Thursday, June 13, 2019

नाछिरिङ भाषाको पाठ्यक्रम तयार

नाछिरिङ भाषाको पाठ्यक्रम तयार
शुक्रबार, ०८ चैत २०७५, ०८ : ११ |  नागरिक
खोटाङ – नाछिरिङ राई भाषा पठनपाठनका लागि पाठ्याक्रम तयार भएको छ। पूर्वी नेपालका विभिन्न जिल्लामा बसोबास गरिरहेका नाछिरिङ राई भाषाको पठनपाठनका लागि पहिलोपल्ट पाठ्यक्रम तयार पारिएको हो। रामकुमार राईको संयोजकत्वको पाठ्यक्रम निर्माण समितिले गत मंसिरदेखि नाछिरिङ भाषाको पाठ्यक्रम निर्माणको काम सुरु गरेको थियो। स्थानीय तहको कार्यान्वयनपछि विभिन्न भाषाभाषीमा पठनपाठन गर्ने बाटो खुलेसँगै नाछिरिङ राईको बाहुल्यता भएको ठाउँका विद्यालयमा नाछिरिङ भाषामै कक्षा १ देखि ३ सम्मको पठनपाठनका लागि पाठ्यक्रम तयार पारिएको हो।
लोपोन्मुख बनेको नाछिरिङ भाषा, संस्कृति, इतिहासलगायतको संरक्षण एव् सम्वद्र्धनको लक्ष्यका साथ किरात रदु नाछिरिङ साखाम केन्द्रको पहलमा पाठ्यक्रम तयार पारिएको हो। उद्देश्य, पाठ्यभार, शैक्षिक क्रियाकलाप, शैक्षिक सामग्रीलगायतका विषय समेटिएको पाठ्यक्रम तयार पारेर किरात रदु नाछिरिङ साखाम केन्द्रलाई बुझाइएको पाठ्यक्रम निर्माण समितिका संयोजक राईले बताए। ‘हामीले नाछिरिङ पुर्खा, विज्ञ, भाषाविद्लगायतसँग विचिन्न चरणको छलफल तथा कार्यशाला पछि पाठ्यक्रम तयार पारेका हौं,’ संयोजक राईले भने, ‘नाछिरिङ भाषाको सुनाइ, बोलाइ, पढाइ, लेखाइजस्ता भाषिक विकासका साथै सामाजिक तथा सांस्कृतिक संरक्षण तथा सम्वद्र्धनको लक्ष्यका साथ पाठ्यक्रम निर्माण गरिएको हो।’
पाठ्यक्रमलाई मंगलबार साखामले स्वीकृत दिएको पाठ्यक्रम निर्माण समितिले जनाएको छ। प्रावि तहमा नाछिरिङ भाषाको कक्षा सञ्चालनका लागि नाछिरिङ राईको सघन बस्ती भएको विद्यालयमा पठनपाठनका लागि सम्बन्धित स्थानीय तहसँग समन्वयका काम सुरु गरिएको किरात रदु नाछिरिङ साखाम केन्द्रका अध्यक्ष सकलबहादुर नाछिरिङले बताए। गत मंसिर १४ गते ३५ भन्दा बढि नाछिरिङ पुर्खाहरुको उपस्थितिमा धरानमा सम्पन्न पहिलो कार्यशाला गोष्ठीले ‘हामी सबै एउटै नाछिरिङ हौं, हाम्रो भाषा एउटै नाछिरिङ हो’ भन्ने निष्कर्षसहित भाषाको पाठ्यक्रम निर्माण गर्ने बाटो खुलाएको थियो।
तयार भएको पाठ्याक्रमलाई नाछिरिङ भाषामा अनुवाद गर्ने काम बाँकी रहेको साखामकी उपाध्यक्ष कमलकुमारी राईले बताईन्। २०६८ सालको जनगणना अनुसार नाछिरिङ भाषा बोल्न जान्ने जनसंख्या १० हजार ४१ जना रहेको छ। सोलुखुम्बुको सोताङ, महाकुलुङ गाउँपालिका र खोटाङको ऐसेलुखर्क गाउँपालिकामा नाछिरिङ राईको सघन बस्ती रहेको छ। यसबाहेक सँखुवासभा, ताप्लेजुङ, पाँचथर, भोजपुर, धनकुटा, मोरङ, सुनसरी, तेहथुम, इलाम, झापा, उदयपुर, काठमाडौं, ललितपुर, भक्तपुर र प्रवासमा दार्जिलिङ, सिक्किम, भुटान, हङकङ, सिंङ्गापुर, युके, अमेरिका, क्यानडालगायतका देशमा समेत नाछिरिङ राईको बसोवास छ।

Societies of Nepal

 Societies of Nepal  Nepali society is incredibly diverse, shaped by over 142 distinct ethnic groups and multiple religious beliefs that oft...