Wednesday, June 12, 2019

खस भाषालाई पुनर्जीवन

खस भाषालाई पुनर्जीवन
लेखन निर्देशिका, शब्दकोश निर्माण
२५ विद्यालयमा पाठ्यक्रम
फाल्गुन २८, २०७५एलपी देवकोटा
जुम्ला — हान भैँसी किलावानभित्त जुम्ल खाई खलंगा तल, हर्प लाछु ज्युला छुमर्के मार्सीधान...कुनै बेलाको चर्चित यो गीत अचेल त्यति बज्दैन । कार्तिवास्वार्मी– ७ का कृष्णप्रसाद देवकोटाले यो गीतमा जुम्ली सभ्यता, खस भाषाको महत्त्व र अर्थलाई पस्केका छन् । भाषा लोप हुने अवस्थामा पुगेकाले चिन्तित अगुवा यो भाषालार्ई पुनर्जीवन दिन जुर्मुराएका छन् ।
र, तयार भएको छ– खस भाषा संरक्षणका लागि लेखन निर्देशिका । शब्दकोश निर्माण पनि अन्तिम चरणमा छ । तातोपानी गाउँपालिकाले खस भाषामै आधारित पाठ्यक्रम बनाएको छ । यसै वर्षदेखि स्थानीय २५ वटा विद्यालयमा पढाउने निर्णय गरिएको छ । अगुवाहरूका अनुसार खस देउडा अहिले आधुनिक खसका रूपमा स्तरोन्नति भएको छ ।
पहिचान नै संकटमा पर्ने भएकाले भाषा जोगाउन आफूहरू क्रियाशील भएको भाषाविद् रमानन्द आचार्यले बताए । उनका अनुसार तीन दशकअघिसम्म साविक कर्णालीका पाँच र आसपासका जिल्लामा खस भाषाको वर्चस्व थियो । तत्कालीन बाइसे, चौबिसे राज्यमा खस भाषाकै प्रभाव रहेको उनको भनाइ छ । ‘१८४६ पछि कर्णालीको पहुँच केन्द्रीय सरकारबाट कमजोर हुँदा खस भाषा ओझेलमा पर्दै गएको हो,’ उनले भने ।
‘गोर्खालीले राज्य लिया, भाषा पनि लिया, खस भाषा बिगाडीकन जुम्लै पठाइदिया,’ कनकासुन्दरी–५, हाडसिँजाका ८१ वर्षीय धनलाल हमाल भन्छन्, ‘सिँजा राज्य एकीकरण भएसँगै खस भाषा पनि हराएको हो ।’ अहिले बेवारिसे अवस्थाका ढुंगे खम्बा, दबल, मुग्राहा, प्राचीन बस्तीका भग्नावशेषमा मात्र खस भाषा भेटिन्छ । जानकारहरूका अनुसार खस भाषाको उत्पत्ति सिँजाको हाटसिँजाबाट भएको हो । सिँजा राज्यसँगै खस भाषा पनि विलय भएपछि राष्ट्रिय भाषा नेपाली भएको भाषाविद् आचार्यले बताए ।
‘जुम्लाको वाडतुड गर्न राजाले सुन्योन, यै भाषाको विकास गर्न राज्यले गुन्योन,’ कनकासुन्दरी पाण्डवगुफाकी उर्मिला खत्रीले खस भाषामै भनिन्, ‘हिन्दी गीत, पूर्वेली गीत रेडियो बजाउन्छन्, पढेलेख्या भन्नयाहरू खस बोल्न लजाउँछन् ।’ उनले नेपाली भाषाकै उत्पत्ति आधार खस भाषाको संरक्षणमा सरकारी निकायले बेवास्ता गरिरहेको गुनासो गरिन् ।
स्थानीय जानकार तुला चौलागाईंले युवापुस्तामा खस भाषा हस्तान्तरण हुन नसकेको बताए । ‘खस भाषा हेला, पूर्व ठूलो मान्या,’ उनले भने, ‘खसियाका छोराछोरी खस भाषा नजान्या ।’
पहिचान जोगिने विश्वास
खस भाषाको वर्णविन्यास लेखन निर्देशिकालाई जिल्लाका भाषाविद्ले पुनरावलोकन गरी अन्तिम रूप दिइएको हो । खस भाषालाई चलनचल्तीमा ल्याउन खस भाषा, कला, संस्कृति र इतिहाससम्बन्धी जानकारको भेलाले ‘खस जुम्ली भाषा लेखनशैली’ मस्यौदा निर्माणको प्रस्ताव गरेको थियो । निर्देशिका प्रकाशनका लागि मातृभाषा केन्द्र नेपालले सहजीकरण गरेको थियो । ‘तत्कालीन कर्णाली खस राज्यभित्र बोलिने खस भाषा र जनबोलीलाई आधार बनाएर तयार पारिएको निर्देशिकाबाट सबैले सहजै खस भाषालाई प्रयोगमा ल्याउन सक्छन्,’ भाषाविद् तथा जुम्ली खस शब्दकोशका सम्पादक आचार्यले भने ।
