Monday, June 10, 2019

मृग वर्गलाई स्वागत

मृग वर्गलाई स्वागत
पुस १६, २०७५
कान्तिपुर संवाददाता
काठमाडौँ — गुरुङ समुदायले पुरानो वर्ष कुकुर वर्ग ‘खि’ ल्होलाई बिदाइ गरी नयाँ वर्ष ‘फो’ ल्हो मृग वर्गको स्वागत गरेको छ । ‘ल्हो’ को अर्थ वर्ष र ‘सार’ को अर्थ नयाँ भएकाले वर्षफेरिने दिनलाई तमु ल्होसार भनिएको गुरुङ समुदायको विश्वास छ ।
आफ्नो मौलिक पर्व मनाउन राजधानीमा रहेका गुरुङहरू आइतबार टुँडिखेलमा भेला भए । मौलिक परिकार चाखे, गीत गाए, रमाए । तमु हयुल छोंज धिं गुरुङ राष्ट्रिय परिषद् ल्होछार मूल आयोजक समितिले गरेको सामूहिक ल्हासार महोत्सवमा पाकादेखि युवायुवतीसम्म सांस्कृतिक मौलिकता झल्कने पहिरन तथा भेषभूषामा थिए । उनीहरूले विभिन्न सांस्कृतिक झाँकी समेत प्रदर्शन गरे ।
महोत्सवमा पुरुषहरू अल्लोबाट बनेको भांग्रा र कछाडसहित आएका थिए भने महिला चाहिँ गुन्युचोली र घलेक लगाएर । तमु संवत्अनुसार प्रत्येक पुस १५ मा ल्होसार मनाउने परम्परा रहिआएको परिषद्का अध्यक्ष रेशम गुरुङले जनाए ।
उनका अनुसार तमु ल्होसारले गुरुङ समुदायको भित्तेपात्रोमा नयाँ संवत् सुरु भएको संकेत गर्छ । प्राचीन तमु प्यो शास्त्रका अनुसार तमु ल्होसारका दिन तमुहरूका प्रथम महापुरुषको उत्पत्ति भएको मानिन्छ । जसअनुसार विभिन्न १२ जनावरका नामबाट १२ वर्ग निर्धारण गरिएको हुन्छ ।
महोत्सवमा भेटिएका ६० वर्षीय लामा इन्द्र तमुका अनुसार ल्होसारमा वर्षभरिका दु:ख पीडा भुलेर आफन्त, साथीभाइ एक ठाउँ भेला भई मिठोमसिनो खाँदै रमाइलो गर्छन् । सेल–रोटी, तीनपाने रक्सी, ढिँडो जस्ता खाना मौलिक खानेकुरा अन्तर्गत पर्छन् ।
सुखशान्तिको कामनागर्दै लामाहरूले पूजापाठ गरेर पुरानो वर्षलाई बिदाइगरेपछि नयाँ वर्षलाई स्वागत गर्ने परम्परा छ । यसपछि लामाहरूले विशेष मन्त्र जप गरिएको धागो बाँधिदिन्छन् । महिलालाई सात फेरो र पुरुषलाई नौ फेरो पहेंलो धागो घाँटीमा बाँध्ने गरिन्छ ।
‘वर्षभर सुखशान्ति होस्, फलोस्–फुलोस्, सातो नजाओस् भनेर धागो लगाउने परम्परा बसेको हो,’ लामा इन्द्रतमुले भने ।परापूर्वकालदेखि मनाइँदै आएको पर्व नयाँ पुस्तामा हस्तान्तरण गर्ने उद्देश्यले पनि महोत्सव गरिएको परिषद् अध्यक्ष रेशम गुरुङले बताए । ‘आफ्नोपन जोगाउन खानपान, भेषभूषा तथा चाडपर्व भावी पुस्तालाई सिकाउँदै आएका छौं,’ उनले भने ।
महोत्सव अन्तर्गतको विशेष समारोह प्रधानमन्त्री केपी ओलीले उद्घाटन गरेका थिए । प्रधानमन्त्रीले मुलुकको सांस्कृतिक विविधता गहनाको रूपमा रहेको उल्लेख गर्दै यसलाई जर्गेना गर्न सबै लाग्नुपर्ने बताए । प्रकाशित : पुस १६, २०७५ ०९:४६

Societies of Nepal

 Societies of Nepal  Nepali society is incredibly diverse, shaped by over 142 distinct ethnic groups and multiple religious beliefs that oft...