेताङ्चे मानवनिर्मित जूनकिरीहरूले ढाकिन थाले ।
अर्को बिहान । नागथली डाँडाबाट घाम नखस्दै चिया पिएर उकालो चढ्यौं । कहीं कच्ची मोटर बाटो, कहीं सटकट हुँदै बिहानको सिरसिरे बतासको आनन्द लिंदै तातोपानीको निम्ति हान्नियौं । कहिले गीतको तुक्का जोड्दै, कहिले कविताका हरफहरू सोच्दै, वाचन गर्दै बाटो छिचोल्यौं । डा. राजेश राई सटकटभन्दा पनि बाटैबाटो हिंड्छु भन्दै ओझेल परे । नेपालमा असंख्य तातोपानीका कुण्डहरू छन् । म्याग्दी र सिन्धुपाल्चोकको तातोपानी त प्रख्यात नै छन् । तर पदमार्गले मात्र जोडिएको यो तातोपानीको कुण्डबारे सीमित मानिसलाई मात्र थाहा छ । विगतमा एक रात तातोपानीमा बसेको थिएँ । साँझ कुण्डमा नुहाउन पुगेको थिए । महिला र पुरुष खण्ड छुट्याइएको कुण्ड खचाखच थियो । विदेशी पर्यटकहरू उत्तिकै। तातोपानीमा बसेर तन र मन आनन्दित भएको थियो । तर यस पटक खल्लो लाग्यो । सन् २०१५ को महाभूकम्पलगत्तै तातोपानी आउन छाडेछ । भूकम्पले पानीको मुहान सर्यो वा पानी आउने मार्गमा अवरोध पैदा भयो ।
अर्को बिहान । नागथली डाँडाबाट घाम नखस्दै चिया पिएर उकालो चढ्यौं । कहीं कच्ची मोटर बाटो, कहीं सटकट हुँदै बिहानको सिरसिरे बतासको आनन्द लिंदै तातोपानीको निम्ति हान्नियौं । कहिले गीतको तुक्का जोड्दै, कहिले कविताका हरफहरू सोच्दै, वाचन गर्दै बाटो छिचोल्यौं । डा. राजेश राई सटकटभन्दा पनि बाटैबाटो हिंड्छु भन्दै ओझेल परे । नेपालमा असंख्य तातोपानीका कुण्डहरू छन् । म्याग्दी र सिन्धुपाल्चोकको तातोपानी त प्रख्यात नै छन् । तर पदमार्गले मात्र जोडिएको यो तातोपानीको कुण्डबारे सीमित मानिसलाई मात्र थाहा छ । विगतमा एक रात तातोपानीमा बसेको थिएँ । साँझ कुण्डमा नुहाउन पुगेको थिए । महिला र पुरुष खण्ड छुट्याइएको कुण्ड खचाखच थियो । विदेशी पर्यटकहरू उत्तिकै। तातोपानीमा बसेर तन र मन आनन्दित भएको थियो । तर यस पटक खल्लो लाग्यो । सन् २०१५ को महाभूकम्पलगत्तै तातोपानी आउन छाडेछ । भूकम्पले पानीको मुहान सर्यो वा पानी आउने मार्गमा अवरोध पैदा भयो ।
तातोपानी सुकेपछि गाउँको आभा हराएको थियो । गाउँ झोक्राएर बसेको जस्तो देखिन्थ्यो । पर्यटकहरूको चहलपहल थिएन । पहिला तातोपानी गन्तव्य थियो, अहिले ट्रान्जिट मात्र भएको छ । पर्यटक घटेकाले स्थानीय निराश देखिन्थे । हामी पुगेको दिन कुण्डमा लामा पूजा गरिंदै रहेछ । ध्वजा पताका फहराइरहेका थिए। काठमाडौंबाट ठूलो लामा झिकाई पूजा भइरहेको थियो । पूजाको उद्देश्य कुण्डमा फेरि तातोपानी बोलाउनु थियो । गाउँका अधिकांश महिलाहरू सायद तामाङ भाषामै मन्त्र उच्चारण गरिरहेका थिए वा शेर्पा भाषामा । यस ट्रेलमा तामाङहरू शेर्पाजस्तै देखिन्छन् । नाम पनि शेर्पाका जस्तै राख्छन् र तिब्बतियन धर्मसंस्कृति, परम्परागत विश्वास पद्धतिप्रति आस्था राख्छन् । यद्यपि तामाङहरू मूलतः बोन धर्मावलम्बी हुन् । बोन, याने प्रकृतिपूजक ।
ठूला लामाको आसन अग्लो
भागमा बनाएको देखिन्थ्यो । फलफूल, प्रसाद, ध्वजापताका, धूप र दियो बत्तीहरू लामाको तस्बिरको नजिक
राखिएको थियो । धूपीको सुगन्धित धूवाँ वातावरणमा फैलिएको थियो । जतिसुकै मनयोग र कर्मकाण्डीय पद्वति मिलाई बोलाए पनि तातोपानी नितान्त भौतिक र भौगर्भिक कारणले आउने हो । तसर्थ त्यसले लामा पूजाको आह्वानलाई सुन्ने सम्भावनै भएन । तर गाउँवासीहरूको मनमा क्षणिकै भए पनि त्यसले शान्ति र आशा जगाउने कुरामा शंका थिएन । सँगै आशा फेरि निराशामा परिणत हुने निश्चितै थियो । तर हामी होमोस्यापियन्सहरू गुफाकालदेखि नै यस्तै यस्तै गर्दै यहाँसम्म आइपुगेका छौं । इतिहासको ठूलो कालखण्ड यस्तै आस्था र विश्वासहरूले भरिएको छ । विगतमा पनि लामापूजा गरेको तर केही फाइदा नभएको स्थानीय होटलवालासँग कुराकानी गर्दा थाहा भयो । प्रसाद ग्रहण गर्यौं र हामी चिलिमेको निम्ति फर्कियौं । सय, दुई सय मिटर तलसम्म पनि पूजास्थलबाट बाजाका
ध्वनि र मन्त्र आइरहेको थियो । मानौं सान्जेन रिभर करिडोरको पहरामा ठोक्किँदै त्यो मन्त्र हेरिटेज ट्रेलभरि
छरिंदै छ । गोल्जुङभरि, गत्लाङभरि, चिलिमेभरि, गोङगाङ र तातोपानीभरि । आखिर त्यो सांस्कृतिक ट्रेल थियो।
प्रकाशित : जेष्ठ
१८, २०७६ ११:२५