निर्देशिकामा कर्णाली क्षेत्र र तिनको सेरोफेरोका जिल्लाको बोलचालसम्बन्धी खस भाषा समेटिएको छ । पूर्वशिक्षक, कला संस्कृति एवं खस साहित्यकार, भाषाका जानकार र पत्रकारको संलग्नतामा तयार गरिएको निर्देशिकामा यो क्षेत्रको कथ्य शब्द ‘स्ह’ को लेख्य रूप दिन नयाँ वर्णमा प्राथमिकीकरण गरिएको छ । पूर्वशिक्षक मुनिश्चन्द्र न्यौपानेले खस भाषा पूरै राष्ट्रियकरण नभए पनि नेपाली भाषाका धेरै वर्ण खस भाषाबाटै विकसित भएको बताए । ‘खस भाषामा आधारित निर्देशिकाले यहाँको पहिचान जोगाउनेछ,’ उनले भने ।
शब्दकोश लेखनमा दशक
चन्दननाथ–२ का ७२ वर्षीय आचार्य जुम्ली शब्दकोश लेखनमा व्यस्त छन् । चन्दननाथ उच्च माविका पूर्वनेपाली विषयका शिक्षकसमेत रहेका आचार्यले जुम्ली शब्दकोश लेखन अभियान थालेको झन्डै एक दशक पुगेको छ । उनले शब्दकोश प्रकाशनको अन्तिम तयारीमा पुगेको जनाए । साविक जिविसले आचार्यलाई खसिया आखर जुम्ली खस भाषाको शब्दकोश लेखन एवं सम्पादनको जिम्मेवारी दिएपछि उनी त्यसमा लागेका हुन् ।
अहिले समन्वय समितिमा रहेको खसिया आखर जुम्ली शब्दकोश तयारी कार्यालयमा उनी दैनिक उपस्थित हुन्छन् र त्यही व्यस्त रहन्छन् । नेपाली भाषाको उत्पत्ति भएको खष भाषा बोलिने क्षेत्रहरूमा कथ्य भाषाका रूपमा मात्रै रहेकाले यसलाई संरक्षण र लिपिबद्ध गर्न शब्दकोश निर्माण थालिएको हो । प्रारम्भिक चरणमा जुम्लाको चौधबिस, सिँजा, असी, पाँच सय क्षेत्र, मुगु, हुम्लाको सोरु गल्पा, कालिकोटका रासकाट र डोल्पाको तलिभोटानमा गएर शब्द संकलन गरिएको थियो । शब्दकोशमा १६ हजार बढी शब्द संकलन र सम्पादन गरिसकिएको छ ।
शब्दकोशलाई चार उपभाषिकामा विभाजन गरिएको छ । असी दराली भाषिकाभित्र असी दरा, पाँच सय दरा, सिँजा दराका भाषा राखिएको छ । त्रिविकोटी भाषिकाभित्र चौधबिस दरा र डोल्पाका भाषा छन् । रासकोटी भाषिकाभित्र कालिकोटमा बोलिन भाषा राखिएको छ भने मुहु भाषिकाभित्र मुगु र हुम्ला जिल्लाभित्र बोलिने भाषालाई समावेश गरिएको छ । आर्थिक समस्याका कारण प्रकाशनका लागि प्रेसमा पठाउन नसकिएको उनले जानकारी दिए ।
२५ विद्यालयमा खस पाठ्यक्रम
ततोपानी गाउँपालिकाले खस भाषामा आधारित स्थानीय पाठ्यक्रम तयार पारेर पहिलो चरणमा प्राथमिक तहमा लागू गर्दै छ । गाउँपालिका अध्यक्ष नवराज न्यौपानेले पाठ्यक्रममा जिल्लाका आर्थिक, सामाजिक, सांस्कृतिक, पर्यटन, वन, कृषि धार्मिक सम्पदाको चित्रण गरिएको जानकारी दिए । ‘पुर्खाहरूको गौरवगाथा पनि सहज ढंगले खस भाषामै लिपिबद्ध गरिएको छ,’ उनले भने, ‘यसै शैक्षिक सत्रदेखि पढाइ गर्ने तयारी गरिरहेका छौं । पाठ्यक्रमको ८० प्रतिशत काम सकिएको छ ।’
गाउँपालिकाभित्रका २५ विद्यालयमा यो पाठ्यक्रम लागू हुनेछ । खस भाषा संरक्षणका लागि पढाइले सहयोग पुग्ने पाठ्यक्रम निर्माण समितिका संयोजक एवं वसन्त आधारभूत विद्यालयका प्रधानाध्यापक हरिबाबु चौलागाईंले बताए । पाठ्यक्रम निर्माणमा चौलागाईंको संयोजकत्वमा पाँच सदस्यीय समिति संलग्न छ ।
चैत महिनाबाट विद्यालयमा खस भाषामा एउटा विषय पढाइने समितिले जनाएको छ । गाउँपालिकाले अतिरिक्त विषयका रूपमा नयाँ पाठ्यक्रम तयार पारेको हो । कक्षा १ देखि ३ सम्म एउटा विषय हुनेछ भने कक्षा ४ र ५ का लागि एउटै खालको पाठ्यक्रम निमाण भइरहेको छ । प्रकाशित : kantipur, फाल्गुन २८, २०७५ ०७:२६

Societies of Nepal

 Societies of Nepal  Nepali society is incredibly diverse, shaped by over 142 distinct ethnic groups and multiple religious beliefs that oft...