Thursday, June 13, 2019

अझै जोतिन्छन् मान्छे

अझै जोतिन्छन् मान्छे
कान्तिपुर, फाल्गुन २१, २०७५हरिराम उप्रेती
गोरखा — जोत्ने खेत उही हो । हलो, अनौ, फाली, हरिस, सबै उही । हली पनि उस्तै हुन् । फरक के भने गोरुको सट्टा मान्छे नै नारिन्छन् । आधुनिक प्रविधिको विस्तारसँगै गाउँ गाउँका खेतबारी खनजोत गर्न ट्र्याक्टर पुगे पनि उत्तरी गोरखामा भने बारीमा मान्छे जोत्नुपर्ने बाध्यता अझै छ । यहाँ मकैको बीउ छर्ने बेला गोरुले नभई मान्छेले हलो तान्छन् ।
धार्चे गाउँपालिका–४, लाप्राकका किसान मकै छर्न व्यस्त छन् । हलो तान्ने र अनौ समाउन व्यस्त बलिया युवा लाप्राकको पाखाबारीमा देखिन्छन् । लाप्राककै पाखोबारीमा गत शनिबार पसिना काढदै थाप्लोमा नाम्लो अड्याएर हलो तान्दै थिए जितान गुरुङ ।
अनौ समातेर घचेट्दै थिए कान्छा गुरुङ । हलोको पछिपछि मकैको बीउ छर्दै थिइन् माया । लाप्राकलगायत यहाँको उत्तरी क्षेत्रमा यसरी मान्छेले हलो तान्ने दृश्य देख्नु नौलो होइन ।
वर्षभरि खाने अन्न उब्जाउन यहाँका स्थानीयलाई थाप्लामा नाम्लो अड्याएर हलो तान्नु बाध्यता हो । मकै रोप्ने सिजन सुरु भएसँगै स्कुले विद्यार्थी पनि साँझ–बिहान हलो तानेर बाबुआमालाई सघाउँछन् । बारीमा ढुंगा भएका ठाउँमा हलो तान्दा भने असजिलो हुने गरेको किसानहरू बताउँछन् ।
‘बाँझो सुर्का भने गोरुले जोत्छ, मान्छेले सक्दैन, मकै छर्ने बेला मात्र मान्छेले तान्ने हो,’ स्थानीय कुलबहादुर गुरुङले भने, ‘गोरुको हल नारेर जोत्नुभन्दा मान्छेले हलो तान्दा समय कम लाग्छ ।’ यहाँका बासिन्दाले मकै बिहेअघि गोरुबाट बाँझो जोती मकै छर्न बारी तयार बनाएर गोठ खर्कमा सारेका छन् । खर्क पुग्न गाउँबाट एक दिनको पैदल यात्रा गर्नुपर्छ । ‘यतिखेर यहाँ वस्तुलाई खुवाउने घाँस पनि कम हुन्छ, गोठालोले गोरु जंगलको चरन क्षेत्रमा लगिसके,’ उनले भने, ‘गोरु फेरि गाउँ ल्याउनुभन्दा मान्छेले जोत्नै सजिलो ।’
गोरुले जोत्दा डल्ला बढी आउने उनले बताए । उनका अनुसार मान्छेले जोत्दा डल्ला त्यति निस्कँदैन र कुटोकोदालो लगाउनु पनि पर्दैन ।लाप्राकको खेतीयोग्य भूमिका गह्रा साँघुरा छन् । ‘साना सुर्कामा गोरु एक सियो जोत्दा फर्काउनुपर्छ, गोरु नअट्ने गरा पनि छन्, सुर्कैपिच्छे गोरु नार्न झन्झट हुन्छ, छेउकुना पनि भेटिँदैन,’ स्थानीय लालबहादुर गुरुङ भन्छन्, ‘यस्तो जग्गामा मान्छेले जोत्दा सजिलो हुने भयो ।’
सामान्यतः परिवारले मिलीजुली हलो तान्ने, अनौ समात्ने, मकै छर्ने गरेको उनले बताए । ‘घरमा मान्छे नभए अर्मपर्म पनि चल्छ, हलो तान्नेले एक दिनमा ७/८ सय रुपैयाँसम्म ज्याला पाउँछ,’ उनले भने । पछिल्लो समय गोरु पाल्ने किसानको संख्या घटदै जान थालेको पनि स्थानीयको भनाइ छ । ‘एक हल गोरुको १५ सय पर्छ,’ उनले भने, ‘बाँझो जोत्न घरमा गोरु भए त्यही प्रयोग गर्ने नत्र ज्याला दिएर लगाउने हो ।’ जोत्न नसक्ने ठाउँमा कोदालोले खनेर पनि मकै रोप्ने गरिन्छ ।
हलो तान्न पनि जान्नैपर्ने उनको भनाइ छ । ‘लय मिलाउनुपर्छ, जोत्ने मान्छे अनुभवी हुनुपर्‍यो, तान्ने र घचेट्ने दुवैले सावधानी अपनाउनुपर्छ,’ स्थानीय लालबहादुरले भने, ‘हलोलाई हल्का प्रेस गरी धकेले तान्नेलाई सजिलो हुने भयो ।’ धान नफल्ने पाखोबारीमा यतिका दुःख गरी बाली लगाए पनि सोचेजस्तो उब्जनी नहुने स्थानीय भीमबहादुर गुरुङ बताउँछन् ।
‘यहाँ मकैलाई मुख्य खाद्य बालीका रूपमा लिइन्छ, मकै नलाए वर्षभर खान पनि पुग्दैन तर दुःख गरेअनुसार उब्जनी त छैन,’ उनले भने । बारपाक, गुम्दा लापुलगायत क्षेत्रमा पनि मकै छर्ने बेला मान्छेले हलो तान्ने चलन छ ।
प्रकाशित : kantipur, फाल्गुन २१, २०७५ ०७:२१

Societies of Nepal

 Societies of Nepal  Nepali society is incredibly diverse, shaped by over 142 distinct ethnic groups and multiple religious beliefs that oft...